Shittalpati
‘मनु’को गजल चालिसा

पुष्कर अथक रेग्मी

सधैँ कथा भयो धने
डुली कता गयो धने
कता गयो कता झर्‍यो
व्यथा बनी रयो धने
युगौं बिते कुरी–कुरी
फिर्‍यो कैले न यो धने
कठै दशा परो बरै
कता–कता छ यो धने
जिए कि मरेछ खै
भुलूं कसै म यो धने

यस्तै–यस्तै चालीसवटा मौलिक गजल लिएर ‘गजल चालिसा’ मार्फत मनबहादुर खत्री ‘मनु’ गजलकारको रुपमा उपस्थित भएका छन् । लुम्बिनी प्रदेश, गुल्मी जिल्ला इस्मा गाउँपालिका मैनडाँडा निवासी पिता गोविन्द भक्त पौड्याल (प्रभु) र माता प्रेमकुमारी खत्री को सुपुत्र मनबहादुर खत्री ‘मनु’को जन्म वि.सं. २०३९ असार ३१ गते भएको हो । अंग्रेजी भाषामा एम.एड. उत्तीर्ण गरी शिक्षण र प्राध्यापन पेशामा संलग्न ‘मनु’को रुचिको विषय साहित्य तथा संगीत हो । नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, सिद्धबाबा माध्यमिक विद्यालय तम्घासका आजीवन सदस्य, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गुल्मीका संस्थापक कोषाध्यक्ष समेत रहेका ‘मनु’का गीत, गजल र फुटकर रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । गजलकार ‘मनु’द्वारा लिखित किरण पुस्तकालय तम्घास गुल्मीद्वारा प्रकाशित गजल संग्रह ‘गजल चालिसा’ (२०७७) हो । अग्र र पच्छ भाग रंगीन कलेवरमा सजिएको संग्रहको भित्री पृष्ठ ४०ं२४.६४ रहेको छ । मूल्य रु. एकसय रहेको कृति स्व. हजूरबुवा र स्व.हजूरआमाप्रति श्रद्धा समर्पण गरिएको छ । साहित्यकार दीन पन्थीको शुभेच्छाका शब्दहरु, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंहको विशेष शुभकामना, पुष्कर अथक रेग्मीको शुभकामना, खत्री कमलको शुभकामना र रामप्रसाद पन्थीको भूमिका रहेको संग्रहको प्रकाशकीय सुमन्तव्य अग्रज साहित्यकार शशी पन्थीको रहेको छ ।

सातौँ शताब्दीका अरबी सायर ‘इमरउल कैस जया ए जाहिलिया’ पहिलो गजलकार हुन् । तेह्रौँ शताब्दीमा अमिर खुसरोले हिन्दी भाषा साहित्यमा गजलको प्रवेश गराए भने बीसौँ शताब्दीमा आएर वि.सं. १९४० तिर मोतीराम भट्टले नेपाली भाषा साहित्यमा गजललाई प्रवेश गराएका थिए । गुल्मी जिल्लामा गजलको प्रवेश कहिले भयो ? गुल्मीका पहिलो गजलकार को थिए ? गुल्मेली गजलकारद्वारा प्रकाशित पहिलो गजल कृति कुन हो ? त्यसको खोजीनीति र लेखाजोखा गुल्मेली साहित्यकारहरुले पक्कैनै गर्नुभएकै होला । युवा सर्जक अनुसार मनबहादुर खत्री ले गजल कृति ‘गजल चालिसा’ प्रकाशित गरी नेपाली गजल साहित्यको जनसंख्यामा आफूलाई पनि गुल्मी जिल्लाबाट पर्दापण गराएका छन् । यसका लागि गजलकार ‘मनु’ विशेष धन्यवादका पात्र रहेका छन् । संग्रहभित्र रहेका चालीसवटा गजललाई भाव सन्देश अनुसार निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

