
पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा एउटै वडाबाट दुई महिनामा ९ लाख ८० हजार बढीको अकबरे खुर्सानी निकासी भएको छ । यहाँको वडा नं. २ को देउरालीबाट साउन र भदौ महिनाको पहिलो हप्तासम्ममा ४ हजार ४ सय ५७ केजी अर्थात् (४४ क्विन्टल ५७ केजी) खुर्सानी निकासी भएको हो ।
यहाँका किसानले उत्पादन गरेको खुर्सानी देविस्थान बहुउद्देश्यी सहकारी संस्थाले संकलन गरी उक्त परिमाणमा खुर्सानी बाहिर पठाएको छ । साउन महिनामा यहाँका किसानले ३ हजार ३ सय ९० केजी र भदौ महिनाको पहिलो साता एक हजार ६७ केजी अकबरे उत्पादन गरेका छन् । उक्त उत्पादित खुर्सानी बाहिर निकासी गरिसकिएको सहकारीका व्यवस्थापक खिमबहादुर घर्तीले बताए । उनका अनुसार यो वर्ष ५ सय क्विन्टल खुर्सानी निकासी गर्ने लक्ष्य राखिएको छ । यस अघि हार्थोक संकलन केन्द्रबाट अकबरे निकासी हुँदै आए पनि गत वर्षदेखि किसानले यही सहकारीमार्फत विक्री गर्दै आएका छन् । यहाँँ गत वर्ष ३ हजार ४ सय किलो खुर्सानी निकासी गरिएको सहकारीका व्यवस्थापक घर्तीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन)ले खुर्सानी खेतीका लागि अनुदान ,बिउ वितरण, प्लाष्टिक टनेल, सिँचाइका लागि पाइप वितरण, पोखरी निर्माण र प्राविधिक सहयोग गर्दै आएको र सहकारीले उत्पादनको बजारिकरण गर्दिन थालेपछि यहाँका किसानहरु अकबरे खुर्सानीतर्फ आकर्षित भएका छन् ।
खुर्सानीबाट यहाँका किसानले एक लाखदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन् । यहाँकी सावित्रा पौडेलले यसवर्ष अकबरे खुर्सानीबाट ५ लाख बढी आम्दानी गर्ने योजनामा छिन् । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीकारुपमा अकबरेको खेती थालेकी उनले भदौको पहिलो सातासम्म ६६ हजारको ३ सय किलो खुर्सानी बिक्री गरिसकेकी छन् । अझै ४ लाख ५० हजार रुपैयाँको अकबरे फलेको उनको अनुमान छ । उनले पाँँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएकी छन् । उनलाई श्रीमान सन्दिप पौडेलले समेत साथ दिदै आएका छन् । पौडेलले भनिन् “ मेरो श्रीमान ३ वर्ष मलेसिया र डेढ वर्ष दुवईमा बसेर गाउँमै केही गर्नुपर्छ भनेर आउनुभयो, अहिले दुवै जना मिलेर खुर्सानी खेती गर्दै आएका छौं ।” उनले आफुहरुलाई जोनमार्फत कृषि सामग्रीसँगै प्राविधि सहयोग भएको र बजारीकरणका लागि सहकारीबाट ठूलो सहयोग मिलेको बताईन् ।
