Shittalpati
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद

हाम्रा संवाददाता
पाल्पा,  मन्त्री फेरबदलको विषयलाई लिएर नेकपा एस (एकीकृत समाजवादी) मा विवाद बढेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो ।

सरकारमा हाल भएका चार जना मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेरबदलको विषयमा पार्टीले निर्णय परिपक्व नगरेको भन्दै त्यसको विरोध गरेका छन् । उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गरेका छन् ।

एसको सचिवालय बैंठकले पार्टीका मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि यसको विरोधमा १० सांसद एक ठाउँ उभिएका हुन् । उनीहरुले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरे आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत दिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने, पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा समेत ठेस पु¥याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गर्नु कदापि ठीक नहुने, स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरित पटक–पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो नरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित रहेको समेत उनीहरुले बताएका छन् । पार्टीले महिलाको सहभागिता नभएको, गैह्र सांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको भन्दै असहमति प्रकट गरेका छन् । मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्नुपर्ने उनीहरुको माग छ । अहिले नेकपा एसले राज्यमन्त्री रहेका भवानी खापुङलाई मन्त्रीबाट बढुवा गर्न सिफारिस गरेको छ । अन्य चार जना मन्त्रीलाई भने हटाएर नयाँ पठाउन लागेको छ । एउटै जिल्लाबाट दुई जनालाई मन्त्रीमा सिफारिस गरिएकोमा पनि असन्तुष्टहरुको आपत्ति छ । उनीहरुले पार्टीबाट मन्त्री भएकाहरु कसैलाई राख्ने र कसैलाई हटाउने कदम अनुचित भएको पनि बताएका छन् । मन्त्री फेर्ने कुराले पार्टीभित्रको विवाद चुलिदै गए पनि अध्यक्ष नेपालले भने शनिबारसम्म मन्त्री फेरबदल गर्ने अठानमै छन् । पार्टी स्रोतका अनुसार आज साँझसम्म नयाँ मन्त्री आउने छन् । पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले भने ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै राजीनामा दिने जानकारी गराएका हुन् । एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update