Shittalpati
रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औं अधिवेशन सुरु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका गाउँसभाको १५ औँ अधिवेशन सुरु भएको छ । स्थानीय तहले बर्षे अधिवेशन र हिउँदे अधिवेशन गरी बार्षिक रुपमा दुई पटक अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाले १५ औं अधिवेशन आइतबारदेखि सुरु गरेको हो ।

अधिवेशनबाट पालिकालाई आवश्यक पर्ने कानूनहरू पारित गर्ने विभिन्न समितिहरूको वार्षिक प्रतिवेदनहरू पेश गरी आवश्यक छलफल गर्ने कार्यसूची रहेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए । अधिवेशनमा उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक युवराज थापाले न्यायिक समितिको प्रतिवेदन र राजश्व परामर्श समितिको प्रतिवेदन सभामा पेस गरेका छन् । यसैगरी सार्वजनिक लेखा समितिका संयोजक वीरबहादुर पोखरेलले लेखा समितिको प्रतिवेदन, सुशासन तथा संस्थागत क्षमता विकास समितिका संयोजक सोम बहादुर दर्लामीले सुशासन तथा संस्थागत क्षमता विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिका संयोजक प्रदिप पौडेलले आर्थिक विकास समितिको प्रतिवेदन सभामा पेस गरेका छन् ।

यसैगरी सामाजिक विकास समितिका संयोजक हुमान सिंह कार्कीले सामाजिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण हिताङले पूर्वाधार विकास समितिको प्रतिवेदन र  वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक  महेश बरालले वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन पेश गरेका छन् । गाउँपालिकाको हिउँदे अधिवेशनमा छलफलका लागि विभिन्न विधेयकहरु दर्ता भएका छन् । हिउँदे अधिवेशनमा दलित सशक्तीकरण तथा विकास गर्ने सम्बन्धमा बनेको विधेयक, निजी वन विकास तथा व्यवस्थापन कार्यविधि, कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, विद्यालय नर्स कार्यक्रम सञ्चालन निर्देशिका र सार्वजनिक जग्गामा वन विकास तथा व्यवस्थापन कार्यविधि पेस भएको प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सचिव कृष्ण प्रसाद तिमिल्सिनाले बताए ।  अधिवेशनको शुभारम्भ गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गरेका थिए । अधिवेशनमा  युवराज थापा, प्रवक्ता  देवेन्द्र पुन, प्रमुख प्रशासकीय अधिकृत  कृष्ण प्रसाद तिमिल्सिना, वडा अध्यक्ष सदस्यहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update