देउरालीकै बाबुराम अधिकारीले पनि ३ वर्षदेखि कृषि व्यवसायी गर्दै आएका छन् । उनले यस वर्ष भदौंको पहिलो सातासम्ममा ८८ हजारको ४ क्विन्टर खुर्सानी विक्री गरिसकेका छन् । लामो समय भारत बसेर फर्किएका अधिकारीले गतवर्ष कृषि उपजबाटै पाँच लाख आम्दानी गर्न सफल भएका थिए । यसवर्ष खुर्सानी विक्रीबाट ५ लाख बढी आम्दानी गर्ने योजना रहेको उनको भनाई छ । मेहनत गरे गाउँमै वार्षिक ५÷७ लाख कमाउन सकिने अधिकारीले बताए । उनले भने “ पैसा कमाउनकै लागि विदेश नै जानुपर्दैन । मैले पनि भारतमा लामो समय विताए, त्यहाँ वर्षमा दुई ÷ढाई लाख कमाइन्थ्यो घर फर्कदा रित्तै हुन्थ्यो । तर अहिले घरमै बसेर वार्षिक ४÷५ लाख कमाइरहेको छु ।” कृषक अधिकारीले आफुहरुलाई जोन र सहकारीले सहयोग गर्दै आएको बताए । उनले अघिल्लो २ वर्ष भन्दा डेढ गुणाले भाउ आएको बताए । “भाउ पाइएको मात्र छैन, बिक्री गर्नसमेत सहज भएको छ,” उनले भने, “भाउ पहिल्यै निर्धारण भएकाले पनि बिक्री गर्न सजिलो भएको छ ।” देउरालीकै सुनिल विकले पनि विगत ३ वर्षदेखि खुर्सानी खेती गर्दै आएका छन् । उनले गत वर्ष ५ लाखको खुर्सानी विक्री गरेको बताए । विकले यस वर्ष ४ लाखको खुर्सानी विक्री गर्ने लक्ष्य लिएका छन् । उनले अहिलेसम्म २ लाखको खुर्सानी विक्री गरिसकेको बताए । पौडेल, अधिकारी र विक मात्र होइन यस वडाका ९७ जना कृषकले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन)ले चाक्लबन्दी खुर्सानी खेतीका लागि यहाँका किसानलाई अनुदानमा कृषि सामग्रीहरु उपलब्ध गराउँदै आएको छ । किसानलाई खुर्सानीमा आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले ९ लाख ९९ हजार ७ सय ७७ रुपैयाँ अनुदान उपलब्ध गराइएको कार्यालयका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत गणेश प्रसाद यादवले बताए । उनले भने“ किसानलाई प्रोत्साहन गरेर सुरुवात गरेको अकबरे अहिले व्यवसायिक बनेको छ । यहाँका कृषकहरुले उत्साजनक रुपमा खुर्सानी उत्पादन गर्दै आएका छन् ।” विगत ३ वर्ष अघिदेखि यहाँको पालिका भरी नै जोनमार्फत किसानलाई सहयोग गरिदैं आएको प्रमुख यादवले बताए । कार्यालयले यहाँका व्यवसायिक कृषकहरुलाई घरमै गई प्राविधिक सहयोग समेत गर्दै आएको छ । सुरुवातका दिनमा प्राविधिक ज्ञानको अभावका कारण यहाँका कृषकले कम उत्पादन गरेपनि अहिले बेला–बेलामा प्राविधिक सरसल्लाह दिने गरेका कारण उत्पादनमा समेत वृद्धि हुँदै गएको जोनका कृषि अधिकृत सरोज पोखरेलले बताए । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि हुने उनको भनाई छ । अधिकृत पोखरेलले भने“ पहिले –पहिले कषकहरुले खुला जग्गामै खुर्सानी खेती गर्ने प्रावधान थियो, जसले गर्दा झार र किराले ग्रस्त भएर सोंचे जस्तो उत्पादन हुन सकेको थिएन्, त्यस्तो समस्यालाई सम्बोधन गर्ने गरी हामीले यसपाली सबै कृषकलाई मल्चिङसहित खुर्सानी लगाउन प्रेरित गयौं, जसले गर्दा झार र रोगबाट केही हदसम्म खेती जोगाउन सक्दा कषकले उत्पादन बढाउन सक्नुभएको छ ।” पहिले खुर्सानी लगाउँदा कति दूरीमा लगाउने, के कस्ता विषादी, सुक्ष्म