पाल्पा, जिल्लाको पूर्वखोला गाउँपालिकाको चालु आर्थिक बर्षको प्रथम चौमासिक भित्र भएका कार्यक्रम, गतिविधि तथा आम्दानी खर्च सार्वजनिक गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले श्रावणदेखी कार्तिकसम्म भएका कार्य प्रगती विवरण सार्वजनिक गरी जनतासँग राय सुझाव तथा गुनासाहरु संकलन गरी सम्वोधन गर्ने प्रतिवद्धता जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले निमार्णाधिन प्रशासकीय भवनको ७५ प्रतिशत भौतिक प्रगति भएको, विरकोटमा निमार्णाधिन १५ शैयाको अस्पतालको काम ५५ प्र्रतिशत सकिएको, जल्पा स्वास्थ्य चौकीको ५५ प्रतिशत र सेर्कावास हेक्लाङ्ग मोटरबाटोको स्तरउन्नतीको काम सकिएको जानकारी गराएका छन् । उनले ४ महिनाको अवधिमा पालिका भित्रका स्वास्थ्यचौकीबाट ६ हजार ९ सय ६ जना नयाँ विरामी र १ हजार ७ सय ५३ जना पुराना विरामीले सेवा लिएको पनि बताए । पालिका भित्रका सबै बालबालिकाले नेपाल सरकारले तोकेका खोपहरु लगाएको, विद्यालयमा स्वास्थ्य शिक्षा सञ्चालन गरिएको, स्वास्थ्य चौकीमा महिनाको एक दिन मधुमेह चेकजाँचको शुरुवात गरिएको, ६९ जना सुत्केरीहरुलाई उपाध्यक्ष कार्यक्रममार्फत पोषक तत्वको रुपमा घ्यूउ वितरण गरिएको समेत प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । पालिका भित्र चालु आर्थिक बर्षमा ३३७ वटा योजना मध्ये ९ वटा सम्पन्न भएको, ४४ वटा सम्झौता भएको र २९३ वटा सम्झौताको चरणमा रहेका छन् ।
कार्यक्रममा प्रतिनिपधसभा सदस्य नारायण प्रसाद आचार्यले जनप्रतिनिधी, कर्मचारी सबैले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए ।  जनताले गरेका गुनासा र सुझावलाई सम्बोधन गरी पालिकाले काम गर्न संघीय सांसद आचार्यले जोड दिए । प्रदेश सांसद खेम बहादुर सारुले भौतिक, आर्थिक र सामाजिक विकासलाइ सँंग सँगै लैजानु पर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीमा आधारित कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकता दिएर काम गर्नुपर्ने बताए । प्रदेश सांसद राजु प्रसाद श्रेष्ठले स्थानीय उत्पादनमा आधारित कुटिर उद्योग सञ्चालन सँगै, बजारीकरणलाई पालिकाले ध्यान दिनुपर्ने बताए । प्रदेश सरकारबाट रामपुर कपुरकोट सडक निर्माणको लागि पहल गरिरहेको  समेत उनले बताए । 
कार्यक्रममा नेकपा एमाले पूर्वखोला गाउँ कमिटी अध्यक्ष जीवन आचार्यले बसाईसराईलाई रोक्ने गरी आय आर्जनका कार्यक्रम ल्याउनु पर्ने, शिक्षाको गुणस्तरमा सुधार्न सर्वप्रथम शिक्षक नै क्रियाशिल हुनुपर्ने, पूर्वखोलाको बावियो व्यवस्थापन गर्न सके करोडौंको आम्दानी गर्न सकिने भएकाले गाउँपालिकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरे । कार्यक्रममा माध्यमिक तथा क्याम्पस तहमा विद्यार्थीहरुको लागि पढ्दै कमाउदै, रमाउदै कार्यक्रम ल्याउनु पर्ने, समयमै योजना सम्झौता तथा कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, गाउँपालिका भित्रका मोटरबाटोहरुको लगत कट्टा गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वडा वडाबाट वितरण गर्नुपर्ने, वडा वडामा आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, कृषि, पशुपालन र पर्यटन सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्नेमा नागरिकहरुले जोड दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले पालिकाले जनताको आयस्तर बढाउन कृषि र पशु क्षेत्रमा आधारित कार्यक्रमलाई प्राथमिकता दिएको, एक घर एक धाराको कार्यक्रमलाई प्राथमिकता दिएको, पालिकाको आम्दानी वृद्धि गर्न करको दायरा फराकिलो बनाउँदै विभिन्न विकल्पहरुको बारेमा छलफल चलाएको बताए । कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले नागरिकले उठाएका गुनासा तथा जिज्ञासाहरुको जवाफ दिएका थिए । गाउँपालिका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत, पाल्पा विकास केन्द्रका कार्यक्रम संयोजक किरण कौशलको सञ्चालनमा कार्यक्रम भएको थियो ।


                                        
                                        
                                        
                                        
                    
                    
                    