Shittalpati
बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु

नेपालगञ्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए । बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । घाइते २९ को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update