Shittalpati
सडकमा तरकारी बेचेर मनग्य आम्दानी गर्दै महिला

पाल्पा, तानसेन नगरपालिका– ११ बाझाकी ३८ वर्षीया राधिका खाँतीको दिन दुई घण्टा हिंडेर तरकारी लिएर तानसेन बजारमा बेच्नमै व्यस्त हुन्छ । दिनहुँ साँझपख बारीमा फलेको तरकारी टिपेर तयारी अवस्थामा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उनको दिनचर्या नै बनेको छ ।

आफुले फलाएको तथा अन्य किसानबाट संकलन गरी उनले विभिन्न मौसमी तथा बेमौसमी तरकारी लिएर तानसेनको शितलपाटीस्थित सडक चोकमा खुला पसल गर्दै आएकी छन् । खाँतीले तरकारी बेचेरै मासिक लाखौं रुपैयाँ कमाउन थालेकी छिन् । मेहनत गरेमा किसानले आफ्नै बारीमा सुन फलाउन सक्छन् भन्ने उदाहरण उनी बनेकी छन् । लकडाउपछि शितलपाटी सडक नजिकैको मन्दिर आसपासमा बसेर खाँतीले ताजा तरकारी र फलफुल विक्री गर्ने गर्छिन् । उनले तरकारी विक्रीबाटै दैनिक दुई हजारदेखि पाँच हजारसम्म आम्दानी गर्न सफल भएकी छन् । तरकारी बिक्रिबाट भएको आम्दानीले उनले एक छोरा र एक छोरीलाई पढाउन सक्षम भएकी छन् । ४ जनाको परिवारलाई तरकारी बिक्रि गरेर राम्रैसँग पाल्न सकेको उनले बताइन् । खाँतीलाई श्रीमानले तरकारी संकलनमा दैनिक सहयोग गर्दै आएका छन् । बारीमा फलेको तरकारीलाई बजारसम्म ल्याएर बेच्न सुरुसुरुमा लाज लागेको उनले सुनाइन् । अहिले त उमेरले साथ दिएसम्म यही व्यापार गर्ने सोंच आएको खाँतीको भनाई छ । “सडक छेउमा बसेर त कहिले बजारमा डुलाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । अहिले आफ्नो पेसा व्यापार हो भन्ने बुझेकी छु । अब सकुञ्जेल यही काम गर्ने हो”, राधिकाले भनिन् । उनका अनुसार अर्गानिक तरकारी किन्ने ग्राहकको यहाँ दैनिक भीड लाग्ने गर्दछ । प्रायः बजार गर्न आउने र अफिसबाट फर्कनेहरुले तरकारी किनेर लैजाने गरेको उनको भनाई छ । राधिकाले दिनभर घाम, पानी, चिसो, गर्मी केही नभनेर दिनभर तरकारी बेच्छिन् र साझापख घर फर्किन्छिन् । तरकारी बेच्न थालेदेखि आफु आत्मनिर्भर बनेको उनको भनाई छ । राधिका भन्छिन्, “महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरूको भरमा बाँच्नुपर्दा जीवन अन्धकार जस्तो हुँदोरहेछ, श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो, नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो । अहिले तरकारी बेचेर आम्दानी गर्न थालेपछि आफ्नो खर्चका लागि अरूको भर पर्नु परेको छैन् ।” तरकारीबाट उनले कमाएको पैसाले बालबालिकालाई पढ्ने, स्कुल पोशाक, कापीकलम र नयाँ लुगाफाटो, घरखर्च, नुनतेल, चामलमा चलिरहेको छ । राधिकाले झैं आफ्नै बारीमा फलेको र अन्य कृषकहरुले उत्पादन गरेको तरकारी बेचेर कुरुंगखोलाकी जमुना बोहोराले पनि मनग्य आम्दानी गर्दै आएकी छन् । उनले विगत डेढ दशकले सडक पेटीमै तरकारी बेचेर घर खर्च चलाउँदै आएकी छन् । उनले पनि दैनिक एक हजारदेखि तीन हजारसम्म आम्दानी गर्छिन् । खाँती र बोहोरा जस्तै धेरै महिला तरकारी बेचेरै आत्मनिर्भर बन्दै गएका छन् । 

‘नगर सरकारले लखेटेर दुःख दिन्छ’  
सडक पेटीमा बसेर साना व्यवसायीहरुले तकारी बेचेर गर्जो टार्दै आए पनि तानसेन नगर सरकारले भने कहिले काही दुःख दिने गरेको गुनासो गर्ने गरेका छन् । राधिका खातीले आफु जस्ता पेटीमा बसेर सानो  व्यवसाय गर्दै आएकाहरुलाई स्थानीय सरकारले सहयोग गर्नु पर्नेमा बेला–बेलामा आएर लखेट्ने र दुःख दिने काम  गर्ने गरेको बताइन् । उनले भनिन् ‘मैले बाझाबाट स्थानीय उत्पादन विक्रीका लागि ल्याउँछु, यही तरकारी विक्री गरेरै घर परिवार चलाएकी छु, तर स्थानीय सरकारले हाम्रो समस्या बुझ्दैन ।” कुरुंगखोलाकी जमुना बोहोराले व्यवस्थित हाटबजारको व्यवस्था नहुँदा आफु जस्ता व्यवसायीहरुले दुःख पाउने गरेको बताइन् । उनले भनिन् “हामी जस्ता साना व्यवसायीलाई व्यवस्थित  हाट बजारको व्यवस्था मिलाई दिने हो भने उपभोक्ताले अर्गानी स्थानीय उत्पादन उपभोग गर्न  पाउने र हाम्रो परिवारको पनि गर्जो टर्ने थियो ।”
 

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update