पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका पाल्पाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले हालसम्म १८.८६ वित्तिय प्रगती हासिल गरेको जनाएको छ । चालु आर्थिक बर्षमा ५१ करोड ३२ लाख विनियोजन भएकोमा हाल सम्म ९ करोड ६८ लाख खर्च भएको छ । जसमा चालु तर्फ ८ करोड ३९ लाख खर्च भई २२.७९ प्रतिशत प्रगती भएको र पुँजीगत तर्फ १ करोड २८ लाख खर्च भई ८.७८ प्रतिशत प्रगती भएको गाउँपालिकाले जनाएको छ ।
हालसम्म उपभोक्ता समितिबाट सञ्चालन हुने योजना २ सय २१ वटा योजना मध्ये ६० वटा सम्झौता भएको १ वटा मात्र सम्पन्न भएको , १६० वटा योजना सम्झौता हुन बाँकी रहेका छन् । ६ वटै वडामा घुम्ति शिविर सञ्चालन गरिएको सार्वजनिक सुनुवाईमा जानकारी गराईएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले शिक्षा युवा तथा खेलकुद शाखा, स्वास्थ्य शाखा, कृषि विकास शाखा, पशु सेवा, आर्थिक प्रशासन शाखा, योजना शाखा, भौतिक पुर्वाधार शाखा, विपद व्यबस्थापन, सहकारी, समृद्धिको लागि वन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, न्यायीक समिती, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका विषयमा भएका कार्य प्रगती जानकारी गराएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेत जनताले उठाएक गुनासाहरुको पनि जवाफ दिएका थिए । कार्यक्रममा तिनाउ गाउँपालिकाका वडा नंं २ का निवर्तमान वडा अध्यक्ष राजेश श्रेष्ठले सार्वजनिक सुनुवाई व्यापक जनताको सहभागितामा गर्नुपर्नेमा जोड दिए । प्रमुख प्रशासकीय अधिकृतले काम गर्दा सबै पक्षसँंग समन्वय गरेर काम गर्न श्रेष्ठले सुझाव दिए । वडा नंं ४ का लाल बहादुर दर्लामीले पालिकाले हरेक किसिमको सिफारिसमा दस्तुत लिने गरेकोले काम गर्न समस्या परेको बताए । वडा नंं २ का विष्णु सापकोटा वडा नंं ३ का कमल श्रेष्ठले तिनाउ गाउँपालिकाले जनता संग कर बढी उठाएकोले घटाउनु पर्नेमा जोड दिए । स्थानीय खगेन्द्र केसीले सार्वजनिक सुनुवाई व्यस्थित वैज्ञानिक बनाउनु पर्ने, उपभोक्ता समितीमैत्री पालिका बनाउनु पर्ने, ठेक्काका कामहरु गुणस्तरीय हुनुपर्ने, उपभोक्ताले जिल्ला दररेट अनुसार काम गर्न नसक्ने, सिद्धवावा सुरुङ्गमार्गमा निस्केको ढुङ्गाको कर पालिकाले लिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत अधिकाश समय कार्यालयमै बसेर जनताको सेवा गर्नुपर्ने बताएका छन् । सार्वसुनुवाईमा नेकपा एमालेका विकास अर्याल, नेकपा एकिकृतका अरविन्द पाण्डेले खानी संग समन्वय गरेर खाल्टा खुल्टी परेका सडकहरु लाई स्तरउन्नती गर्नुपर्ने, बजार अनुगमन लाई नियमित गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सार्वजनिक चासोका विषयबस्तुहरुमा जनताले आवाज उठाउने, आलोचनात्मक सुझाव दिने, भएका कमिकमजोरहरु औल्याई दिएर जनप्रतिनिधी, कर्मचारी र जनताहरु मिलेर नै तिनाउको विकास गर्न सकिने बताए । अहिले जिल्ला दररेटको कारण उपभोक्ता समितिलाई काम गर्न निकै कठिनाई भएकोले सबैको पहलमा जिल्ला दररेट सच्चाउनु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए । कार्यक्रममा उपाध्यक्ष लाल बहादुर थापा, शिक्षा अधिकृत लक्ष्मी कुवँर, ईन्जिनियर किशन कुवँर, वडा नंं २ का वडा अध्यक्ष यादव अर्यालले उठेका गुनासाहरुको जवाफ दिएका थिए । गाउँपालिकाकाको आयोजनामा भएको सार्वजनिक सुनुवाईको सहजीकरण पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले गरेका थिए ।


                                        
                                        
                                        
                                        
                    
                    
                    