Shittalpati
ग्यास सर्वसुलभ बनाऊ

केही दिनयता देशका अधिकांश क्षेत्रमा  खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । धेरैलाई त्यसको प्राप्तिको अनिश्चितताले पिरोलेको छ । लाइन बस्नुपरेको छ । भनसुन गर्नुपरेको छ । यस्ता काममा अल्झिनुपर्दा धेरैको काम बिथोलिन पुगेको छ । तर उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्यास अभावको समस्याबाट पन्छिँदै आएका छन् । विगतमा जस्तै यसपालि पनि उनीहरूको उत्तर छ– उपभोक्ताले आवश्यकताभन्दा बढी जोहो गर्दा ग्यास अभाव सिर्जना भयो । तर, उपभोक्तालाई देखाएर सरकारी निकाय, उद्योगी र विक्रेता आफ्नो कमजोरीबाट पन्छिन मिल्दैनन् । 

आयल निगमले आधा सिलिन्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो । तर, गएको असार ३१ देखि भरी सिलिन्डर (१४.२ केजी) ग्यास दिन थालेको निगमले १५ दिन नहुँदै बजारमा फेरि अभाव देखिएको छ । अहिले देशका धेरै स्थानमा ग्यास छैन । खासमा उद्योगी, विक्रेता र आयल निगमको कमजोरीले बजारमा ग्यास अभाव भएको हो । यी तीनै पक्ष नागरिकप्रति जवाफदेही नदेखिएको र आफ्नो व्यापार व्यवसायमा मात्र स्वार्थ हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ । निगमको ग्यास आयात तथ्यांक पनि शंकाको घेरामा छ । भारतले दिएको कोटाअनुसार ग्यास आयात हुने तर उपभोक्ताले नपाउने अवस्थालाई कसरी लिने ? बजारमा ग्यास अभाव देखिएपछि कतिपयले कृत्रिम अभाव पनि गरेको हुन सक्छ । यसमा सम्बद्ध निकाय संवेदनशील हुनै पर्छ । अनुगमन प्रभावकारी बनाउनुपर्छ ।

ग्यास दैनिक जीवनको अत्यावश्यक वस्तु हो । यस्तो अत्यावश्यक वस्तुको आपूर्तिमा हुने कमीले आम नागरिकको जनजीवन प्रत्यक्ष रूपमा प्रभावित हुन्छ । त्यसैले ग्यास सहज आपूर्तिका लागि सरकार, आपूर्तिकर्ता र उपभोक्ता सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आवश्यक छ । ग्यास अभाव समस्याको समाधानका लागि सरकारले ग्यासको पर्याप्त मौज्दात राख्ने, आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने र कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्छ । साथै, ग्यास उद्योग र वितरकहरूले पारदर्शी वितरण प्रणाली अपनाई उपभोक्ताको विश्वास कायम गर्न आवश्यक छ । उपभोक्ताले पनि अनावश्यक रूपमा ग्यास सञ्चय नगरी आवश्यकताअनुसार मात्र खरिद गर्ने बानी बसाल्नुपर्छ । ग्यासको नियमित र सहज उपलब्धताले नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै मुलुकको आर्थिक तथा सामाजिक स्थिरतामा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले ग्यास अभाव हुन नदिन सबै सरोकारवाला पक्षले समन्वय, जिम्मेवारी र इमानदारीका साथ काम गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update