पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएका छन् । तानसेनमा भएको प्रथम जिल्ला अधिवेशनले भण्डारीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
भण्डारी यसअघिको तदर्थ समितिमा समेत सभापतिको जिम्मेवारी मै थिए । सभापतिको लागि सुमन गैरे र भण्डारीबिच बेलुकी अबेरसम्मै रस्साकस्सी भए पनि अन्ततः सहमतिमा नेतृत्व चयन भएको हो । पार्टीको उपसभापतिमा सोमप्रसाद (सुमन) गैरे निर्विरोध भएका छन् । उनी पनि यस अघिको उपसभापति थिए । यस्तै सचिवमा चार जना आकांक्षीबीच रामपुरका हरिप्रसाद न्यौपाने, सहसचिव दिलीप घिमिरे निर्विरोध भएका छन् । त्यस्तै, कोषाध्यक्ष आगामी दिनमा जिल्ला समितिले आवश्यक निर्णय गरी मनोनयन गर्ने भएको छ । सदस्यहरुमा दुर्गाकुमारी अर्याल, अविता नेपाली, दिपेन्द्र गाहा, प्रेम राना, ईश्वरी पोखरेल निर्विरोध भएका छन् ।


