Shittalpati
२५ वर्षको यात्रामा मणिमुकुन्द सहकारी : बचतदेखि सामाजिक सुरक्षासम्म

पाल्पा, कुनै सहकारीको सफलताको कथा केवल त्यसले कति रुपैयाँ बचत गर्‍यो वा कति ऋण लगानी ग¥यो भन्ने अंकमा मात्र सीमित हुँदैन । त्यससँग जोडिएका सदस्यका आवश्यकता, संकटका बेला पाएको साथ, सानो बचतबाट बनेका ठूला सपना र संस्थाप्रतिको विश्वासले पनि सहकारीको यात्रा मापन गर्छ । यही यात्राको २५ वर्ष पूरा गरेको छ तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्था लिमिटेडले । 

संस्थाले आफ्नो २५ औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै विगतका उपलब्धि, वित्तीय अवस्था, सदस्यलाई प्रदान गर्दै आएका सेवा तथा आगामी योजनाबारे समीक्षा गरेको छ । साधारणसभामा सहभागी वक्ताहरूले संस्थाले तानसेनको सहकारी क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे भने सहकारी क्षेत्रका चुनौतीबारे पनि धारणा राखे । साधारणसभामा सहभागी वक्ताहरूले संस्थाले लामो समयदेखि सहकारी क्षेत्रमा पु¥याउँदै आएको योगदान, सदस्यकेन्द्रित सेवा तथा आर्थिक गतिविधिको चर्चा गरे । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरभित्रका सहकारी संस्थाको अवस्थाबारे धारणा राख्दै बचतकर्ताको रकम जोखिममा पर्ने वा सहकारी भागेर जाने अवस्था नरहेको बताए । उनले तानसेनका सहकारी संस्थामा बचतकर्ताले आफूलाई आवश्यक परेको समयमा बचत रकम झिक्न सक्ने अवस्था रहेको उल्लेख गरे । सहकारीमा देखिएको दोहोरो सदस्यताको समस्या हटाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले मणिमुकुन्द सहकारीलाई तानसेन नगरपालिकाभित्रको उत्कृष्ट सहकारी संस्थाका रूपमा चर्चा गरे । जिल्ला सहकारी संस्थाका अध्यक्ष भुपती पाण्डेले सहकारीमा रहेको दोहोरो सदस्यताका कारण ऋण असुलीमा समस्या सिर्जना भएको बताए । उनका अनुसार एउटै व्यक्ति विभिन्न सहकारीमा सदस्य भएर ऋण लिने अवस्थाले सहकारीको ऋण व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । ठूला तथा प्रभावशाली व्यक्तिले समेत समयमा सहकारीको ऋण नतिर्ने अवस्था देखिएको उल्लेख गर्दै पाण्डेले तानसेन नगरपालिकालाई सहकारीको अनुगमन प्रभावकारी बनाउन र दोहोरो सदस्यता हटाउन कडाइ गर्न आग्रह गरे । साधारणसभामा संस्थाका सल्लाहकार तथा संस्थापक अध्यक्ष हेमन्तराज शाक्य, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी तथा आनन्द बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोजलाल शाक्यलगायतले संस्थाले गरेका कामको चर्चा गरे ।

