Shittalpati
तानसेनमा व्यवस्थित खुला मैदानको अभाव

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको सदरमुकाम तानसेन बजारमा खुला मैदानको अभाव रहेको छ । यहाँ व्यस्थित मैदान छैनन् भने भएको एक मात्र टुँडिखेल मैदान पनि मर्मत सम्भारको क्रममा रहेको छ । यहाँ पर्याप्त खुला मैदान नहुँदा खेलकुदका गतिविधिदेखि मेला महोत्सव हुन सकेका छैनन् भने भए पनि बाहिर गएर गर्नुपर्ने बाध्यता रहेको छ ।

नगरको बजार क्षेत्रमा खुला मैदानको अभाव हुँदा पाल्पा उद्योग वाणिज्य संघले गर्दै आएको व्यापार मेला विगत ४ वर्षदेखि हुन सकेको छैन भने पाल्पा व्यापार संघले २०७६ मा मदनपोखराको दमकडा खेल मैदानमा पहिलो पाल्पा व्यापार महोत्सव गर्नुपर्‍योे । त्यसपछि मैदान अभावमा संघले कुनै महोत्सव गर्न सकेको छैन् । विगतमा टुँडिखेल मैदानमा हुँदै आएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समेत यस वर्ष माथागढी गाउँपालिका–३ को सराई खेल मैदानमा गर्नुपर्‍यो । टुँडिखेल स्तरउन्नतीको काम गरिएपछि पनि मेला, महोत्सव र खेलकुद गतिविधी गर्न मिल्ने अवस्था भने देखिदैन । खेलकुद मैदानको अभावमा जिल्लास्तरीय रुपमा हुने फुटवल तथा क्रिकेट प्रतियोगिता पनि ठप्प रहेको छ ।
तानसेन नगरपालिकाले बजार क्षेत्र भित्र सार्वजनिक जग्गाको व्यवस्था गर्न नसक्दा खेलकुद तथा मेला महोत्सवका गतिविधी प्रभावित बन्दै गएका हुन् । खेलकुद गतिविधीदेखि मेला महोत्सव, सभा सम्मेलन नहुँदा तानसेनको आर्थिक गतिविधीमा समेत प्रभाव परेको छ । बजार क्षेत्रमा मात्र सञ्चालनमा रहेका दर्जनौं स्तरीय होटलहरु मानिसको चहल पहल नहुँदा सुनसान बन्दै गएका छन् । तानसेन बतासेडाँडाको सार्वजनिक जग्गा समेत स्तरउन्नती नगरी प्रयोग गर्न मिल्दैन ।

तानसेन बजार क्षेत्रमा खुला मैदानको अभावमा पाल्पा उद्योग वाणिज्य संघले आयोजना गर्ने पाल्पा व्यापार महोत्सव २०८० प्रभावित भएको छ । बजार क्षेत्रमा खुला स्थानको अभाव भएपछि संघले तानसेन नगरपालिका–७ को बाँसटारीमा महोत्सव गर्ने तयारी गरेको छ । संघको अघिल्लो कार्यकालका पदाधिकारीले मैदानकै अभावमा तानसेनमा व्यापार मेला गर्न सकेनन् । बजार भन्दा बाहिर गएर गर्दा स्टलहरुको बुकिङ कम आउने, दर्शकहरुको उपस्थिति न्यून हुने भएपछि चार वर्षसम्म तानसेनमा व्यापार मेला हुन सकेन् । तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बजारको कोर एरियामा सार्वजनिक जग्गा नभएकाले ठूला स्तरको मैदान निर्माण गर्न नसकिएको बताए । आगामी बैशाखदेखि स्तरउन्नती हँुदै गरेको टँुडिखेलमा सबै किसिमका खेलकुद गतिविधी गर्न सकिने तर मेला महोत्सव भने टुँडिखेल बाहेक अन्य स्थानमा गर्नुपर्ने नगर प्रमुख श्रेष्ठले बताए । मेला महोत्सवका लागि श्रीनगर, बताँसेडाँडा, प्रभास वंश गोपाल क्षेत्र, दमकडा, सेतीपोखरी, बन्दिपोखरा क्षेत्रमा गर्न सकिने नगर प्रमुख श्रेष्ठले बताए । तानसेन बजारमा आर्थिक चलायमानका गतिविधी कम हुँदै गएपनि पछिल्लो समय व्यापार व्यवसायमा कमी आएको छ । व्यवसायीहरु तानसेन छोडेर अन्यत्र स्थानान्तरण भएका छन् ।

तानसेन नगरपालिकाले केही जोखिम उठाएर भएपनि गोर्खेकोट र बतासेडाँडा र निर्माणाधिन अवस्थामा रहेको बनदेवी बसपार्क क्षेत्रमा मेला महोत्सव गर्न सकिने गरी मैदान निर्माण गर्न सकिने अवस्था रहे पनि चासो नदिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । तानसेन बजारलाई चलायमान बनाउन विभिन्न किसिमका पूर्वाधारहरुको निर्माणदेखि नीतिगत सुधार गर्नुपर्ने आवश्यकता नगरवासीले गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update