Shittalpati
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया

पाल्पा, रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरुबिच अन्तक्र्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरुबिच अन्तक्र्रिया भएको हो ।

नगरपालिकाले कृषि तथा पशु उद्यमी युवाहरुका लागि सञ्चालन गरेको युवा स्वरोजगार अन्तर्गतको व्याज अनुदान सम्बन्धी जानकारी दिन तथा आगामी नीति तथा कार्यक्रममा आवश्यक सुझाव लिनको लागि अन्तक्र्रिया गरेको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम रामपुर नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको जानकारी दिए । उनले युवाहरुलाई स्वदेश मै सफल उद्यमी बन्न आग्रह गर्दै नगरपालिकाले यस अघि ३० लाख सम्मको व्याज अनुदान दिदै आएकोमा आवश्यकता अनुसार परिमार्जन गर्दै अघि बढ्ने बताए । उनले स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजहरुको बजारिकरणमा पनि सहयोग गर्नका लागि नगरपालिका लागि परेको बताए ।

अन्तक्र्रियामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले निरन्तर रुपमा व्यासायिक रुपमा उद्यम गर्न अनुरोध गरिन् । कतिपय कृषकहरु व्याज अनुदान पाउँदासम्म  मात्रै कृषि तथा पशुपालन व्यवसाय गर्ने र त्यस पश्चात छाड्ने गरेको पाईएको भन्दै उनले व्यवसायलाई निरन्तरता दिई आर्थिक रुपमा आत्मनिर्भर बन्न आग्रह गरिन् । उनले व्यसायलाई निरन्तरता दिए सहयोग र अनुदानको कमी नहुने धारणा व्यक्त गरिन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले व्याज अनुदान कार्यक्रम नयाँ र नगरपालिकाको लागि उपलब्धिमूलक कार्यक्रम भएको उल्लेख गरे । उनले नगरपालिकाले आगामी दिनमा उत्पादकत्वको आधारमा कृषिलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । यस्तै रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले मापदण्ड पुरा गरेर कृषि तथा पशु उद्यम गरे व्याज अनुदान प्रदान गरिने भन्दै दिगो रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेले मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । साथै व्यवसायलाई निरन्तरता नदिए नगरपालिकाले चाहेको खण्डमा अनुदान फिर्ता पनि माग गर्न सक्ने चेतावनी दिए । उनले अनुदानका लागि आवश्यक मापदण्ड , अनुगमनको प्रक्रिया , कार्यक्रमको बर्तामान अवस्था र उपलब्धि लगाएत युवा स्वारोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम बारे जानकारी गराए । रामपुरमा भएको कार्यक्रममा सहभागी कृषकहरुले व्याज अनुदान नविकरण गर्नु पर्ने , ऋणको समयावधि बढाउने पर्ने , खेतबारी र गोठ सम्म पशु प्राविधिकको व्यवस्था गर्नु पर्ने , उत्पादनमा उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने , तालिमको व्यवस्था गर्नु पर्ने , दुधको गुणस्तर मापन र कायम गर्नु पर्ने लगाएतका माग राखेका छन् । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका अनुगमन समितिका संयोजक तथा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजना संयोजक सञ्जु परियारले गरेकी थिइन् । 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update