साधारणसभामा संस्थाका अध्यक्ष मधुदयाल सैजुले तीन वर्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।  अध्यक्ष सैजुले आर्थिर्क बर्ष २०८२/०८३ मा शेयर पुँजी ३ करोड ९ लाख ४३ हजार ४ सय, आर्थिक बर्ष २०८१/०८२ मा ३ करोड १३ लाख ६३ हजार २ सय, आर्थिर्क बर्ष २०८०÷०८१ मा ३ करोड १३ लाख ७० हजार ८ सय रुपैयाँ, संस्थाको बचततर्फ आर्थिर्क बर्ष २०८२/०८३ मा, ३६ करोड ५७ लाख ७४ हजार ७ सय २ रुपैयाँ,  आर्थिर्क बर्ष २०८१/०८२ मा ३९ करोड ३ लाख ५९ हजार ३ सय ६५ रुपैयाँ,  आर्थिर्क बर्ष २०८०/०८१ मा ४२ करोड ९२ लाख १६ हजार ४ सय ३३ रुपैयाँ रहेको साधारणसभामा जानकारी दिए । आर्थिक बर्ष २०८२/०८३ मा १५ करोड ७४ लाख १६ हजार ५ सय ८७, आर्थिक बर्ष  २०८१/०८२ मा २५ करोड २९ लाख २३ हजार २ सय २५, आर्थिक बर्ष २०८०/०८१ मा २१ लाख ८३ लाख ४४ हजार ५ सय १७ रुपैया ऋण लगानी गरेको अध्यक्ष सैजुले बताए । यसैगरी गत बर्षको आ.वि.मा ५६ लाख ३९ हजार ३४ रुपैयाँ, आ.व. ८१, ८२ मा २५ लाख ७० हजार ७ सय ३१ रुपैया,  र आ.व. ०८०, ८१ मा ४५ लाख ६८ हजार ९ सय ३१ रुपैया खर्च कटाएर नाफा आर्जन गरेको अध्यक्ष सैजुले बताए ।
 

घरदैलोदेखि दुर्घटना बीमासम्म
मणिमुकुन्दको गतिविधि वित्तीय कारोबारमा मात्र सीमित छैन् । संस्थाले सदस्यको जीवनसँग जोडिएका सामाजिक सुरक्षाका कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको जनाएको छ । सचिव संजयराज शाक्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले वर्षभरि गरेका गतिविधिबारे जानकारी दिए । उनका अनुसार सदस्यको मृत्यु भएमा क्रियाखर्च, दुर्घटनामा बीमा, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्जा सदुपयोगिताका आधारमा सम्मान र ज्येष्ठ सदस्य सम्मानजस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन् । गत वर्ष संस्थाले रजत जयन्तीको अवसरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरेको सचिव शाक्यले बताए । संस्थाले नियमित घरदैलो बचत सेवा, मुद्दती निक्षेप, घर निर्माण ऋण, कृषि ऋण तथा व्यापार ऋणलगायतका सेवा दिँदै आएको व्यवस्थापक लक्ष्मी शाक्यले जानकारी दिइन् । सदस्यका लागि दुर्घटना बीमा, सुत्केरी खर्च तथा क्रियाखर्चको सुविधासमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । संस्थाका अनुसार शेयर सदस्य स्वर्गीय देवप्रसाद बज्राचार्य, स्वर्गीय देवेन्द्र लाल शाक्य, स्वर्गीय रुक्मणि अमात्य र स्वर्गीय हेलुमाया बज्राचार्यका परिवारलाई क्रियाखर्च तथा शेयर सदस्य प्रभा ठाडा र रसु महर्जनलाई सुत्केरी खर्च प्रदान गरिएको छ । साधारणसभामा कोषाध्यक्ष ज्ञानु कार्कीले  विभिन्न शिर्षक अन्र्तगत रहेर गत बर्षको लक्ष्य, प्रगती, यस बर्षको लक्ष्य जानकारी दिईन । उनले गत बर्षको अनुमानित आम्दानी, ४ करोड ४० लाख ९६ हजार ५ सय रुपैया, आषाढ मसान्त सम्मको आम्दानी २ करोड ९६ लाख ३० हजार २५ रुपैया र आगामी बर्षको आम्दानी ३ करोड ११ लाख ५८ हजार बराबरको शिर्षकहरु जानकारी गराएकी थिईन ।  संस्थाका अध्यक्ष मधुदयाल सैजुको अध्यक्षता, उपाध्यक्ष शुसिल प्रधानको धन्यवाद ज्ञापन र सचिव संजयराज शाक्यको सञ्चालनमा साधारण सभा भएको थियो । साधारणसभामा ७५ बर्ष उमेर माथीका जेष्ठ सदस्यहरुको सम्मान, उत्कृष्ट बचत र ऋणीलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update