
पाल्पा, हिन्दू नेपाली महिलाको महत्वपूर्ण चाड तिज आजबाट सुरु भएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन तिज मनाउने गरिन्छ । तिज अन्तर्गत आज पहिलो दिन दर खाएर मनाइँदै छ ।
मीठा परिकारका साथ दर खाने गरिन्छ । हरितालिका तिजको ब्रतअघि मीठा–मीठा परिकार बनाएर दर खाने प्रचलन रहिआएको छ । दरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका परिकार खाने गरिन्छ । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन चलेको हो । दरखाने समय र स्थान भने ठाउँअनुसार फरक–फरक छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ । धार्मिक मान्यताअनुसार सत्ययुगमा पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासका आधारमा युवतीले राम्रो पति पाउन र विवाहितले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ । तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गरिन्छ । भारतका कुनै–कुनै प्रान्तमा समेत तीज मनाउने प्रचलन छ । तिजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषि पञ्चमीलाई पनि तिज पर्वकै रूपमा मनाइन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्त कहाँ दरखान जाने चलन रहेको छ । आज दर खाने र भोलि हरितालिका तिज परेकाले माइतीघरमा तीज मनाउन महिलाहरु घरगाउँतिर जाने क्रम पनि बढेको छ । पछिल्लो समय तिज मनाउने शैली फेरिँदै गएको छ । महिना दिनदेखि दर खाने र रमाइलो गर्ने प्रचलन बढेको छ ।
दिदीबहिनी भेटघाट गर्ने, दुःख–सुख एवं आपसी अनुभवलाई गीतमार्फत् व्यक्त गर्ने र मिठा परिकार खाएर तिज मनाउने परम्परा रहेकोमा अहिले यसलाई रमाइलो पर्वका रुपमा लिन थालिएको छ । नेपाली हिन्दू महिलाको महान् चाड हरितालिका तीज नजिकिएसँगै गाउँघरदेखि सहरसम्मै रौनक देखिन थालेको छ । दर खाने दिन आज भएपनि सहर बजारमा भने केही दिनअघिदेखि नै महिलाहरुले सामूहिक दर कार्यक्रम आयोजना गरी नाचगान तथा रमाइलो गरिरहेका छन् । हिमालयपुत्री पार्वतीले व्रत बसेर महादेव पति पाएको धार्मिक मान्यतासँगै तिज मनाउने गरिएको हो । तिजका दिन महिलाहरु निर्जल, निराहार उपवास बस्नुपर्ने मान्यता छ । तिज नेपालका साथै भारतको उत्तरप्रदेश, बिहार, झारखण्ड, राजस्थान र मध्यप्रदेशमा पनि मनाउने गरिन्छ । हिन्दु समुदायले मनाउने यो पर्वमा अहिले अन्य समुदायका महिला पनि रमाइलो मानेर सहभागी हुन थालेका छन् ।