Shittalpati
मुस्कुराउन सिकाऔं

शुक्रबार विश्व मुस्कान दिवस मनाइएका छ ।  सामान्यतः अक्टोबर महिनाको पहिलो शुक्रबार यो दिवस मनाउने गरिन्छ । खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक समस्याको समाधान गर्न सकिन्छ । मानिस हाँस्दा सबै मांशपेशी सक्रिय हुन्छन् । रक्तसञ्चार पनि राम्रो हुने गर्छ । यसले मानिसको शरीरमा पर्याप्त मात्रामा अक्सिजन पुग्ने गर्छ । जुन शरीरलाई स्वस्थ राख्नमा सहयोग पुग्दछ ।

मुस्कानका लागि धन, समय वा विशेष अवसर आवश्यक पर्दैन । तर आजको व्यस्त, प्रतिस्पर्धात्मक र तनावपूर्ण जीवनशैलीमा मानिसहरू मुस्कुराउनै बिर्सिंदै गएका छन् । चिन्ता, निराशा, असन्तुष्टि र आपसी अविश्वासले हाम्रो दैनिक जीवनलाई बोझिलो बनाइरहेको छ । यस्तो अवस्थामा हामीले आफैं मुस्कुराउन र अरूलाई पनि मुस्कुराउन सिकाउन आवश्यक छ । मुस्कान केवल ओठको भाव होइन, यो सकारात्मक सोच र आत्मीयताको अभिव्यक्ति पनि हो । अपरिचित व्यक्तिलाई दिएको एउटा आत्मीय मुस्कानले सम्बन्धको सुरुवात गर्न सक्छ । दुःखी व्यक्तिप्रति देखाइएको मुस्कानले उसलाई आफू एक्लो छैन भन्ने अनुभूति दिलाउन सक्छ । परिवारमा, विद्यालयमा, कार्यस्थलमा वा सार्वजनिक जीवनमा आत्मीय मुस्कानले वातावरणलाई सहज र सौहार्दपूर्ण बनाउन ठूलो भूमिका खेल्छ  । तर मुस्कुराउनु भनेको समस्यालाई लुकाउनु वा पीडालाई अस्वीकार गर्नु होइन । जीवनमा दुःख, असफलता र कठिनाइ आउँछन् नै ।

त्यस्ता परिस्थितिमा पनि आशा कायम राख्नु, अरूको पीडा बुझ्नु र कठिन समयसँग सकारात्मक ढङ्गले जुध्नु नै वास्तविक मुस्कान हो । जब हामी अरूको दुःखलाई बुझेर सहयोगको हात बढाउँछौं, त्यहाँबाट साँचो खुसी जन्मिन्छ । आज समाजमा बढिरहेको असहिष्णुता र दूरी कम गर्न पनि मुस्कान एउटा सरल माध्यम बन्न सक्छ । हामीले अरूलाई सम्मानपूर्वक बोल्ने, सानो सहयोग गर्ने, धन्यवाद दिने, गल्तीमा क्षमा माग्ने र क्षमा गर्न सक्ने संस्कार विकास गर्नुपर्छ । यस्ता साना व्यवहारले मानिसबीच विश्वास र आत्मीयता बढाउँछन्  ।  तसर्थ आजदेखि नै एउटा संकल्प गरौं—आफू पनि मुस्कुराऔं, अरूलाई पनि मुस्कुराउन सिकाऔं ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update