Shittalpati
तानसेनमा खानेपानी नआएपछि धर्नामा उपभोक्ता

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा पानी नआएपछि उनीहरु आन्दोलित भएका हुन् । उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि बुधबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । टोल –टोलबाट स्थानीय उपभोक्ताहरु तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् । उनीहरुले खानेपानीको सहज व्यवस्था गर्न माग गर्दै धर्ना बसेका हुन् ।

एक हप्तासम्म पनि आफुहरुको माग सम्बोधन नभए कडा रुपमा आन्दोलनमा जाने धर्नामा बसेका तानसेन बसपार्कका उपभोक्ता दिनेश गन्दर्भले बताए । पटक–पटक खानेपानी उपभोक्ता समितिलाई गुनासो गर्दा समेत तानसेनवासीले दुई हप्तादेखि खानेपानीबाट बञ्चित भएपछि बाध्य भएर आन्दोलन स्वरुप धर्नामा बस्नु परेको उनको भनाई छ ।

समितिको लापरवाहीका कारण बर्षौदेखि तानसेनवासीले खानेपानीको समस्या झेल्नुुपरेको,पटक–पटक गुनासो गर्दा समेत समितिको कार्यालयबाट सनुवाई नभएको, कार्यालयबाट गर्न सकिने काम समेत जिम्मेवारी पूर्वक नभएको, सामान्य काममा समेत कार्यालयबाट ध्यान नदिएकाले बाध्य भएर आफुहरु धर्नामा बसेको अर्काका उपभोक्ता राजेन्द्र अधिकारीले बताए ।

घरमा दुई हप्ताभन्दा बढी हुँदा समेत खानेपानी नआउँदा समस्यामा परेको स्थानीय उपभोक्ता मिना पाण्डेले बताइन् । कार्यालयमा पुुगेर धर्नामा बसेकी उनले खानेपानी वितरणमा कर्मचारीको समेत लापरवाही भएको बताइन् । उनले आक्रोसित हुँदै भनिन् ‘खाली धारा मात्र किन ? पानी नदिने भए हामी धारा बुझाउँछौ, स्वच्छ खानेपानी पिउने नागरिकको मौलिक अधिकार हो तर उपभोक्ता समिति र स्थानीय सरकारले अधिकार कुण्ठित गरे ।’ धारामा पानी नआएपछि घण्टौं टाढाबाट बोकेर खानुपरेको अर्को उपभोक्ता शर्मिला थापाले बताईन् ।

हरेक वर्ष तानसेनका उपभोक्ताहरुले खानेपानी अनियमितताको समस्या भोग्दै आएका छन् । उपभोक्ता समितिले खानेपानी वितरण प्राणलीलाई व्यस्थित गर्न नसक्दा यहाँका उपभोक्ताहरु पटक–पटक आन्दोलित हुँदै आएका छन् । २५ साउन २०७७ मा कैलाशनगरको बतासेडाँडा क्षेत्रमा ३ हप्तासम्म खानेपानी नआएपछि स्थानीय उपभोक्ता तथा नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई धर्ना बसेका थिए । लामो समयसम्म कैलाशनगरको बतासेडाँडा क्षेत्रका घरमा पानी नआएपछि प्रतिनिधिमूलक रुपमा पत्रकार भट्टराई तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्ना बसेका हुन । उपभोक्ता समितिले समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि भट्टराईले धर्ना स्थगित गरेका थिए । तर पनि उपभोक्ता समिति अझै पनि उपभोक्ताप्रति जिम्मेवार बन्न सकेको छैन ।

दुई वर्षअघि खानेपानी नआएपछि नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई धर्नामा ।

 

उपभोक्ताहरुले खानेपानी समस्याको दीर्घकालिन समधान खोज्न खानेपानी उपभोक्ता समितिलाई आग्रह समेत गरेका छन् । तर समितिले भने विजुुलीको समस्या देखाउँदै उम्कने गरेको छ । समितिका कोषाध्यक्ष भिमसेन कार्कीले विजुलीको नियमित आपूर्ति नहुदा खानेपानीमा समस्या देखिएको बताए । उनले शितलपाटी डटकमसँगको कुराकानीमा नियमित पानी आपूर्तिका लागि ३८० देखि ४०० भोल्ट विजुली आवश्यक पर्ने भए पनि ३४०–५० भोल्ट मात्र विजुुली आपूर्ति भइरहेकोले केही समय पानी आपूर्तिमा समस्या भएको कार्कीले स्वीकार गरे । उनले यस वर्ष प्राप्त बर्षा नभएका कारण पानीका स्रोतमा समेत पानीको मात्र कम भएकाले पानी वितरणमा समस्या उत्पन्न भएको बताए । कार्कीले भने ‘ तानसेनमा हरेक वर्ष उपभोक्ताको संख्या बढ्दै गएको छ, पानीका स्रोतहरु घट्दै गएका छन्, जसले गर्दा समानुपातिक पानी वितरण गर्न नकिएको हो ।’

वितरण प्रणाली परम्परागत हुँदा पनि अहिलेको अवस्था सिर्जना भएको उनको भनाई छ । कालीगण्डकीको पानी वितरण नहुँदासम्म तानसेनमा खानेपानी सहज हुन नसक्ने कोषाध्यक्ष कार्कीले बताए । उनले भने‘ कालीगण्डकीको पानी ल्याउन पहिलो चरणको काम सकिएको र दोस्रो चरणको काम भइरहेकाले २/३ महिना भित्रमा पानी नियमित हुने छ ।’ अहिले तानसेनमा विजुली नियमित भएमा २ दिन विराएर सहजै पानी वितरण गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे । तत्कालका लागि विद्युुत कार्यालयसँग समन्वय गरेर समस्या समाधान गर्ने बाटोमा आफुहरु लागेको कार्कीले बताए । उनले केही कर्मचारीहरुको लापरवाहीका कारण समेत पानी वितरणमा समस्या भएको स्वीकार गरे ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update