Shittalpati
दिगो विकासको मार्ग चित्रमा ‘बगनासकाली’

झपेन्द्र गहिरे
पाल्पाका १० वटा स्थानीय तह मध्ये बगनासकाली गाउँपालिका पनि एक हो । ऐतिहासिक सांस्कृतिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले यो पालिका अत्यन्त उर्वर सम्भावना बोकेको क्षेत्र हो । साविकको चिर्तुङधारा, पोखराथोक, नायर, खानीछाप, दर्लमडाँडा , यम्घा, वराङ्दी, खानीगाउँ, चापपानी जस्ता ऐतिहासिक र सामाजिक पहिचान बोकेका गाउँहरु मिलेर बनेको विविधताको एउटा संगमका रुपमा यो पालिकालाई लिने गरिन्छ । नेपालमा संघीय स्वरुपसँगै अस्तित्वमा आएको झण्डै एक दशक पुग्न थालिसकेको यो पालिका चर्चित बगनासकाली देवी र पाल्पाका सेरोफेरोमा बग्ने पवित्र नदी कालीगण्डकीको नामलाई आत्मसात गर्दै बगनासकाली गाउँपालिका बन्न पुगेको हो । तर पनि यस अवधिमा जनताले अपेक्षा गरेका आर्थिक, आत्मनिर्भरता, सु–शासनको पक्षमा महशुस हुने गरी धेरै काम गर्न बाँकी छ । जे जति भएका छन् तिनलाई सकारात्मक रुपमै लिन सकिन्छ ।

सिंहदरवारका अधिकार गाउँमा आउनु सुखद भए पनि स्पष्ट दृष्टिकोण दीर्घकालिन गुरुयोजना र योजनावद्ध कार्यान्वयनका अभावमा अझै पनि हाम्रो विकासका प्रयासहरु सतही खुद्रे योजनामै सिमित बन्न पुगेका छन् । जिल्ला सदरमुकाम तानसेनसँग सिमाना जोडिएको र सिद्धार्थ राजमार्गको पहुँचमा सामिप्यता रहेको यो पालिकाले आफ्नो भौगोलिक र जनसांख्यिक सामर्थतालाई सही रुपमा पहिचान गर्ने हो भने लुम्बिनी प्रदेशकै नमुना गाउँपालिका बन्न सक्ने देखिन्छ । यि सबै कुरालाई वाचडग्को रुपमा सञ्चार क्षेत्रको पनि उत्तिकै भूमिका रहेको छ । बगनासकाली गाउँपालिकाको आर्थिक मेरुदण्ड र स्थानीय रोजगारीको सबैभन्दा ठूलो श्रोत कृषि र पशुपालन हो । तर हामीले हाम्रा किसानहरूलाई परम्परागत र निर्वाहमुखी बनाउनबाट बाहिर लैजान सकिएको छैन् । जहाँ माडीफाँट  दार्पुकफाँट लगाएतका प्रचुर सम्भावना बोकेका फाट उर्वर भुमी र घना वनजङ्गल रहेका छन् । त्यसलाई प्रयोग गरेर मनग्य आम्दानी भित्र्याउने योजना र संकल्प हामी सँग छैन् । त्यसैले होला युवा पुस्ता गाउँमा रहने अवस्था छैन् बसाई सराईले गाउँ शुन्य बन्न पुगेको छ । बाध्य भएर रोजगारीका लागि विदेशिनु आवश्यकता सँगै बाध्यता बनेको छ । त्यसले कृषिमा पशुपालन र कुटिर उद्योगमा राम्रो अनुदान दिएर युवा पुस्तामा आकर्षण जगाउनु स्थानीय प्रदेश र केन्द्र सरकार समेतको दायित्व बनि सकेको छ । हरेक ठाउँमा रहेका सम्भावना अध्ययन गरी त्यसको पकेट क्षेत्र बनाएर जान सकिए केही हदसम्म यो समस्याबाट मुक्ति पाउन सकिएला अन्यथा झन् भन्दा झन् विकराल अवस्था नआउला भन्न सकिदैन । समग्रमा भन्नु पर्दा अर्गानिक खेती, उन्नत पशुपालन, कफी, सुन्तला, टिमुर र हावापानी सुहाउँदा फलफूलसँगै औषधिजन्य वनस्पतीको खेती गर्ने दीर्घकालिन सोच र योजना लिएर आवश्यक अनुदान सस्तो र सर्वसुलभ ऋण प्रवाह गरी अगाडि बढ्नु समयको माग बनिसकेको छ ।

पछिल्लो समय खेती गर्न थालिएका एभोगाडो, किवी, ड्रागन फ्रुट लगाएतका आर्थिक स्रोतका रुपमा लिइने हुनाले यस खेतीतर्फ पनि पालिका सरकारले विशेष जोड दिनु पर्ने देखिन्छ । अर्को आम्दानीको स्रोत भनेको नदी र नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुङ्गाको उचित व्यवस्थापन पनि यस पालिकाको  आम्दानीको स्रोत हो भन्न सकिन्छ । यसै पालिका भित्र रहेका धार्मिक मठ, मन्दिर, कला, संस्कृति र नगरसँग सिमाना जोडिएका पर्यटकीय पूर्वाधारको सदुपयोग र सम्बद्र्धनबाट पनि यस पालिकाको विकासको राम्रो संभावना देखिन्छ । आवश्यक स्थानमा पिकनिकस्थल, स्वीमिङ्ग पुल पनि खोलिनु भोलिको लागि बगनासकाली सरकारको आम्दानीको स्रोत बन्न सक्ने देखिन्छ । पर्याप्त मात्रामा रहेका वनजङ्गलमा जडीबुटी खेती पनि भरपर्दो आम्दानीको रुपमा लिन सकिन्छ । समग्रमा भन्नु पर्दा विज्ञ सहितको टोलीबाट समग्र  गाउँपालिकाको विकास गर्न सकिने आधार स्तम्भको खोजी गर्नु उचित हुने देखिन्छ । एउटा पालिका वासीको हिसाबले पनि नमुनाको रुपमा र अन्य पालिकाले अनुसरण गर्ने पालिका बनाउनु पर्ने आसय व्यक्त गर्न चाहन्छु । नयाँ–नयाँ खोज, प्रयोग र व्यवहारले यो पालिका समुन्नत बन्न समय लाग्ने छैन । सायद यो परिवेशमा यहाँ स्थापित  बगनाशकाली पत्रकार समूहको भूमिका पनि कम महत्वका छैनन् भन्ने मलाई लागेको छ । यहाँका  सबै जनप्रतिनिधि बुद्धिजीवी, स्थानीय जनता, विकासप्रेमी समुदाय सबैको हातेमालोबाट यहाँको विकास, विस्तार र सम्वृद्धि हुन सक्नेछ । यहि प्रयासले आगामी दिनमा पालिका साँझा नगर सरकारमा रुपान्तरण भए अत्यथा लाग्ने छैन् ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update