Shittalpati
मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्रको वर्चस्व

काठमाडौँ, कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका हुन् । 

चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका छन् । चलचित्र महोत्सवमा ‘साउथ एसिया प्रिमियर’ हुनेछ । उनले भने, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।” 

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई दर्शाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् । यस्तै सोही महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने ‘साउथ एसिया कम्पिटिसन’अन्तर्गतको प्रतिस्पर्धामा रहेको छ ।

यसैगरी दिवा शाहले निर्देशन गरेका नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । सौरभ राईले निर्देशन चलचित्र ‘गुराँस’ मा हराएको कुकुरको खोजीमा निस्किएकी दस वर्षीया बालिकाको आँखाबाट खसेको आँसुको कथा प्रस्तुत गरिएको छ । निर्देशक राईकै लेखनमा तयार भएको चलचित्रमा तुलसी खवासले ‘गुराँस’ मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन् ।  यस्तै छोटो चलचित्रको विधामा विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा रहेको छ । उल्लिखित तीनै छोटा चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) हुनेछ । नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथा छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान समेत गर्दै आएकोे छ । 

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update