Shittalpati
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, ठूला सवारीसाधन अलपत्र

पाल्पा, सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ्ग–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानीको धेरैनीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । वर्षासँगै सडकको तल्लो भाग कटान हुनुका साथै राजमार्गको करिब आधा भाग भासिएपछि आज बिहानैदेखि यातायात सेवा प्रभावित बनेको हो ।

स्थानीय शिशिर भट्टराईका अनुसार सडक भासिएपछि राजमार्गमा आवागमन जोखिमपूर्ण बनेको छ । सडक अवरुद्ध हुँदा स्याङ्जा र पोखराबाट बुटवलतर्फ तथा बुटवलबाट पोखरातर्फ जाने ठूला सवारीसाधन बाटोमै रोकिएका छन् ।

मोटरसाइकल तथा साना सवारीसाधनलाई भने जोखिमको अवस्था हेरेर सावधानीपूर्वक आवतजावत गर्न दिइएको छ । तर सडकको तल्लो भागबाट जग निकाल्न सम्भव नभएकाले माथिल्लो भागसमेत कटान नगरी ठूला सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था नरहेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताए । उनका अनुसार सडकको भासिएको भाग व्यवस्थापन नगरेसम्म ठूला सवारीसाधन सञ्चालनमा समस्या रहनेछ । वर्षाका कारण थप क्षति हुन सक्ने भएकाले यात्रुलाई पनि उक्त सडकखण्डमा आवतजावत गर्दा सावधानी अपनाउनुपर्ने अवस्था छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update