Shittalpati
स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’

वालिङ, स्याङ्जाको वालिङमा नागरिकको स्वास्थ्य सवलताका लागि ‘नर्सिङ घरदैलो कार्यक्रम’ सञ्चालन गरिएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिका बीच सम्झौतापत्रमा हस्ताक्षर भई उक्त कार्यक्रम सञ्चालनमा आएको हो ।

प्राय नसर्ने रोगका कारण धेरै नागरिकले ज्यान गुमाउन बाध्य भएकाले स्वास्थ्य सम्बन्धी चेतना फैलाउन उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको नगरप्रमुख कृष्ण खाणले बताए । कार्यक्रममा खटिने स्वास्थ्यकर्मीले नागरिकलाई स्वास्थ्य जीवनशैलीको आचरण अवलम्बन गर्न सचेत गराउने उनले बताए । ‘नर्सिङ घरदैलो कार्यक्रममा खट्ने स्वास्थ्यकर्मीले नागरिकलाई मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायत रोगकाबारे जानकारी दिन्छन्’ नगरप्रमुख खाणले भने, ‘सरुवा रोगको प्रकोप, जोखिम तथा न्यूनिकरणका लागि पनि नर्सिङ घरदैलो कार्यक्रम प्रभावकारी हुनेमा हामी विस्वस्त छौँ ।’ सक्षमताका लागि स्वास्थ्य पहिलो आवश्यकता भएकाले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पहल थालिएको उनले बताए ।

यस कार्यक्रमले नसर्ने रोगको प्रतिकूल प्रभाव र न्यूनीकरणका लागि सहयोग गर्ने स्वास्थ्य सेवा विभागका वरिष्ठ अस्पताल नर्सिङ शाखा प्रमुख बाला राईले बताए । ‘नर्सिङ घरदैलो कार्यक्रम नर्सिङ जनशक्ति व्यवस्थापन तथा सञ्चालनका लागि नगरको सिङ्गो टिमको भूमिका र दायित्व महत्वपूर्ण हुन्छ’ उनले भने, ‘यस कार्यक्रमको उद्देश्य पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट निरन्तर प्रयास गर्नुपर्छ ।’ नगरका १४ वटै वडामा खटिने स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्य सम्बन्धी पूर्ण तथ्याड्ढ संकलन, स्वास्थ्य अवस्थालगायत विवरण संकलन गर्दै सचेतना फैलाउने गर्ने छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update