Shittalpati
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको आन्तरिक स्रोत बलियो बनाउने दिशामा नगर सरकार लागि परेको बताएका छन् । उनले रकम अभावमा नगरमा पर्याप्त बजेट ल्याउन नसकिएको भन्दै अब आन्तरिक स्रोत वृद्धि गर्नमा लागिएको बताए । 

रामपुर–७ को नाम्ले खोलामा निर्माण सम्पन्न कल्भर्ट योजनाको उद्घाटन गर्दै नगर प्रमुख थापाले विकासका लागि बजेटको आवश्यकता पर्ने र त्यसका लागि पर्याप्त बजेट नहुँदा समस्या उत्पन्न भएकाले आगामी आर्थिक वर्षदेखि आन्तरिक स्रोत वृद्धि गर्ने कुरामा ध्यान दिने बताएका हुन् । उनले भने ‘नगरको विकासका लागि बजेटको आवश्कता पर्छ, अहिले बजेटको अभाव छ त्यसैले बजेटका लागि नगरको आन्तरिक आम्दानी बढाउनु पर्नेछ, त्यसमा हामी लाग्छौं ।’ जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उनले उल्लेख गरे । नगरपालिकाले राजश्व बृद्धिका कार्यक्रमलाई प्रभावकारिताका साथ सञ्चालन गरिने नगर प्रमुख थापाले बताए । राजश्व बृद्धिका लागि करको दर भन्दा पनि करको दायरा बढाउने रणनीति तय गरेको उनले बताए । अहिले बजेट बनाउने समयमा नगरवासीबाट बढी माग आए पनि संघ र प्रदेशबाटै बजेट काटिएर आएकाले बजेट अभावका कारण सबैको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको नगर प्रमुख थापाले बताए । 

कार्यक्रममा ७ का वडा अध्यक्ष दोवराज तिवारीले थोरै बजेटमा पनि समयमै योजना सम्पन्न गरेकोमा धन्यवाद दिंदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रस रामपुर नगरका सभापति नेत्र प्रसाद भट्टराईले नगरपालिकाले जनताको अत्यावश्यक कुरालाई मध्यनजर गरेर बजेट विनियाजन गरेकोमा धन्यवाद दिए । खोलामा कल्भर्ट निर्माण भएसंगै बर्षादको समयमा आवतजावत गर्न समस्या नहुने उनले बताए । नेकपा एमालेका प्रतिनिधि सुकदेव पोखरेलले कल्भर्ट निर्माणले यस क्षेत्रको जनतालाई राहत महशुस हुने भन्दै यसको संरक्षणमा ध्यान दिनु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा निर्माण समितिका अध्यक्ष यम प्रसाद भट्टराईले कल्भर्ट निर्माण सम्पन्न भएसँगै बर्षातको समयमा आवत जावतमा सहज हुने बाए । निर्माण समितिका अध्यक्ष यम प्रसाद भट्टराईको अध्यक्षता, सदस्य शिक्षा खनालको स्वागत र उमाकान्त भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update