Shittalpati
पाल्पामा भानुभक्तको चर्चा

पाल्पा, पाल्पामा आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ । २१० औं भानुजयन्तीका अवसरमा पाल्पा साहित्य समाजद्वारा आयोजना गरिएको कवि गोष्ठीमा भानुभक्तको चर्चासँगै स्मरण गरिएको हो ।  

भानुभक्त र उनको योगदानलाई नयाँ पुस्ता समक्ष पुर्‍याउने लक्ष्यसहित समाजले तानसेनस्थित पद्यम पव्लिक नमूना माविमा कवि गोष्ठी गरेको थियो । नयाँ पुस्तासित भानुभक्तको जीवनी र रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचनावाचन कार्यक्रम गरिएको समाजका अध्यक्ष पुुष्कर अथक रेग्मीले बताए । ‘भानु बहुआयामिक व्यक्तित्व भएकाले भौगोलिक सीमाभन्दा बाहिर गएर भानु जयन्ती मनाउनुपर्छ’, उनले भने,‘कविता सिर्जना गर्ने सीप विद्यार्थीमा होस् भन्ने नै समाजको उद्देश्य हो र यसले साहित्यको प्रवद्र्धनमा समेत योगदान गर्ने हाम्रो विश्वास रहेको छ ।’ कार्यक्रममा जिल्लाका साहित्यकार, श्रष्टा विभिन्न विद्यालयका विद्यार्थीहरुले भानुभक्तलाई आ–आफ्नो रचनामार्फत योगदानको चर्चा गर्दै स्मरण गरेका थिए । इतिहासविद् निर्मल श्रेष्ठले महान् स्रष्टालाई स्मरण गरेर उनले भाषासाहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्न कवि गोष्ठी जस्ता कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले साहित्य समाजले समय सापेक्ष पृथक कार्यक्रम गर्दै आएकोमा भानुजयन्तीको कार्यक्रम पनि पृथक तरिकाले गरेकोमा समाजको प्रशंसा गरे ।

समाजका संरक्षक राजेन्द्र गोपाल सिंहले भाषा साहित्यको क्षेत्रमा भानुभक्तको योगदानलाई सबैले सम्झनुपर्ने बताए । उनले हरेक भानु जयन्तीका दिन सरकारले लेखक÷साहित्यकारहरुप्रति विशेष ध्यान दिइने भने पनि त्यो व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।  आदिकविको सम्मानका लागि सरकारले औपचारिकता बाहेक खासै केही गर्न नसक्नु देशका लागि दुर्भाग्य रहेको सिंहको भनाई थियो । उप प्राध्यापक प्रतिभा पौडेलले भानुभक्तको बारेमा संक्षेपमा प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा साहित्यकार  डा. शंकर गैरे, नारायण प्रसाद शर्मा र पपका प्रधानाध्यापक सन्तवीर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । गोष्ठीमा साहित्यकार/स्रष्टाहरु होमनाथ शर्मा, चन्द्रकला न्यौपाने, गणेश नेपाली, राधादेवी पाण्डे, इन्दिरा ज्ञवाली,जनकराज कँडेल,जनक भण्डारी, शंकर ढकाल, भावना खनाल, गोविन्द भट्टराई, धर्मचन्द्र नेपाल, गुणवती केसी, महेन्द्र पन्थी, सरस्वती भट्टराई, नारायण प्रसाद शर्मा, सन्तवीर बराल, अमर भाट, पुरूषोत्तम अर्याल, नारायणी शर्मा, रेकराज बस्याल, डा. शंकर गैरे, गोविन्द खनाल, युवराज पौड्याल, रोहितप्रसाद ज्ञवाली, चित्रवलीराम सुवाल, पुष्कर अथक रेग्मी, विद्यार्थीहरु आरती बस्याल,सुबिना बस्याल, केकी बस्याल, भूमिका बस्याल लगायतले कविता वाचन गरेका थिए ।

पद्यम पव्लिक नमूना माविका विद्यार्थीहरू सिर्जना कार्की, जानुमाया हिस्की, पाल्पा प्यारागन बोडिङ्गकी केकी बस्याल लगायतले भानुभक्त माथि वक्तृत्व प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूद्वारा रमाइलो नृत्य साहित्य पस्किएका थिए । उत्कृष्ट नृत्यहरू प्रस्तुत गरे वापत विद्यार्थीहरूलाई  समाजले नगद १ हजार पुरस्कार प्रदान गरेको थियो । समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, सदस्य इन्दिरा ज्ञवालीको स्वागत, सचिव सविता भट्टराईको सञ्चालनमा गोष्ठी भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update