Shittalpati
गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं

हाम्रा संवाददाता
गुल्मी, मौरी अनुशासित र कर्मशिल प्राणी हो । धेरै दुःख गर्न नपर्ने र धेरै ठाँउ पनि नचाहिने व्यवसाय मौरी पालन व्यवसाय हो । मौरीको संरक्षण गर्न मात्रै सकेमा यो व्यवसायबाट किसानको मुहार फेरिन सक्छ । पछिल्लो समय गुल्मी मुसिकोटका किसानहरु मौरीपालनमा आकर्षित हुँदै गएका छन् । थोरै धेरै मौरी पालनमा किसान जुटेका छन् । तर यसलाई व्यवसायीकरण गर्न भने सकिरहेका छैन ।

इमान्दार र लगनशिलतामा निर्भर रहने मौरीपालक किसानहरुले उत्पादन गरेको मह व्यावसायीकरण हुन नसकिरहेका बेला गुल्मी मुसिकोट नगरपालिका –८ र ९ का किसानहरुले भने व्यावसयीकरण गर्ने योजना बनाएका छन् । ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’मा आवद्ध यहाँका कृषकहरुले मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने गरी योजना अगाडि सारेका छन् । उनीहरुले सो योजना अन्तर्गत आज मह दिवस मनाउँदै छन् । उनीहरुले ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागेका हुन् । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । यहाँ विगत तीन वर्षदेखि मौरीपालक किसान समूहमा आवद्ध रहेर व्यवसाय गरिरहेका छन् । मौरी स्मार्टमा हाल ५१ किसान संगठित छन् । उनीहरुले वार्षिक २ सय ५० घार मौरी, मौरी बिनाका दुई सय घार र महको व्यापक मात्रामा निर्यात गर्दै आइरहेका छन् ।

मौरी स्मार्टले पहिलो वर्षलाई आधार वर्षको रूपमा लिएको र सो अन्तर्गत संठित किसान, मौरी पालन र महको बजारीकरणलाई आधार बनाइएको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’का अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए । उनका अनुसार दोस्रो वर्ष वृद्धि वर्षको रूपमा मौरी पालन बढाइएको थियो । तेस्रो वर्ष अहिले मह दिवस मनाउन थालिएको र आगामी वर्ष निर्यात वर्षको रूपमा रहने अध्यक्ष घर्तीको भनाई छ । ‘मौरीको व्यवसायीकरण, प्रवद्र्धन र निर्यात सहजताका लागि दिवस मनाउन लागिएको हो’ उनले भने, ‘मह दिवसले मौरीपालन गर्न थप आकर्षित गर्नेछ ।’ मह दिवसले गुल्मी जिल्लाका किसानलाई मौरी पाल्नका लागि आकर्षित गर्नुका साथै महमा आत्मनिर्भर बन्न प्रेरित गर्ने धेरैले विश्वास लिएका छन् । उत्पादन भएको महको बजारीकरण सहजै भएमा किसानलाई सहजता हुने अपेक्षा राखिएको छ । अहिले मुसिकोट नगरपालिकाले किसानका कृषि तथा पशु उपज आफैले खरिद गरिरहेको छ । यसले गर्दा मौरीपालक किसान मह विक्री वितरण नहुने चिन्ताबाट मुक्त भएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update