Shittalpati
बुवाको मुहारमा खुसी हेर्ने दिन

पाल्पा, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । 

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डुु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । यो दिन बाबु हुनेहरुले आफ्ना बुबाको योगदानको कदर गर्दै सम्मान गर्ने गर्छन् । बाबु नहुनेले भने दिव·त पितालाई तर्पण, सिदादान र श्राद्ध गरेर एवं पिताप्रति आदर सम्मान गर्ने गर्दछन् । बुबा सन्तानका लागि गुरु हुन् । एक रक्षक र कुशल अभिभावक हुन्  । त्यसैले बुबाको मुख हेर्न दिनको महत्व बुबाप्रतिको भक्तिभाव वा श्रद्धाका लागि अत्यन्त महत्वपूर्ण छ । 

यस दिन बुबालाई मीठो मीठो खाना र उपहार दिने र उनीबाट आशीर्वाद ग्रहण गर्ने गरिन्छ । बालबालिकाले मात्र होइन, ठूला मानिसले पनि आफ्नो बुबाका लागि विशेष दिनको रूपमा यसलाई लिन्छन् । यही दिन हिन्दुका घरमा कुश भित्र्याउने गरिन्छ । कुश एउटा पवित्र घाँस हो । भाद्र औंसीको दिन घरमा कुश ल्याउने र त्यो कुश धार्मिक कार्य वा पितृकार्यमा शुद्धीकरणका लागि तामाको लोटीमा राखेर वा आंैठी बनाएर प्रयोग गर्ने चलन छ । कुशको प्रयोग हिन्दुधर्मावलम्बीले १६ संस्कारमा नै अनिवार्य रूपमा गर्ने गर्छन् । आजका दिन वैदिक मन्त्रोच्चारणपूर्वक उखेलिएको कुश वर्ष दिनसम्मका कर्ममा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुश त्यसदिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । कुशलाई भगवान् विष्णुको प्रतिकका रुपमा मानिन्छ । आजका दिनमा घर–घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ भन्ने मान्यता रही आएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update