Shittalpati
सुध्रिँदै पाल्पा अस्पतालको सेवा

पाल्पा, कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।

आकस्मिक कक्ष, ओपिडी, जनरल वार्ड, एक्स–रेलगायत कक्ष तथा शौचालयहरू सफा छन् । अस्पताल परिसरको सरसफाइमा पनि उत्तिकै ध्यान दिइएको छ । ओपिडीलगायत कक्षहरूमा चिकित्सक र स्वास्थ्यकर्मी नभेटिने अवस्थामा सुधार आएको छ ।  स्वास्थ्य बिमाका विरामीहरुको रेफर सेन्टरको रुपमा समेत आलोचना खेपेको अस्पतालको सेवामा अहिले धेरै नै सुधार हुँदै गएको हो । रेफर सेन्टर नभई उपचार सेन्टरको रुपमा अस्पतालले आफ्नो सेवा प्रवाह गरेको छ । पछिल्ला केही दिनयता अस्पतालको सेवामा सुधार हुँदै गएको अनुभव सेवाग्राहीले गरेका छन् । खासगरी, सरसफाइलगायत व्यवस्थापकीय पाटोमा देखिने गरी सुधार भएको छ । अव्यवस्थित वार्डहरू, जताततै फोहोर र दुर्गन्ध, पानीसमेत नहुने दुर्गन्धित शौचालयहरू अहिले तुलनात्मक रूपमा व्यवस्थित, सफा र चिटिक्क पारिएका छन् । व्यवस्थापकीय पक्ष मात्र होइन, अस्पतालको उपचार सेवामा पनि केही सुधार आएको सेवाग्राहीले महशुस गरेका छन् ।

बुवालाई लिएर जिल्ला अस्पताल पुगेका रैनादेवी छहराका दिनेश कार्कीले अस्पताल धेरै राम्रो भएको बताए । उनले बुवालाई पेटको समस्या देखिएपछि उपचारका लागि अस्पताल आइपुगेको जानकारी दिए । मंगलबार उपचारका लागि आएका रम्भाको ताहुँका लिला सारुले पहिलाभन्दा फरक पाए । उनको अनुभवमा पहिला अस्पतालको शौचालय जानै नसक्ने खालका थिए । ‘अहिले ट्वाइलेट जाँदा मुख थुन्नुपर्ने अवस्था रहेनछ,’ उनले भने । औषधि लिन टोकन लिएर पालो पाउने, बिरामी प्रतिक्षालय, पर्याप्त पानी, डाक्टरलाई कुर्नु नपर्ने, धेरै जसो औषधि पाउने लगायत थुपै कुरा व्यवस्थित भएको देखे । यद्यपि बिरामीको चाप बढी हुँदा पर्चा काट्न र उपचारका लागि लामो समय कुर्नुपर्ने बाध्यता भने कायमै रहेको उनको अनुभव छ । 

अस्पताल विकास समितिको अध्यक्ष गुराँस आत्रेयले अस्पतालको सेवालाई गुणस्तरीय र व्यवस्थित बनाउँदै लगिको बताए । उनले अस्पतालको सरसफाईदेखि औषधिको लागि रिफर लिनु नपर्ने बनाउनका लागि अस्पतालको फार्मेसीमा नियमित खाने औषधिको व्यवस्था गरिएको बताए । उनका अनुसार ९५ प्रतिशत औषधि अस्पतालले उपलब्ध गराउँदै आएको छ । विरामीहरुको सेवालाई मध्यनजर गरी अहिले विहान ८ बजेदेखि ओपिडी सेवा सञ्चालन गरिएको, पर्याप्त औषधि सहित फार्मेसी व्यवस्थापन गरिएको, ओपिडि व्यवस्थापन तथा डाक्टर थप गरिएको, ल्यावमा सेवा र जनशक्ति थप गरी प्रभावकारी डिजिटल रिपोर्ट उपलब्ध हुने गरेको अध्यक्ष आत्रेयले बताए । उनले भने ‘हामीले भर्ना दर बढाउन बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा, बीमा गरेका विरामीहरुलाई बीमाबाटै औषधिको व्यवस्था गरिएको छ भने गरिब, असहायलाई सामाजिक सेवा अन्तर्गत निःशुल्क औषधिको व्यवस्था गरेका छौं ।’ यस्तै अस्पतालले रेडियोलोजिष्ट लगायतका विशेषज्ञ सेवा थप, शौचालय निर्माण तथा व्यवस्थापन, बिरामी प्रतिक्षालय निर्माण तथा व्यवस्थापन, अक्सिजन प्लाण्ट सञ्चालन गरी त्यसबाट आम्दानी, उपकरण र कर्मचारी व्यवस्थापन, फोहोर व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरु समेत गरेको छ । स्तरिय भवन निर्माणका लागि जग्गाको खोजि भइरहेको अध्यक्ष आत्रेयले बताए । उनले भने स्वास्थ्य सेवालाई थप गुणस्तरी बनाउन हामीले भवन निर्माण, विशेषज्ञ डाक्टर थप, अप्रेसन कक्ष र स्तरीय ल्याब निर्माण, स्टाफको दुर्घटना बिमा, एम्बुलेन्स थप जस्ता योजना बनाएका छौं ।’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. विवेक भण्डारीले सेवा विस्तार गर्दै जाँदा विरामीको चाप अध्याधिक बढेको बताए । उनले मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि सरकारी अस्पतालमा विरामी बढेको समेत बताए । मेसु भण्डारीले भने ‘हामी कहाँ २ सयदेखि २ सय ५० विरामी हेर्न सकिने क्षमता भएपनि दैनिक ४ सय विरामी हेर्नु परेको छ ।’ अहिले अस्पतालका १५ बेड नै भरिएका छन् ।

अस्पतालमा पाल्पा लगायत गुल्मी, अर्घाखाँची, स्याङ्जा जिल्लाबाट समेत  विरामीहरु उपचारका लागि आउने गरेका छन् । दरबन्दी अनुसार ६० जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भएपनि हाल १६ जना मात्र छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरिएको छ । अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सको दरवन्दी भए पनि एक जना पनि छैनन् । ६ जना मेडिकल अधिकृतमा ३ जना र स्कलरसिपमा २ जना गरी ५ जना डाक्टर रहेका छन् । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा दिइरहेको छ । शल्यक्रिया, दन्तरोग, मानसिक रोग, फिजियो थेरापी, आँखा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update