Shittalpati
बुबाको मुख सधैं हेरौँ

हाम्रो सनातन परम्परामा एउटा महत्वपूर्ण दिन हो कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने । वास्तवमा हाम्रो हिन्दू धर्म परम्परामा पृथ्वीका हरेक तत्व र पक्षलाई असाध्यै महत्व दिएको छ । हरेक दिन कोही र कसैलाई सम्झन र पूजा गर्न दिन तोकिएको छ । यस सृष्टिका सबै तत्व उत्तिकै महत्वपूर्ण छन् । यो सृष्टि निर्माण र अस्तित्वको लागि सानो कीटपतङ्गरदेखि ठूलाठूला ग्रह नक्षत्रको उत्तिकै भूमिका छ । हिन्दू धर्म परम्परामा रुख ,बिरुवा, जनावर, मान्छे र ग्रह सबैको पूजा गर्नुपर्छ भनिएको छ ।

बुबाको मुख हेर्ने दिन आज आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गरिन्छ । बुवालाई विशेष सम्मान गर्ने र बाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो । पितृ देवो भव भन्ने हाम्रो संस्कृतिले पितालाई देवताको रुपमा लिने चलन छ । आज दिन बाबुको सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ । आफूलाई जन्म दिई हुर्काएर, पढाएर सक्षम बनाउने बाबुआमालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य पनि हो ।

पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बुवालाई भेट्न पुग्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । अघिपछि बुबाआमालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने संस्कार छ, जुन गलत हो । यसो गरिनुहुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । एकदिन मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । यसर्थ बुवाको सम्मान सधै गर्न सिकौं । 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update