Shittalpati
वेद माविको समिति गठनमा विवाद

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित ढावखोलमा रहेको वेद माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन विवादमा परेको छ । अभिभावक भेलाबाट निर्वाचित भएका र मनोनित सदस्यको उपस्थितिबिनै नयाँ समिति गठन गरिएपछि विवाद भएको हो ।

समितिलाई लिएर अभिभावक, प्रधानाध्यापक र जनप्रतिनिधि बीच विवाद देखिएको छ। वडाध्यक्ष र प्रअले विद्यालय व्यवस्थापन समितिमा रहेको शिक्षा नियम विपरित समिति गठन गरेको अभिभावकले गुनासो गरेका छन् । ३० फागुन २०७९ मा समितिको म्याद सकिए पनि नयाँ समिति छनोटको लागि २२ साउन २०८० मा दोस्रो भेला बसेको थियो । उक्त भेलाले अभिभावक मध्येबाट चार जना सदस्य निर्वाचित गरेको थियो ।  जसमा  सजना बस्याल, तुलसा न्यौपाने, गणेश बस्याल र दामोदर भुसाल सर्वसम्मत निर्वाचित भएका थिए । सोही दिन समितिले दुई जना सदस्य मनोनित गर्ने व्यवस्था रहे पनि त्यसको टुँगो लाग्न सकेको थिए । तर प्रधानाध्यापक टुनवीर रेस्मी र वडा अध्यक्ष मोतिलाल बस्यालले १५ भदौ २०८० मा महिला सदस्य सजना बस्याल र तुलसा न्यौपाने अनुपस्थित भएको मौकामा जगदीश बस्याल र जीवकला बस्याललाई सदस्यमा मनोनित गरेका थिए । अभिभावकबाट चयन भएका सदस्यहरु, प्रधानाध्यापक र जनप्रतिनिधिले सदस्य मनोनित गर्ने व्यवस्था भए पनि दुई जना सदस्यको अनुपस्थितिमा सदस्य चयन गर्नु गलत भएको अभिभावक दामोदर भूषालले बताए । उनले भने ‘अभिभावकबाट चुनिएका मध्ये दुई जनाको अनुपस्थितिमा सदस्य मनोनित गर्न हुँदैन थियो, तर वडा अध्यक्ष र प्रधानाध्यापकले मनोमानी ढंगले सदस्य चयन गरेकोमा हाम्रो आपत्ति हो ।’ उनीहरुले निर्वाचित दुई सदस्य सहित मनोनित सदस्य जगदीश बस्यालको अनुपस्थितमा समेत अध्यक्ष छनौट गरेका छन् । गणेश बस्याललाई अध्यक्षमा छनोट गर्नु शिक्षा नियम विपरित भएको अभिभावकको आरोप छ । अभिभावकहरुको चाहाना विपरी समिति गठन भएको भन्दै ३६ जना अभिभावकहरुले आपत्ति जनाएका छन् । उनीहरुले समिति बदरको माग गर्दै जिल्ला शिक्षा समन्वय इकाई पाल्पा, बगनासकाली गाउँपालिका र विद्यालयमा उजुरी दिएका छन् ।  

