Shittalpati
गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण

गुल्मी, नेपाली काँग्रेस गुल्मीले स्थानीय जनप्रतिनिधिहरुलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।   

गणतन्त्र दिवस २०८० र गुल्मीका सहिद शम्शेर बहादुर खत्रीको पुण्यस्मृति पारेर काँग्रेसले प्रशिक्षण दिएको काँग्रेस गुुल्मीले जनाएको छ । जनप्रतिनिधीले जनमुखी बजेट निर्माण तथा कार्यान्वयन र नागरिकलाई आवश्यक विकास पुरागर्ने काममा प्रत्यक्ष सहयोग कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले स्थानीयतहका पालिकाअध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुलाई प्रशिक्षण दिइएको पार्टी प्रवक्ता उदयबहादुर थापाले जानकारी दिए ।

 कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले स्थानीय जनप्रतिनिधीहरुले  सहिदहरुको योगदानलाई साक्षी राखेर जनउपयोगी र जनताका आवश्यकतालाई कार्यान्वयन गर्न सकिने खालको बजेट निर्माण गर्नुपर्ने बताए । रेसुगंगा नगरपालिकाका प्रमुख समेत रहेका पन्थीले बजेटले समाजमा हुने विकास निर्माणका कार्यमा समावेशिताको अवस्थालाई मुल्यांकन गर्ने जिम्मेवारी बहन गर्नुपर्ने, नागरिकका हरेक समस्याको पहिचान र समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए । 

जिल्ला समन्वय समितिका प्रमुख द्रोणवहादुर खत्रीले नयाँ बजेट निर्माण गर्दाको अवस्था, भूगोलको अवस्था र आवश्यकतालाई पहिचान गरेर आफ्नो कार्यकालमा भएका विकासका कामहरु के कति प्रगति भए भन्ने विषयमा जवाफदेहीता हुने गरी बजेट निर्माण कार्यलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

 नेपाली काँग्रेस गुल्मीका उपसभापति शिवबहादुर खत्रीले स्थानीय सरकारमा निर्वाचित भएका जनप्रतिनिधीले स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला जनतामाझ गरेका प्रतिवद्धताहरु पुरा गर्नेतर्फ लाग्नु पर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सहजकर्ता नेपाली काँग्रेस गुल्मीका सचिव तथा ईस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले स्थानीयतहको बजेट निर्माण गर्दा उत्पादनलाई जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले भने‘प्रशिक्षणले तल्लोतहदेखि माथिल्लो तहसम्मका जनप्रतिनिधी र पार्टीबीचको समन्वय गरेर जनताका काम गर्ने र सुशासनलाई कार्यान्वयन गर्ने कार्यमा सहयोगी बन्ने छ ।’

       सहजकर्ता काँग्रेस गुल्मीका अर्का सचिव जगदीश भट्टराईले जनताले जनप्रतिनिधीका काम कारवाही र बजेटका हरेक कोणलाई नजिकबाट नियाली रहेको अवस्थाप्रति गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गरे । महासमिति सदस्य तथा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले स्थानीय सरकारबाट जनताले धेरै कुराको आशा गरेकाले सोही अनुसार काम गर्नु जनप्रतिनिधिको दायित्व रहेको उल्लेख गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update