
पाल्पा, जिल्लामा प्राविधिक शिक्षालयका रुपमा अग्रणी भूमिका खेल्दै आएको पाल्पा टेक्निकल इन्स्टिच्यूटले ३० औं वार्षिक उत्सव तथा प्रथम दीक्षान्त समारोह मनाएको छ । इन्स्टिच्यूटले सोमबार एक भव्य समारोहकाबिच वार्षिक उत्सवसँगै दीक्षान्त समारोह मनाएको हो ।
कार्यक्रमको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै मन्त्री तिमिल्सेनाले शिक्षा,स्वास्थ्य क्षेत्रमा इन्स्टिच्यूटले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले प्राविधिक शिक्षालाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उल्लेख गरे ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले संस्कारसहितको सिप र शिक्षाले मात्र विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने बताएका छन् । उनले भने“ अहिले संस्कार हराएको छ , जसले संस्कारसहितको शिक्षा र सिप सिक्छ उसको भविष्य सफल बन्ने छ ।” शिक्षाको प्रमाणपत्र प्राप्त गरेर मात्र हुँदैन संस्कार महत्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । सांसद रानाले भने“ जो सुकै अभिभावको चाहना हुन्छ हाम्रा सन्तानको भविष्य राम्रो होस्,राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अब्बल बन्न सकुन भन्ने हुन्छ, त्यसैले पनि विद्यार्थी संस्कारयुक्त बन्न आवश्यक छ ।”
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर, रेडक्रस पाल्पाका सभापति बाबुराम कार्की, पाल्पा अस्पतालका अध्यक्ष अजयमान कर्माचार्य ,युनाइटेड मिसन अस्पतालकी निर्देशक डा. रचेल कारख, बेथल बोर्डिङ्ग स्कूल व्यवस्थापन समितिका अध्यक्ष माधव नेपाल, तानसेन नगरपालिका –१ का वडा अध्यक्ष सुनिल कुमार बस्याल, अभिभावक विरेन्द्र पाण्डे, विद्यार्थी मोनिका थापा लगायतले वार्षिक उत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा इन्स्टिच्यूटका प्रिन्सिपल त्रिलोचन पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १४ जिल्लाका विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको बताए । उनले पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीहरुको आकर्षण बढ्दै गए पनि सरकारी नितिका कारण प्राविधिक शिक्षालयहरु समस्यामा पर्ने गरेको गुनासो गरे । उनले भने “चिकित्सा आयोगको अदुरदर्शिता एंव गलत निर्णयबाट अधिकांस विद्यार्थीहरु देश बाहिर अध्ययनका लागि जाने भएकाले अधिकांस कलेजहरुमा कोटा भन्दा कम विद्यार्थीको उपस्थिति रहने तथा देशको करोडौं आर्थिक स्रोत बाहिरिने गर्दछ ।” प्रिन्सिपल पौडेलले आगामी दिनमा इ लाइव्रेरीको व्यवस्था गर्दै जाने, श्रव्यदृश्य सामग्री थप व्यवस्थापन गर्ने, प्रयोगशालामा आवश्यक पर्ने सामग्रीहरु थप गर्ने, शिक्षकहरुलाई थप तालिमको व्यवस्थापन गर्ने, स्टाफ नर्स तथा फार्मेसी कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गर्ने बताए । दीक्षान्तमा सामान्य चिकित्स (एचए) पहिलो व्याजका ३९ जना विद्यार्थी दिक्षित भएका छन् । एचए तेस्रो वर्ष उर्तिण गरेका विद्यार्थी दिक्षित भएका हुन् । कार्यक्रममा पुरस्कार वितरण र योगदान गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । इन्स्टिच्यूटका अध्यक्ष भेषराज नेपालको सभापतित्व, सदस्य बुद्धिप्रसाद शर्माको स्वागत, शिक्षक दीपेश ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।