१.श्रृङ्गारिक गजल : माया लाएर (१) याद आएर तिम्रो (२) भेट भयो संघारमा (५) सुन्तली (१४) चोर्‍यो दिल (२१) स्वर्गकी परी (२३) लुकीलुकी (२४) माया (२५) इच्छा (२७) तिमीसँगको पल (२८) स्वर्गसम्म लानी भयौ (३५) सर्दै गयौ (३७) जवानीको भाउ छैन (३९) सिमसिम पानी (४०) शीर्षकका गजलहरु श्रृङ्गारिकताबाट उठान गरिएका प्रेमिल शिष्ट र श्लील रहेका छन् । माया, प्रेम, यौवन, रहर, धोका, शंका, समर्थन जस्ता स्त्री पुरुषका स्वभाव र यथार्थतालाई गजल मार्फत उजागार गरिएको छ ।
२. सामाजिक गजल : प्रिय (३) नबोल प्रिय(४) विदेश पसे म (९) धौ लाग्यो (१३) खै के दिन्छ जीवन (१५) मैनडाँडाको पीपल (२२) कसरी बिर्सनु (३०) सपना (३२) धने (३६) शीर्षकका गजलहरु सामाजिक गजल हुन् । यी गजलहरु सामाजिकीकरणको नमूनाको रुपमा उपस्थित भएका छन् । सामाजिक विभेद, तेरो मेरो भन्ने भेदभाव, समता र समानताका मागहरु, स्वर्णिम भविष्यको परिकल्पना जस्ता सन्देशहरु उद्घोष भएका छन् ।
३. सुसूचित गजल : राहत (६) कोरोना (८) व्यापार (१८) के अर्थ (३१) मोबाइल फोन (३८) शीर्षकका गजलहरु सुसूचित सन्देशात्मक रहेका छन् । यी गजलहरुमा कतै यथार्थता छन् त कतै सन्देशहरु छन् । कतै व्यंग्यात्मक अभिव्यक्तिहरु छन् त कतै आशावादी किरणहरु पनि झल्किएका छन् । गजलले ‘बाँचौ र बचाऔँ’ भन्ने सन्देश दिएको छ ।
४. जीवनमूखी गजल : जीन्दगी प्यारो छ (७) काइदाको अतित : एक (१६) काइदाको अतित : दुई (१७) सहज हुँदैन (२९) शीर्षकका गजलहरु जीवनमूखी गजलको रुपमा संग्रहित रहेका छन् । वर्तमान विश्वमा मानवतावादी चिन्तनहरु नासिदै र मासिदै गएको परिप्रेक्ष्यमा ‘मनु’ ले गजल मार्फत सम्पूर्ण मानवहरुलाई मानवीय मूल्य र मान्यता सहितको मानव भएर जिउन आग्रह गरेका छन् । व्यक्ति, घर, परिवार, समाज, राष्ट्र, अन्तराष्ट्र सबैलाई जीवनोपयोगी भएर बाँच्न र बचाउन अनुरोध गरेका छन् । अतितको अनुशासन र आचारसंहिता भित्रनै वर्तमानले भविष्य निर्माण गर्न सक्ने सुक्ष्म सन्देश दिएका छन् ।
५. राष्ट्रवादी गजल : ठूला आत्मा मर्छन यहाँ (१२) नेपाल आमा जन्माउ सपूत (२६) कहाँ छ (३३) शीर्षकका गजलहरु राष्ट्रवादी सोंचमा केन्द्रित रहेका छन् । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेता पनि आर्थिक, सामाजिक, राजनैतिक, बौद्धिक दरिद्रताको चपेटामा राष्ट्र फस्दै गइरहेको छ । शिक्षा, स्वास्थ्य, सूचना, यातायात विकास हर क्षेत्रमा विकृति र विसंगतीहरु बढ्दो छ । फुटेर होइन जुटेर नै काम गर्नुपर्छ । सहमति सहकार्य र एकताद्वारा नै राष्ट्रिय हित हुने कुराको उठान गरेका छन् । ‘गजल चालिसा’ मार्फत ‘मनु’ ले नेपाल आमालाई सच्चा सपूत जन्माउन आÞवान गरेका छन् ।
६. कारुणिक गजल : नारी (१०) हे आमा (१९) आगो (२०) आमाको पुकार (३४) शीर्षकका गजलहरु कारुणिक गजलहरु हुन् । यी गजलहरुमा नारी चेतना र वात्सल्यता जागृत भएका छन् । नारीको सम्मान गर्न र सन्ततिहरुलाई कर्तव्य गर्न सिकाइएको छ । नारी हुने सहनशिलता र कारुणिकताको वर्णन गरिएको छ । माया, ममता र विश्वास समर्पणले नै संसार चलेको स्वीकार
गरिएको छ ।
‘मनु’का गजलहरुको सूक्ष्म भावहरु खोतल्दै जाँदा प्रकृति प्रेम, विद्रोह, क्रान्ति, शान्ति, समृद्धिमुलक एवं आध्यात्मिक चिन्तनका सन्देशहरु पाइन्छन् । करीव दुई वर्षको अन्तरालमै गजल साहित्यप्रति झुकाव राख्दै सिर्जना गरिएका ‘मनु’ का गजलहरु समसामयिक र यथार्थपरक रहेका छन् । स्वछ्रन्दतावादी धारमा बहेकका यी गजलहरुमा स्थानीय भाषा शब्द शिल्पीलाई टपक्कै टिपेर राखिएको छ । पनाहा, निस्दी, छल्दी, बडिगाड लगायतका नदिनाला, रुरु, रेसुङ्गा, कङ्के, देउराली, अर्जुन लेक जस्ता सम्पदाहरुको स्मृति गरिएको छ । कोदो रोपेको, पौडी खेलेको, रोपाई गरेको, ऐसेलु चुत्रो खाएको, गुच्छा खेलेको, स्कूलमा धाएको, पिटाई खाएको जस्ता सत्य तथ्य अतितहरुलाई सम्झिएको छ । अतितले सत्यम्, शिवम् र सुन्दरम्को वाणी नै दिएका छन् ।

