Shittalpati
पाल्पामा दुर्घटनाबाट मृत्यु हुनेको संख्या घट्यो : पाँच महिनामा ११ जनाको मृत्य

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा सवारी साधन दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । ट्राफिक सचेतना अभिवृद्धिका कारण सवारी दुर्घटना घट्दै गएपछि अघिल्लो वर्षको तुलनामा मृत्यु हुनेहरुको संख्या तुलनात्मक रुपमा कमी आएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा ४५ जनाले सडक दुर्घटनामा परी ज्यान गुमाए भने १ सय ४२ जना घाईते भएका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७५÷०७६ मा सवारी दुर्घटनाका कारण ४० जनाले ज्यान गुमाए भने १ सय २३ जना घाईते भएका छन् । सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या गत वर्षको तुलनामा ५ जनाले कमीले आएको हो । जिल्ला ट्राफिक कार्यालयले ट्राफिक सचेतनाका कार्यक्रमसँगै नियम उलङ्घन गर्ने चालकलाई कारवाही गरेसँगै दुर्घटनामा कमी आएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याड्ढ अनुसार चालु आवको मंसिर मसान्त सम्ममा ११ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको छ । यो पाँच महिनाको समयमा ३३ जना घाईते भएका छन् । जिल्लामा सवारी दुर्घटनाका कारणमध्ये चालकको लापरबाही र सडकको दुरवस्था मुख्य हुन् ।

त्यसपछि तीव्र गति, ‘ओभरटेक’, सवारीसाधन ठीक अवस्थामा नहुने, लामो रुटमा एउटै चालकले निरन्तर गाडी हाँक्ने, ‘ओभरलोड’ र मादक पदार्थ सेवन लगायत कारणले गर्दा पनि दुर्घटना हुने गरेको पाइन्छ । जिल्ला ट्राफिक कार्यालयले भने दुर्घटनाका कारणहरुलाई पहिचान गरी सचेतना र परामर्शका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । चालकको लापरवाहीका कारण दुर्घटना बढ्दै गएपछि चालकहरुलाई समय–समयमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्दै आएको ट्राफिक कार्यालयका प्रमुख पृथ्वीकुमार काफ्लेले बताए । उनले भने ‘चालक सचेतना कार्यक्रमले दुर्घटनामा कमी ल्याएको हो ।’ जिल्लाका विभिन्न स्थानमा पर्चा, पोष्टर, सवारी चालकलाई सचेतीकरण, अन्तक्र्रिया तथा पर्चा पोष्टर वितरणले अघिल्लो वर्षको तुलनामा दुर्घटनामा कमी आएको ट्राफिक प्रमुख काफ्लेले बताए ।

जिल्लाका अधिकांश साँघुरा, खाल्डा सडकमा सवारी जोगाउन चालकले कोसिस गर्दा अर्को सवारीको ठक्करबाट दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटना न्यूनीकरणका लागि केही दिन अघि ट्राफिक कार्यालयले सडक पेटीबाट हिँडौँ, पेटी नभएको ठाउँमा सडकको दाहिने किनाराबाट हिँडौँ, सार्वजनिक यातायातमा यात्रा गर्दा आरक्षित सिटमा तोकिएको व्यक्तिलाई प्राथमिकता दिऔँ भन्ने जनचेतना फैलाउँदै सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम समेत गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update