खाद्यातत्वहरु राख्ने भन्ने कुराको कृषकलाई ज्ञान नहुँदा पनि उत्पादन वृद्धि हुन नसकेको अवस्थामा जोनमार्फत खेतवारीमै पुगेर प्राविधिक ज्ञान दिएका कारण पनि यस वर्ष अझ उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको उनले बताए । कृषकहरुले उत्पादन गरेको खुर्सानीको बजारिकरणमा समेत कुनै पनि समस्या नरहेको जोनका सूचना अधिकारी भिमसेन नेपालले बताए । उनले भने “यहाँका कृषकहरुलाई बजारिकरणको कुनै समस्या छैन यहाँको सहकारीमार्फत कृषि उपज बजारसम्म पुग्छ ।” बजारिकरण नहुँदा पहिले अत्यन्तै समस्या भोगेका कषकहरुले अहिले सहकारीमार्फत बजारिकरण हुन थालेपछि उत्साहका साथ व्यवसायिक खेतीमा लागेको संकलन केन्द्र तथा देविस्थान बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेललले बताए । जोनले अनुदान दिइसँगै खेतीको बेला बेलामा अनुगमन गरेका कारण कृषकहरु खुर्सानीतर्फ आकर्षित भएको उनले उल्लेख गरे । कृषकले उत्पादन गरेको खुर्सानी यसोदा फुड् कम्पनीसँग सम्झौता गरी पठाउने गरेको सहकारीका सचिव भिमलाल अधिकारीले बताए । उनले भने “कृषकले सहकारीसम्म कृषि उपज बोकेर ल्याउनुहुन्छ । बजारका लागि हामी तत्कालै कम्पनीमा पठाइदिहाल्छौं । बजारको त्यस्तो कुनै समस्या छैन ।” देउरालीमा मात्र २ सय रोपनीमा खुर्सानी खेती हुँदै आएको छ । कृषकले अहिले प्रति केजी २ सय २० रुपैयाँमा सहकारीमा खुर्सानी विक्री गर्दै आएका छन् । वडा कार्यालयले समेत कृषिलाई जोड दिर्दै आएको वडा अध्यक्ष ओमप्रकाश पोखरेलले बताए । उनले भने “ हामीले यस वर्ष वडामा कृषि कार्यक्रमका लागि ९ लाख बजेट विनियोजन गरेका छौं, कृषकहरुको मागका आधारमा कार्यक्रम गर्ने छौंं ।” जोन र वडा कार्यालयबिच सल्लाह गरेर कसले कुन क्षेत्रमा के काम गर्ने भनि कार्यक्रम बनाइने अध्यक्ष पोखरेलको भनाई छ । उनले भने “अहिले जोनले खुर्सानीमा काम गर्दै आएको छ, हामीले त्यो भन्दा फरक क्षेत्रमा काम गर्ने छौं ।”
देउरालीमा मात्रै होइन रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाका १ हजार ५ सय किसानले अकबरे खुर्सानीबाट राम्रो आम्दानी गरिरहेका छन् । विगतमा अदुवाले चर्चा पाउने रिब्दीकोटका किसानले अहिले खुर्सानीबाट मनग्य आम्दानी गरिरहेका छन् ।
रिब्दीकोट गाउँपालिकामा चार वर्षअघि परीक्षणका लागि लगाएको अकबरेबाट एउटै पालिकाभित्र ६ देखि १० करोडसम्म नगद भित्रिने गरेको छ । खुर्सानी विस्तारका लागि गाउँपालिकाले समेत कृषकलाई सहयोग गर्दै आएको छ । खुर्सानीको न्यूनतम् मूल्य निर्धारण गर्नमा समेत गाउँपालिकाले सहजिकरण गरेको छ । पालिकाले रोगकिरा व्यवस्थापन सम्बन्धी वडास्तरीय तालिम, बीउ छनोट, ग्रेडिङ्ग, आम सचेतीकरण कार्यक्रम गर्ने गरेको छ ।