छोटा समय सीमा भित्र नै गजल कृति प्रकाशन गर्नु, गजल संरचनाको मर्महरुलाई मर्न नदिनु लोकलयलाई प्रशय दिई गजल लेख्नु, समसामयिकता भित्र भूत, वर्तमान र भविष्यलाई समाविष्ट गरी गजल सिर्जना गर्नु गजलकार ‘मनु’ का वैशिष्ट्य गुणहरु हुन् । सामान्यतया न्यूनतम तीन शेरका गजलले पनि मान्यता प्राप्त गरिसकेको अवस्थामा गालिबले एउटै गजल पन्ध्र सय शेरसम्मको लेखेका छन् । तर सबैभन्दा उत्तम पाँच शेरसम्मको गजललाई मानिन्छ । ‘गजल चालिसा’ भित्र ‘मनु’ का तीनवटा गजल (१६, १७ र २२) बाहेक बाँकी गजलहरु पाँच शेरमै संरक्षित रहेकोले उत्तम गजल शेरको रुपमा प्रस्तुत भएका छन् । ‘मनु’ को सबल पक्ष भनेको उनले गजलको मूल धारलाई छाडेका छैनन् । सुन्तली (१४), काइदाको अतित (१६, १७) इच्छा (२७) सपना (३२) धने (३६) सिमसिम पानी (४०) शीर्षकका गजलहरु यस संग्रहभित्रका उत्कृष्ट गजलहरु हुन् । कम्प्यूटर सेटि·मा अलिअलि ध्यान दिइएको भए अझ सुन्दर सम्पादन हुने थियो । प्रत्येक गजलको अन्त्यमा सर्जकले गजल सिर्जना मिति उल्लेख गरिदिएको भए घटनाक्रम काल परिस्थिति सदावहार रुपमा बुझ्न बुझाउन सकिने थियो । समग्रमा भन्नुपर्दा ‘गजल चालिसा’ मननीय, महनीय, उदाहरणीय र संग्रहणीय रहेको छ । पूर्ण, आंशिक, मिलित र एकाक्षरी काफिया सहित रदिफसँग सशक्त गेयात्मक सम्बन्ध स्थापित भएका र मकतामा तखल्लुस सहित चोटिलो प्रहार गरिएका अझ सशक्त, रोचक र घोंचक गजल संरचनाहरु सहितका बहरवद्ध एवं गैरवहरवद्ध गजल सिर्जनामा ‘मनु’ लाई सफलता मिलोस् । गजल सिर्जनाहरु सुक्ष्म र विशिष्ट हुँदै जाओस् र आगामी साहित्यिक यात्रा अझै गजलमयी बनिरहोस् । सम्पूर्ण शुभकामना !

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update