Shittalpati
तानसेनमा निकालियो श्रीनगर गणेशको रथयात्रा

पाल्पा,तानसेनमा शनिबार श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । श्रीनगर सिद्धि विनायक गणेश गुठीले बाजागाजा सहित गणेशको रथ निकालेको हो ।

यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट निकाल्ने गरिन्छ । तानसेनको पुरानो र ऐतिहासिक जात्रा मध्येको यो एक हो । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । ऐतिहासिक भगवती जात्राको झल्को दिने गरी गणेशको रथ निकालियो थियो । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन, बाजा र पछिपछि रथ डुलाइएको थियो । परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । नेपाली सेनाले सलामी दिएसँगै गणेशको रथ निकालिएको गुठीले जनाएको छ ।

गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने गरिएको उनले बताए । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो । गणेशको रथयात्रा विशेष गरी तानसेनका चार घर परिवारले सुरु गरेका थिए । गुठियार श्रेष्ठका अनुसार यहाँका लिगल, सुवाल, महर्जन र श्रेष्ठ परिवारले गणेशको रथ निकाल्ने परम्पराको सुरुवात गरेका हुन् । पछिल्लो समय यहाँका तीन घर परिवार बसाईसरी बाहिर गएपछि अहिले श्रेष्ठ परिवारले गुठीमार्फत यो रथयात्रा निकाल्ने गरेका छन् । विगत ३० वर्षदेखि गुठीमार्फत यो जात्रा निकाल्ने गरिएको छ । तानसेनमा थुपै रथयात्रा निकाल्ने गरिए पनि गणेशको रथ निकालेपछि मात्र अन्य रथ निकाल्ने प्रचलन रहेको छ । नेवार समुदायको परम्परागत संस्कृतिलाई बचाई राख्न हरेक वर्ष गणेशको रथ निकाल्ने गरिएको हो । गणेश जात्राका दिन बाघ जात्रा पर्ने गर्दछ । त्यसको भोलिपल्ट टक्सार टोल स्थित सूर्यविनायक गणेश जात्रा निकालिन्छ । 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update