Shittalpati
रानाको दोस्रो प्रदेश सांसद यात्रा

रामचन्द्र रायमाझी

पाल्पा, नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वीरबहादुर राना पाल्पा निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभा सदस्यमा विजयी भएका छन् । राना अत्याधिक मतका साथ प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले सार्वजनिक गरेको मत परिणामअनुसार रानाले १६ हजार ३९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत ल्याए । प्राप्त मत परिणामअनुसार रानाले २ हजार ७५ मतान्तरमा विजयी भएका हुन् । मन्त्री रानाले सुरुदेखि नै अग्रता लिइहेका थिए । प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् । यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ ।

रानाको प्रदेश सांसद यात्रा

२०२२ साल जेठ १५ गते पाल्पाको बगनासकाली गाउँपालिका खानीगाउँमा बुवा टिकाराम राना र आमा गोमती रानाको गर्भबाट जन्मेका रानाको यो दोस्रो सांसद यात्रा हो । उनी यसअघि समानुपातिक र अहिले प्रत्यक्षबाट निर्वाचित सांसद बनेका छन् । २०७४ को प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित भएपछि उनी पहिलो पटक लुम्बिनी प्रदेशमा उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री भएका हुन् । पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै कूल प्रसाद केसी नेतृत्वको गठबन्धन सरकारबाट मन्त्री बनेका हुन् ।

२०४५ देखि राजनीतिक यात्रा सुरु गरेका राना तरुणदलदेखि नेपाली काँग्रेसको क्षेत्रिय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पार्टी जिल्ला सह–सचिव हुँदै जिल्ला सभापति भएका थिए । राना नेपाली काँग्रेसको १२ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति र १३ औं महाधिवेशनमा सर्वसहमत रुपमा पुनः पार्टी सभापति भएका थिए । २०७० सालको आमनिर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी बनेका राना तत्कालिन एमालेका सोमप्रसाद पाण्डेयसँग झिनो मतको अन्तरले पराजित भएका थिए । २०७४ को निर्वाचनमा भने उनी लुम्बिनी प्रदेशमा समानुपातिक तर्फबाट उम्मेदवारी दिई सांसद बनेका हुन् । सांसदको भूमिकामा रहेदेखि नै पाल्पा र पाल्पावासीको समृद्धी र विकासमा अहोरात्र खटेका राना अहिले भारी मतले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

अबको यात्रा

राना उम्मेदवार बन्नुअघि देखि नै प्रदेशको मुख्यमन्त्री बन्ने चर्चा चलेको हो । उनी प्रदेश सांसद होस् वा मन्त्री हुँदा नै प्रदेशको विकास र समृद्धिका लागि सक्रिय रुपमा लागेका कारण पनि उनलाई धेरैले अबको मुख्यमन्त्रीका रुपमा देख्न चाहेका छन् । यसकारण पनि उनको विजयीको सुरुवात मुख्य मन्त्री बन्ने संकेतका रुपमा धैरेले लिएका छन् । उनी आफू पनि अबको मुख्यमन्त्रीका लागि प्रमुख दावेदार हुन् । रानाले विगतदेखि नै पाल्पालाई समृद्धि र उज्यालो बनाउने अठोट लिदै आएका छन् । मन्त्री बनेको छोटो समयमै उनले पाल्पा र समग्र प्रदेशको विकासमा उल्लेखीय काम गरेका छन् । यसका कारण पनि उनी मुख्यमन्त्रीको दावी गर्दै आएका छन् । रानाले विजयी भएसँगै सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update