Shittalpati
पाल्पामा आत्महत्या चुनौती बन्दै, रोकथामका लागि कसले के गर्ने ? 

पाल्पा, पाल्पामा आत्महत्या चुनौतीको रुपमा देखा परेको छ । आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदै जाँदा यो चुनौतीका रुपमा देखा परेको हो । जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन बाध्य छन् । युवा वर्गमा बढ्दो निराशा, बेरोजगारी, दीर्घरोग, गरिबी, प्रेम सम्बन्ध तथा आवेगका कारण आत्महत्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । बालबालिका तथा किशोर किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गर्ने गरेका छन् भने महिला तथा ज्येष्ठ नागरिकले दीर्घरोग, निराशा र बेरोजगारीका कारण आत्महत्या गर्ने गरेका छन् ।

 जिल्लामा  आर्थिक वर्ष २०७८/०७९ यता १ सय ७४ जनाले मृत्युको अप्रिय बाटो रोजेका छन् ।  जिल्ला प्रहरी कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७२ , २०७९/०८० मा ८५ र  चालु आर्थिक वर्षको भदौ २३ गतेसम्म १७ जनाले आत्महत्या गरेका हुन् । जसमा पुरुष बढी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार १ सय १३ जना पुरुष, ५० जना महिला, ८ जना बालिका र ३ जना बालकले आत्महत्या गरेका छन् ।  तथ्याङकलाई हेर्ने हो भने  हरेक वर्ष आत्महत्याका घटना बढेका छन् । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरु रहेका छन् । गरिबी र दीर्घरोगका कारण आत्महत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षक हेरम्व शर्माले  बताए । उनले भने, ‘बालबालिका र किशोर–किशोरीले आवेग र प्रेम सम्बन्धका कारण आत्महत्या गरेको पाइएको छ ।’ लुम्बिनी प्रदेशले समेत जिल्लाको आत्महत्याको अवस्थालाई विशेष प्राथमिकताका साथ हेरेको एसपी शर्माले बताए । आत्महत्यासम्बन्धी समस्या यहाँको प्रमुख समस्याका रूपमा रहेको उनले बताए । यस्ता घटनालाई न्यूनीकरण गर्न स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार, अभिभावकलगायत सरोकारवाला पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए । एसपी शर्माले भने‘ हामीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा आत्महत्या सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेका छौं,तर यतिले मात्र हुँदैन गाउँ–गाउँमा सचेतनाका कार्यक्रमहरु पुर्‍याउन जरुरी छ ।’

न्यूनीकरणका लागि के गर्ने ?
दिनहुँजसो सामूहिक र एक्लै आत्महत्याका घटना भइरहेका र यस्ता अपराध हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । उनले आत्महत्यालाई सामाजिक विकृति र समस्याका रुपमा लिएर जनचेतनामूलक कार्यक्रमलाई गाउँ/टोलसम्म पुर्‍याउनुपर्ने र तथा पारिवारिक सम्बन्ध बिग्रन र मनमुटाव कम गराउने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । समस्या र चुनौतीको सामना गर्ने क्रममा झेल्नु परेका कठिनाइले मानिसमा नैराश्यता र आवेग÷ प्रतिशोधजन्य परिस्थिति उत्पन्न हुने उनी बताउँछन् । ‘जसले कठिनाई, समस्या र चुनौतीसँग जुध्ने धैर्यता र संवेदना देखाएर दिमागलाई सामान्य अवस्थामा राख्न सक्छ, उसले दिमागलाई सामान्य अवस्थातिर लैजान्छ,’ उनी भन्छन्, ‘जसले आवेग र उत्तेजनाको सहज व्यवस्थापन गर्न सक्तैन, उबाट हो, अकल्पनीय अवस्था आउने ।’ घरपरिवारमा कसैको स्वभावमा आकस्मिक परिवर्तन आएको देखिए तत्काल मनोपरामर्शमा लैजानेदेखि त्यस्ता व्यक्तिलाई स्वभाव सामान्य अवस्थामा नआएसम्म एक्लै छोड्न नहुने उनको सुझाव छ । आत्महत्या दुःखद दुर्घटना र अकाल मृत्यु हो भन्ने कुरा जनचेतना बढाउन आवश्यक छ । आत्महत्याको सोच स्वास्थ्य समस्याको समयमै निराकरण नहुँदाको परिणाम हो, जुन सोचलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको मार्गदर्शन गर्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update