Shittalpati
मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव शुरु

जलेश्वर(महोत्तरी), विवाह पञ्चमीको शुभ अवसरमा गएराति भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएसँगै आजदेखि मिथिलाञ्चलका सर्वसाधारणको घरमा विवाह उत्सव शुरु भएको छ ।

त्रेता युगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि भगवान रामचन्द्र र माता सीताको विवाह भएपछि आजैका दिनदेखि सर्व साधारणले पनि आ–आफ्ना छोराछोरीको विवाह शुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाहको शुभारम्भ गरेका छन् । 

मिथिलामा सबैभन्दा पहिले भगवान रामचन्द्र र माता सीताको विवाह हुने तथा त्यसपछि सर्वसाधारणहरुले पनि आ–आफ्ना छोराछोरीको विवाह गर्ने त्रेता युगदेखि चल्दै आएको लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए । महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्दै गएराति जनकपुरधाममा भगवान रामचन्द्र र माता सीताको विवाह सम्पन्न भएपछि अब सर्वसाधारणले आजदेखि विवाह गर्ने भएका छन् । विवाह पञ्चमी उत्सवअन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फुलबारी लिला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि, पुस १ गते स्वयंवर तथा विवाह पञ्चमी (शुभ विवाह) र आज राम कलेवा हुने छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update