Shittalpati
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव

पाल्पा, तानसेनको भविष्य पर्यटनसँग जोडिएकोले पर्यटकीय पूर्वाधार निर्माणमा नीति, कार्यक्रम बनाई बजेट विनियोजन गर्न पाल्पाली पत्रकारहरुले सुझाव दिएका छन् । तानसेनमा प्रशस्त मात्रामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरु रहेकोले ती सम्पदाहरुलाई पूर्वाधारको माध्यमबाट व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले एक सुत्रिय रुपमा पर्यटन क्षेत्रमा लगानी गर्न पत्रकारहरुले सुझाव दिए । 

पाल्पा  दरवार अग्रेजी सेनालाई हराएका कर्णेल उजिरसिंह थापाद्वारा पुनर्निर्माण गरिएको भगवती मन्दिर, रिडी रुरु क्षेत्रको ऋषिकेशव मन्दिर, रानीमहल, श्रीनगर, कालीगण्डकी क्षेत्र लगायत प्रशस्त मात्रामा पर्यटकीय क्षेत्रहरुमा व्यस्थित गरेर काम गर्नुपर्नेमा पत्रकारहरुले सुझाव दिएका छन् । पत्रकारहरुले स–साना योजना नभई आमरुपमा धेरै जनताको चासो, सराकारवाल मुद्दाहरुमा प्राथमिकता दिनुपर्ने, हप्ता–हप्तामा आउने खानेपानीको धारालाई कम्तीमा दुई दिन बिराएर वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने, पुराना अपूरा आयोजना पूरा गर्नुपर्ने, सेनटरी ल्याण्डफिल साईटको मापदण्ड अनुसार पुनः ल्याण्डफिल साईट सञ्चालन गर्नुपर्ने नीति तथा कार्यक्रममा समावेश गर्न सुझाव दिएका छन् । 

आन्तरिक आम्दानी बढाउन श्रीनगर, रानीमहल जस्तै अन्य योजना तथा कार्यक्रमहरु पनि नगरपालिका स्वयम्ले सञ्चालन गर्नुपर्ने, घरभाडा, पसल तथा होटल कोठाहरुको मापदण्ड बनाएर दररेट निर्धारण गर्नुपर्ने, पाल्पाली ढाका करुवा पसल, व्यापारी तथा उद्योगीहरुलाई पर्यटन प्रवद्र्धनको विषयमा सचेतना जगाउनु पर्ने, हरेका एतिहासिक, धार्मिक तथा पुरातातित्वक महत्वका स्थानमा डिजिटल प्रविधिमा  आधारीत परिचयको व्यवस्था गर्नुपर्ने, नगरका हरेका स्थानहरुमा विश्राम स्थलहरु निर्माण गुर्नपर्ने सुझाव पत्रकाहरुले दिए । कृषि तथा पशुमा फार्म भन्दा पनि उत्पादनमा  आधारित प्रोत्साहन रकम दिनुपर्ने, कृषि पशुपालन, पर्यटन क्षेत्रमा, स्वरोजगारदेखि रोजगारहरुको संख्या बढाउनुपर्ने, तानसेनको पहिचान स्थापित हुने गरी नीति, कार्यक्रमहरु आउनुपर्ने सुझाव पत्रकारहरुले दिएका छन् । तानसेन नगरपालिकाले सोमबार आगामी वर्षको नीति तथा कार्यक्रमको लागि 
जिल्लाका पत्रकारहरुसंग सुझाव संकलन गरेको छ । 

चुनावको समयमा जे–जस्तो भएपनि विकास निर्माण तथा योजनामा राजनीति नगर्न, टुक्रे योजना तथा विभिन्न कसिमका तालिमहरु जस्ता कार्यक्रमहरु हटाई, जनताको प्रत्यक्ष आम्दानी हुने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा पत्रकारहरुले जोड दिए । सुझाव संकलनको कार्यक्रम तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पत्रकारहरुबाट आएका सुझावहरु नस्ति तथा कार्यक्रममा समावेश गरिने बताए । पर्यटन, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्यमा केन्द्रित गरेर बजेट नीति कार्यक्रम आउने नगर प्रमुख श्रेष्ठले बताए । म अहिले घरपरिवार सबै बिर्सेर आगामी ४ वर्ष भित्र आहा तानसेन बनाउने अभियानामा लागेको नगर प्रमुख श्रेष्ठले पत्रकार सामु उद्घोष गरे ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्याल, पत्रकार महासंघका पूर्व अध्यक्ष भगवान भण्डारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका सदस्य किरण कौशल, प्रेस सेन्टर पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवाली, स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष भोजराज भट्टराई, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल, भुवन रायमाझी लगायतले टुक्रे योजना भन्दा तानसेनको पर्यटनको लागि बजेट केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले पूँजीगत खर्चको लागि ३७ करोड ७२ लाखको बजेट सिलिङ रहेको आन्तरिक आम्दानी ८ करोड ५० लाखको लक्ष्य राखिएको जानकारी दिए । नगर प्रमुख सन्तोषलाल श्रेष्ठको सभापतित्वमा भएको सुझाव संकलन कार्यक्रम उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागत र प्रेस सल्लाहकार मुक्ति न्यौपानेको सञ्चालनमा भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update