लुम्बिनी,लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताकोशपथ लिएका छन । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन सँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख घर्तीमगरले नवनियुक्त पाँच जना नवनियुक्त मन्त्रीलाई शपथ दिलाएका हुन।
शपथ लिनेमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर रहेका छन । मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जना नयाँ मन्त्री छन । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी सहभागी थिए ।


