Shittalpati
अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरमा किसानको भरोसा

पाल्पा, जिल्लाका किसान वर्षदिन कठोर परिश्रम गर्छन्। बाली स्याहार्ने बेला भने ‘हात लाग्यो शून्य’ भनेजस्तो हुन्छ । वन्यजन्तुले आधाभन्दा बढी अन्नबाली नष्ट गरिदिन्छन्। त्यसबाट आजित बनेका पाल्पाका  किसान पछिल्लो समय भने वैकल्पिक खेतीतर्फ लागेका छन् । खेतबारीमा लगाएको मकै, कोदो लगायतका अन्नबाली बाँदर र बदेलले सखाप पार्न थालेपछि  किसानले विकल्पका रुपमा टिमुर खेती गर्न थालेका हुन् । 

टिमुर खेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको जिल्लाको तिनाउ गाउँपालिका कचलका मीनबहादुर सारुले बताए । यहाँका प्रायजसोले बारीभरी टिमुर लगाएको उनले बताए । “यहाँ सबै जसो बारी र बाँझो जमिनमा टिमुर छ, वनसँग जोडिएका ठाउँमा अरू बाली लगाएर जोगाउनै सकिँदैन, त्यसको विकल्प टिमुर खेती बनेको छ”, सारुले भने । टिमुरबाट आम्दानीसमेत राम्रो हुँदै आएको उनको भनाई छ ।रिब्दीकोट गाउँपालिका–ढुस्टुङका तारा बगालेले पनि व्यावसायिक रुपमा टिमुर खेती गरेकी छन् । टिमुर खेतीमा वन्यजन्तुले खासै क्षति नपु¥याउने, धेरै मेहनत नपर्ने र उत्पादनपछि बजार पाउन सहज हुने भएकाले अन्नबालीको विकल्पका टिमुर खेती रोजेको उनको भनाई छ । पहिले मकै खेती लगाउँदै आएकी  उनले अहिले बारीमा ५० बोट टिमुरका विरुवा लगाएकी छन् । दिनहुँजसो वन्यजन्तु आउने ठाउँमा अन्नबाली लगाएर भित्र्याउने समयसम्म केही नरहने भएपछि टिमुर खेती गर्न थालेको उनी बताउन्छिन् । बगाले भन्छिन्“हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप पारिदिन्छन् । मेहनत गरेर लगाएको बाली स्याहार्ने बेलामा आएर बन्यजन्तुले खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाइदिएको हुँ ।” टिमुरबाट राम्रो आम्दानी समेत हुने उनको भनाई छ । 

निस्दी गाउँपालिका–ज्यामिरेका कर्णबहादुर सोतीले पनि डिभिजन वन कार्यालयबाट  गत वर्ष २० वटा विरुवा लिएर अहिले खेती थालेका छन् । 
    लगाएको अन्नवाली वन्यजन्तुले खाइदिएर हैरान बनाएपछि अहिले टिमुर खेती गर्न लागेको उनी बताउन्छन् । रैनादेवी  छहराका धुर्व बहादुर रानाले पहिला–पहिला बारीका काल्नामा टिमुर लगाउँदा सबै हाँस्थे । जब टिमुर आम्दानीको बलियो माध्यम बन्योतब बारी ढाक्ने गरी सबैले टिमुर लगाउन थालेको उनी बताउन्छन् ।  राना भन्छन् “वन्यजन्तुको आतंकले हामीले अन्नबाली लगाउन सकेनौं, अहिले हामीले टिमुर खेती गरेका छौं । यसले हामीलाई राम्रो आम्दानी मात्रै होइन दिएको छैन्, भविष्यको भरोसा समेत बनेको छ ।” रिब्दीकोट, तिनाउ, निस्दी र रैनादेवी छहरामा मात्र होइन यहाँका माथागढी, पूर्वखोका स्थानका किसानले समेत अहिले व्यवसायिक  टिमुरखेती गर्न थालेका छन् । अन्नबाली वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले  वनबाली अन्तर्गत टिमुरको व्यवसायिक खेती गर्न थालेका हुन् । बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाइएको टिमुर खेतीले जिल्लाका दुई हजार बढी किसानलाई फाइदा पुगेको छ । असारको अन्तिम सातादेखि असोज–कात्तिक महिनासम्म टिमुर विक्री गरेर यहाँका किसानले वार्षिक एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार किसानमा टिमुर खेतीप्रतिको आकर्षण निरन्तर बढिरहेको छ । पाल्पाको भौगोलिक बनोट र हावापानी टिमुर खेतीका लागि अत्यन्तै उपयोगी रहेको उनको भनाइ छ । नेपाल सरकारले टिमुरलाई प्राथमिकताप्राप्त ३३ जडीबुटी प्रजातिमध्ये एकका रूपमा राखेको छ । 

टिमुरसहित १२ जडीबुटी प्रजातिलाई खेती प्रविधि अनुसन्धानका लागि प्राथमिकतामा राखिएपछि पनि किसानको आकर्षण बढेको तामाङ बतान्छन् । डिभिजन वन कार्यालयले विगत तीन वर्षदेखि टिमुरलाई व्यावसायिक खेतीका रूपमा विकास गर्न पहल गरिरहेको छ ।वन कार्यालयले टिमुर खेती गर्न चाहने किसानहरुलाई विरुवा उपलब्ध गराउँदै आएको छ । स्थानीयस्तरमै पर्याप्त बिरुवा उत्पादन गर्न नसकिएपछि पश्चिम नेपालका अन्य जिल्लाबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरिएको कार्यालयले जनाएको छ ।  कार्यालयले पहिलो वर्ष १० हजार बिरुवा वितरण गरेको थियो । त्यसपछिको आर्थिक वर्षमा किसानको मागअनुसार २० हजार बिरुवा वितरण गर्दै आएको छ । पछिल्लो समय किसानको मागअनुसार बिरुवा उपलब्ध गराउनसमेत कठिन हुन थालेको सूचना अधिकारी तामाङ बताउन्छन् ।
‘टिमुर दीर्घकालीन आम्दानीको खेती’
डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पाको अधिकांश भू–भागमा टिमुर खेतीको सम्भावना छ । अग्लो तथा ओसिलो स्थानमा समेत खेती गर्न सकिने भएकाले जिल्लाका विभिन्न क्षेत्रमा यसको विस्तार गर्न सकिने उनी बताउँन्छन् । “अन्य खेतीमा बाँदरको आक्रमण हुन्छ तर टिमुर खेतीबाट किसानलाई सुरक्षित र दीर्घकालीन फाइदा हुन्छ,” श्रेष्ठ भन्छन् । उनका अनुसार एकपटक टिमुरको बोट हुर्काएपछि वर्षौँसम्म त्यसबाट आम्दानी लिन सकिन्छ । यही कारण वन्यजन्तुको समस्या भएका क्षेत्रमा टिमुर किसानका लागि वैकल्पिक खेतीका रूपमा स्थापित हुँदै गएको छ । एकातिर बाँदर र बदेलको आतंकबाट अन्नबाली जोगाउन किसानलाई चुनौती थपिँदै गएको छ भने अर्कोतिर टिमुरले त्यही चुनौतीलाई अवसरमा बदल्ने बाटो देखाएको छ । वन्यजन्तुले अन्नबाली खोस्दै गर्दा किसानले भने टिमुरमार्फत सुरक्षित खेती र आम्दानीको नयाँ बाटो रोजिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update