 ‘शिक्षा ऐन नियम राष्ट्रिय शिक्षा नीति २०७६ को १४० (१२०) विद्यालय व्यावस्थापन समितिमा रहेको शिक्षा नियम विपरित भएको र गणेश बस्याललाई अध्यक्ष छनोट गरी निर्णय गर्ने कार्य प्रति सम्पूर्ण अभिभावकहरुले असहमति प्रकट गर्दै उक्त निर्णय मनोमानी र दम्वको भावनाले गरिएको हाम्रो ठहर छ’ उजुरी पत्रमा भनिएको छ । अभिभावकको चाहना विपरित समिति गठन भएकाले तत्काल बदर गर्नुपर्ने उनीहरुको माग छ । अभिभावकको उजुरीलाई आधार मान्ने हो भने नियमसंगत नभएको जिल्ला शिक्षा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए । उनले भने ‘अभिभावबाट चुनियनका सम्पूर्ण पदाधिकारी र वडा अध्यक्ष र प्रअको उपस्थितीमा सर्वसमत समिति गठन गरिनुपथ्र्यो तर त्यसो नगरेर केही पदाधिकारीको अनुपस्थितिमा  समिति गठन गर्नु नियम संगत हैन ।’ उनले स्थलगत अनुगमन गरेर पालिकाले त्यसको निकास निकाल्नुपर्ने बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गुनराम खनालले यस विषयमा अनुसन्धान गरेर मात्र भन्न सकिने बताए । उनले समिति गठन प्रक्रिया अभिभावकको उपस्थितीमा हुनुपर्ने व्यवस्था भए पनि अभिभावकबाट चुनियनका पदाधिकारी अनुपस्थित भएमा के हुने भन्ने कुरा कार्यविधिमा नरहेको बताए । वडा अध्यक्ष मोतिलाल बस्यालले भने आफुहरुले सहमति गर्ने प्रयास गरे पनि महिला सदस्यहरु बैठकमै उपस्थित नभएको बताए । आफुहरुले कुनै पनि गलत नियत र नियम विपरित काम नगरेको उनले दावी गरे । विद्यालयका प्रधानाध्यापक टुनवीर रेस्मीले भने पटक–पटक बैंठकमा बोलाउदा समेत महिला सदस्यहरु उपस्थित नभए पछि प्रक्रिया अगाडि बढाइएको बताए । उनले भने ‘काँग्रेस सम्बद्ध दुई जना महिलाहरु बैंठकमा उपस्थित नभएर विद्यालयलाई अनिर्णयको बन्दी बनाएपछि बहुमतका आधारमा समिति गठन अगाडि बढेको हो ।’ अध्यक्षमा चयन भएका गणेश बस्याल भने एमालेका हुन् । व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका हरेक काममा बाधा पुगेको प्रधानाध्यापक रेस्मीले बताए । उनले भदौं १५ गते सामाजिक डिभिजन विकास कार्यालयमा कार्यक्रम, योजनाहरु पेश गर्नुपर्ने अन्तिम समय भएकाले पनि तत्काल समिति गठन गर्नुपर्ने अवस्था आएको बताए । महिला सदस्य सजना बस्यालले भने आफुहरुको अनुकूल व्यक्तिलाई सदस्यमा मनोनित गर्न थालेपछि आफुहरु बैंठकमा नगएको बताइन् । उनले भनिन् ‘हामीले एक जना व्यक्तिको नाम सिफारिस गरेका थियौं तर उहाँहरुले मनोमानी ढंगले आफ्नो अनुकूलको व्यक्तिको नाम लेख्नुभयो, बैंठकमा हाम्रो कुरा नै सुनुवाई नै भएन ।’

विद्यालय व्यवस्थापन समिति किन आवश्यक ?
सामुदायिक विद्यालयलाई सक्रिय, सबल र सक्षम बनाउन अभिभावकको नेतृत्व रहने समितिले संघीय, प्रदेश र स्थानीयबाट प्राप्त हुने स्रोतको उच्चतम सदुपयोग गर्ने र अन्य स्रोतको खोजी गर्ने कार्यमा व्यवस्थापन समितिको भूमिका रहेको छ । साथै, विद्यालयको सञ्चालन, रेखदेख, निरीक्षण र व्यवस्थापन गर्ने, विद्यालयको लागि आवश्यक अन्य आर्थिक स्रोत जुटाउने कार्यमा समेत समितिको भूमिका रहँदै आएको छ । त्यसबाहेक शिक्षक तथा कर्मचारीलाई तालिमको लागि छनोट तथा सिफारिस गर्नेलगायतको कार्यमा अभिभावकको संलग्नता हुँदा उनीहरुको सहभागिता र अपनत्वले विद्यालय समुदायको हो भन्ने धारणा बन्न जाने र विद्यालयप्रतिको चासो र सरोकार बढ्दै जाने हुन्छ । आफ्नै छोराछोरीको भविष्यप्रति अभिभावकहरुको जिम्मेवारी र दायित्वलाई आत्मसात् गराउन र उनीहरुको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि स्वजागृत गराउन विद्यालय व्यवस्थापन समितिको आवश्यकता पर्दछ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update