Shittalpati
सन्दीपले लिए पहिलो खेलमै विकेट

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच विकेटले हराएको हो । सन्दीपले आफ्नो टोलीबाट सबैभन्दा किफायती बलिङ गरे । सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चेर एक विकेट लिएका थिए । नवौँ ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा आठ रन दिए । त्यसपछि ११औं ओभरमा सन्दीपले तीन रन मात्रै खर्चे । यस्तै खेलको १३औं ओभरमा उनले आठ रन दिए ।

सन्दीपले १५औं ओभरको दोस्रो बलमा विकट लिए । २१ बलमा २५ रन बनाएर खेलिरहेका सेन्ट लुसियाका नाजिबुल्लाह जाड्रनको विकेट लिएका थिए । उनले चौथो ओभरमा मात्र चार रन खर्चे । ट्रीनिडाड एन्ड टोबेगोमा जमैकाको कप्तानी रोभमन पावेलले तथा सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गरेका थिए । जमैकाले टस जितेर फिल्डिङ राजेको थियो । सेन्ट लुसियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनायो । एक सय ५९ को विजय लक्ष्यका साथ जमैकाले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । अब सन्दीपको टोली जमैकाले शनिबार ट्रिबागो नाइट राइटर्ससित दोस्रो खेल खेल्नेछ । उक्त खेल बिहान सवा तीन बजे सुरु हुनेछ । -रासस

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update