Shittalpati
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान

रामपुर, जिल्लाको रामपुरमा  भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।

रामपुर नगरपालिकाको आर्थिक सहयोग र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा नामक संस्थाको आयोजनामा सामुदायिक कुकुरहरुमा स्थायी बन्धयाकरण शिविर सञ्चालन भएको छ । दुुई दिनसम्म चलेको शिविर बुधबार सकिएको छ । जहाँ कुुकुरको बन्ध्याकरण तथा रेविज भ्याक्सिनेसनको सेवा दिइएको थियो । सामुदायिक कुकुरबाट पशु चौपायासँगै मानिसमा रेविज तथा अन्य प्राणघातक रोगको जोखिम बढ्न थालेपछि  यस्तो शिविर सञ्चालन गरिएको जनाइएको छ । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका अध्यक्ष  विपिन भण्डारीले बताए ।

नगर भित्र भुुस्याहा ककुर व्यवस्थापनको चुनौति बन्दै गएका बेला युवा संस्थाले देखाएको चासो र सक्रियता महत्वपूर्ण रहेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । घरपालुवा जनावर भए पनि भुस्याहा कुकुरको कारण नगरमा आतंक फैलिरहेको बताउँदै उनले कुकरबाट सर्न सक्ने क्यान्सरको जोखिम न्यूनिकरणको लागि शिविरले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।  नगर प्रमुख थापाले भने, ‘भुस्याहा कुकुरको संख्या वृद्धि हुँदै जाँदा कतिपय स्थानमा पशु चौपायासँगै मानिसलाई टोक्नुका साथै बालबालिकालाई लखेट्ने लगाएतका घटना हुँदै आएको छ । कुकुरबाट रेविजसँगै क्यान्सर रोग सर्ने सम्भावना भएकाले यसको न्यूनिकरण र कुकुरको संरक्षणसँगै संख्या नियन्त्रण गर्न स्थायी बन्ध्याकरण विकल्प बनेको छ ।’ ४ का वडा अध्यक्ष राम बहादुर रानाले कुकुर नियन्त्रणमा नगरले चालेको कदममा समुदायले देखाएको चासोप्रति आभार व्यक्त गरे । पशुचिकित्सक डाक्टर अविनाश क्षेत्रीले विश्वमा सन २०३० भित्र रेविज मुक्त गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा नेपालमा पनि प्रयास हुँदै आएको बताए । कुकुरबाट रेविज रोगसँगै गुप्ताङ्गको क्यान्सर सर्न सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको उनको भनाई छ । बन्ध्याकरण पश्चात कुकुरबाट रोग सर्न सक्ने सम्भावना न्यून हुनुका साथै कुकुर आक्रामक नहुने क्षेत्रीले बताए । रामपुर नगरपालिका पशु शाखा प्रमुख तुलसीराम काफ्लेले कुकुर आतंक नियन्त्रणको विकल्पमा शिविर सञ्चालन गरिएको बताए । शिविरमा ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिएको छ । संस्थाका अध्यक्ष विपिन भण्डारीको अध्यक्षता, पशु प्राविधिक कमल आचार्यको स्वागत, नगरपालिका पशुशाखा प्रमुख तुलसीराम काफ्लेको सञ्चालनमा शिविर भएको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update