Shittalpati
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको वाार्षिक नीति तथा बजेट निर्माणका लागि राय, सुझाव संकलन गरेको छ । नगर सरकारले विभिन्न तहका व्यक्तिहरुसँग बसेर छलफलसँगै राय, सुझाव संकलन गरेको हो ।

उसले बुधबार नगरका सल्लाहकारहरुसँग नीति तथा कार्यक्रम एवं योजनाका लागि सुझाव संकलन सहित छलफल गरेको छ । छलफलमा लुम्बिनी प्रदेशका सांसद राजुप्रसाद श्रेष्ठले बजेटमा सबै तह र क्षेत्रको समुदायलाई समेट्नु पर्ने बताए । उनले पहुँचको आधारमा बजेट विनियोजन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने मा जोड दिए । सांसद श्रेष्ठले भने ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारले योजना तथा बजेट निर्माण गर्दा पहुँचको आधारमा गर्नु उचित हुन्छ ।’ प्रदेश सरकारले अहिले कृषिलाई पहिलो प्राथमिकता दिएको भन्दै नगरले पनि यस पटकको बजेटमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मध्यनजर गरेर निर्माण गर्न उनले आग्रह गरे ।

रामपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नगर सल्लाहकार विष्णुदेवी घिमिरे आचार्यले जनताको आधाभूत आवश्यकतालाई मध्यनजर गरी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिइन् । साथै एक वडा एक गौरव योजना सञ्चालन कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरिन् । नगरपालिकाको कार्यालयमा भएको कार्यक्रममा नगर सल्लाहकार विष्णुमाया ढकालले आर्थिक विकासको कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भन्दै नगरको आन्तरिक आम्दानी बृद्धिका लागि स्रोतको पहिचान गर्न सुझाव दिइन् । सल्लाहकार देवराज ढकालले सबै जनताले रामपुर नगरपालिकाको विकासको अनुभूति गर्ने गरी काम गर्न अनुरोध गरे । उनले नगर र वडास्तरीय योजना छुट्याई सबैलाई समेट्ने गरी बजेट बनाउनु पर्ने बताए । यसैगरी सल्लाहकार नेत्रप्रसाद भट्टराईले तिनै तहका सरकार र जनप्रतिनिधि बिच समन्वयको अभावले कतिपय योजना दोहोरिने भन्दै कुनै राजनीतिक पूर्वाग्रह नराखी योजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनले सुशासनको पक्षलाई मजबुत बनाई आन्तरिक आय वृद्धिका लागि विशेष रणनितिका साथ अगाडि बढ्न आग्रह गरे ।कार्यक्रममा सल्लाहकार कमलराज भट्टराईले नगरको समुचित विकासका उनले ठूला योजना नगरबाट र साना योजना वडाबाट सञ्चालन गर्न आग्रह गरे । यस्तै सल्लाहकार कृष्णप्रसाद पौडेलले नगरको विकासका लागि आर्थिक पक्षसंगै सुशासनको पक्षलाई पनि ध्यान दिनु पर्ने बताए ।  नगर सल्लाहकार उमनाथ अर्यालले नगरको विकास र समृद्धिका लागि हरेक क्षेत्रमा विषयगत शाखाका विज्ञ राखेर काम गर्नुपर्ने बताए । 

    कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरवासीको आवश्यकताको आधारमा योजना नीति तथा कार्यक्रम तय गरिने धारणा व्यक्त गरे । उनले नदोहोरिने गरी बजेट तथा योजना निर्माण गरिने बताए । नगर प्रमुख थापाले सल्लाहकारहरुको सुझावलाई आगामी आर्थिक बर्षमा समेट्ने प्रतिवद्धता समेत व्यक्त गरे । नगर प्रवक्ता कपिलबहादुर खाँणले जनताको आवश्यकतालाई मध्यनजर गरी नगरको विकास र समृद्धिलाई ध्यानमा राखेर आगामी आर्थिक बर्षको योजना तय गरिने बताए । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले संघ र प्रदेशबाट नगरपालिकाका लागि विनियोजित बजेट र कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update