Shittalpati
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम 

पाल्पा, जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो । 

सचेतना कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले छुवाछुत रहित र कुरिति रहित समाज निर्माणका लागि मानिसको विचार परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले समाजमा हुने विभिन्न विभेदको अन्त्यको सुरुवात आफैबाट सुरु गर्नुपर्ने बताए । साथै दलित समुदायले आफु दलित भएको अनुभुति गर्नु भन्दा आफ्नो व्यवहारमा परिवर्तन गर्न आग्रह गरे । नगर प्रमुख थापाले विभेद हटाउनका लागि शिक्षा र सचेतनाको महत्वपूर्ण भुमिका हुने भन्दै शिक्षामा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञानबहादुर गाहाले कुरितिका कारण गाउँघरमा धेरै समस्या रहेको र सोही कारण विभिन्न घटना घट्ने गरेको बताए । छुवाछुत र कुरितिको अन्त्यका लागि शिक्षा र सचेतनाको आवश्यकता रहेको उनले बताए । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कुनै किसिमको जातिय वा लैंगिक विभेद सहन नहुने भन्दै समाजमा रहेका छुवाछुत तथा कुरिति विकृति विसंगति हटाउन सबै एक भएर लाग्नुपर्ने बताइन् । समाजमा व्याप्त छुवाछुत र कुरिति पहिले भन्दा धेरै कम हुँदै गएको भन्दै यसलाई निर्मुल गर्नुपर्ने उल्लेख गरिन् । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवी नेपालीले छुवाछुत र कुरितिको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताइन् । यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले समाजमा रहेका छुवाछुत र कुरितिको अवस्था, यसको समस्या, समाधानका उपाय, कानुनी उपचार लगायतका विषयमा सहजीकरण गरेका थिए । रामपुर नगरपालिका वडा ९ का अध्यक्ष डिलबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा रहेको थियो । नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार दानु हिस्की मगरले गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update