Shittalpati
संस्कृतिको तिज बन्न सकोस्

विश्वभर छरिएर रहेका नेपाली हिन्दू महिलाले चार दिनसम्म मनाउने महत्वपूर्ण पर्व हो, हरितालिका तिज । यो वर्ष आजदेखि सुरु हुँदै छ । हिन्दू पात्रोअनुसार चन्द्रमासका आधारमा प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीका दिनसम्म मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।

आज तिजको पहिलो दिन दर खाएर मनाइँदै छ । माइतीले आफ्ना चेलीहरूलाई बोलाएर विभिन्न मीठा–मीठा परिकार खुवाएर यस दिनलाई रमाइलोसँग मनाउने गर्छन् । विशेष गरी विवाह गरेर गएका छोरीचेलीहरू माइतीघरमा आएर खिर, घिउ, दूध, दही, मिठाई, फलफूललगायतका परिकारलाई दरको रूपमा खाने गर्छन् । तिजको दिन निराहार व्रत बसेर पूजा गर्ने भएकाले अघिल्लो दिन राति दर खाने चलन छ । तिजको दिन महिलाहरू नाँचगाँन गर्दै शिवको पूजा गरेर निराहार व्रत बस्छन् । तर पछिल्लो समयमा आएर महिनौं अगाडिदेखि दिदीबहिनीहरू जम्मा भएर दर खाने संस्कृति बढ्दै गएको छ । महिलाको चाड भनेर परिचित तिज आजकल भड्किलो हुँदै गइरहेको छ । तीजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भए पनि अहिले आएर महिनौंअघिदेखि दर खुवाउने परम्पराले विकृति पैदा गरिरहेको छ । त्यस्तै तिजलाई केन्द्रित गरेर बजारमा आएका कयौं गीतले आलोचना र अश्लीलता समेटिरहेका छन् । चर्चा पाउने नाममा कलाकारले हदसम्मको नकारात्मक सन्देश बोकेका गीतहरु तयार गरिदिँदा विकृति अझ बढेर गएको भान हुन्छ ।

तिजको आफ्नै मौलिकता छ । तिज पर्वकै बेला मात्र माइतीघर जान पाउने, नयाँ कपडा लगाउन पाउने प्रचलन प्राचीन समाजमा व्याप्त थियो । वर्षदिनमा एकपटक आफू जन्मेको धर्ती टेक्न पाउँदाको चेलीहरु खुशीमा उन्मुक्त भएर नाच्न पाउँदा आफ्ना पीर, व्यथा सबै चटक्कै भुल्दथे । आज समयसँगसँगै महिलाहरू शिक्षित र चेतनशील बन्दैछन् । यो आफैमा राम्रो हो । तर पर्वको नाममा जथाभावी फड्किलो बन्दै जानु भने दुखद् हो । तिजका पुराना लोकभाका र सन्देश आधुनिकतासँगै हराएको छ । तिजमा आएको विकृति र भड्किलो फेसनले ‘हुँदाखान’ महिलाहरुले तिज मनाउन नसकिरहेको स्थिति छ । केही वर्ष अघिसम्म तिजलाई महिलाहरुले आफ्ना पीर, व्यथा, वेदना अनि सुख दुःखलाई गीत संगितका माध्यमबाट अभिव्यक्त गर्थे । तिजका गीतहरुमा महिलाहरु एकत्रित भएर नाच्थे । एकआपसमा गाउँथे । तर अहिले त्यस्ता गीत सुन्न पाईंदैनन् । यसो हुनु गलत हो । तसर्थ यस वर्षको तिज तडक भडक र भड्किलो होइन, सभ्य, सरल र संस्कृतिको तिज बन्न सकोस् । हरितालिका तिजका अवसरमा आमा, दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update