पाल्पा, जिल्लाका दश वटा स्थानीय तहहरु मध्ये एक हो बगनासकाली गाउँपालिका । ऐतिहासिक धार्मिक धरोहर बगनास देवी को ‘बगनास’ र उत्तरी सिमानालाई घेरेको प्रसिद्ध कालीगण्डकी नदीको ‘काली’ शब्द मिलाएर बनेको बगनासकाली नामाकरण आफैमा विष्टि र अनुपम पहिचान झल्काउने शब्द हो । साविकका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाँउ, बराङ्दी र चापपानी गाविसका संयोगले बनेका ९ वडा सँगै यस पालिकाले मुर्तरुप पाएको देखिन्छ ।
पूर्वमा रम्भा गाउँपालिका, पश्चिममा तानसेन नगरपालिका, उत्तरमा कालिगण्डकी नदी र दक्षिणमा माथागढी गाउँपालिकाले घेरिएको यस गाउँपालिकामा ८४.१६ वर्ग किलोमिटर क्षेत्रफल समेटिएको र करीव १८ हजार ४ सय ९७ जना जनसंख्या बसोबास गर्ने गरेको र करीब ८१.७४ % साक्षर जनसंख्या रहेको पछिल्लो तथ्याक रहेको छ । भौगोलिक विविधता, प्राकृतिक स्रोत साधनले भरिपूर्ण यस गाउँपालिका क्षेत्रफलको हिसावले पाल्पाको सबै भन्दा ठूलो स्थानीय तहको रुपमा रहेको छ । एकातिर पाल्पाको सदरमुकाम तानसेनदेखि नजिक अर्को तर्फ सिद्धार्थ राजमार्गले अधिकाश भूःभागलाई समेटेको, कालिगण्डकी करीडोरले यस पालिकालाई अगालेको कारण यो पालिका देशकै सुगम पालिकाको रुपमा विकास हुँदै गएको देखिन्छ । एउटा गहिरो खोज र अनुसन्धानबाट प्राविधिक प्रविधिमैत्री, एकिकृत र आवासीय विद्यालयको अवधारणालाई मूर्तरुप दिदै यस पालिकालाई शिक्षा क्षेत्रको हबको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको देखिन्छ ।
सदरमुकामको नजिक यस स्थानीय तह अवस्थित भएर पनि बढ्दो बसाई सराईले रित्तिदै गएको ग्रामीण बस्ति, जन्मदरमा हुँदै गएको कमीले बगनासकाली भित्रका अधिकाश विद्यालयहरुमा मापदण्ड अनुसारको विद्यार्थी संख्यामा कमी हुँदैगएको देखिन्छ भने यस माथि चुनौती थपिदिएको छ सदरमुकाम तानसेनमा सञ्चालित सामुदायिक तथा निजि विद्यालयका बस तथा जिप गाउँ पालिका भित्रका वडा नम्वर १,२ ,३,७,८ र ९ मै पुगेर विद्यार्थी ल्याउने प्रवृत्तिले । विद्यालय जोगाउने र विद्यार्थी बढाउने मुख्य समस्याकै केन्द्र विन्दुमा रुमलिएका छन् यस पालिकाका अधिकाश विद्यालयहरु । हिजो विद्यार्थी संख्याले भरिभराउ वेद मा.वि दर्लमडाडा मा.वि, विष्णु मा.वि लगायतका विद्यालयहरु आज सुनसान अवस्थामा पुगेका छन् भन्दा दुईमत रहँदैन् । हिजो रोजेर विद्यार्थी भर्ना गर्ने विद्यालय आज खोजेर, विभिन्न इस्किमको घोषण गरेर विद्यार्थी भर्ना गर्नु पर्ने स्थिती उत्पन्न भएको देखिन्छ । यो गाउँपालिकाको मात्रै समस्या नभएर देशकै साझा समस्याको रुपमा रहेको देखिन्छ । शहर र जनघन्त्व भएका समतल भूभागका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक र पहाडका ग्रामीण क्षेत्रहरुमा विद्यार्थी संख्या कम हुँदै गएको प्रवृत्तीले यस गाउँपालिकाको विद्यालय र शिक्षालाई अछुतो राख्न सकेन् । शिक्षाको पहुँचको दृष्टिकोणले गाउँपालिकाले उल्लेख्य प्रगति गरेको देखिन्छ । साक्षरता दर पनि सन्तोषजनक नै देखिन्छ । भर्ना अभियान, दलित, छात्रा, जेहान्दार छात्रवृत्ती कार्यक्रम, दिवा खाजा कार्यक्रम, शिक्षक तथा अभिभावकबिच उत्प्रेणामूलक कार्यक्रम, विद्यालयहरु बिच विभिन्न विधाहरुमा प्रतिस्पर्धा, विद्यालयलाई बालबालिका र अभिभावको आकर्षणको रुपमा स्थापित गर्ने कार्यक्रम तय गरेको देखिन्छ । गाउँपालिका भित्रका सिमान्तकृत, दलित तथा विपन्न वर्गका बालबालिकालाई विद्यालय शिक्षामा आर्कषण गर्न सफल देखिन्छ । यसका साथै गाउँपालिका भित्रका अधिकाश विद्यालयको भौतिक पूर्वाधारमा, कक्षा कोठा व्यवस्थापन खानेपानी तथा शौचालय, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला जस्ता पक्षहरुमा सुधार हुँदै गएको देखिन्छ ।
पालिकाको वर्तमान शिक्षाको अवस्था :
यस गाउँपालिका भित्र जम्मा विद्यालय संख्या ३७ रहेकोमा सामुदायिक विद्यालय संख्या ३० र संस्थागत विद्यालय संख्या ७ वटा रहेका छन् । जसमा २५ आधारभूत विद्यालय, १२ माध्यमिक विद्यालय र जसमा ८ माध्यमिक विद्यालयमा कक्षा ११ र १२ को अध्यापन कार्य हुँदै आएको छ । यी विद्यालयहरुमा गत शैक्षिक शत्रको तथ्याक हेर्दा सामुदायिक विद्यालयतर्फ २ हजार १ सय ९ विद्यार्थी र संस्थागततर्फ ७ सय ५९ विद्यार्थीले अध्ययन गर्दै आएको देखिन्छ । थोरै विद्यार्थी हुनु मुख्य समस्या बन्दै गएता पनि शैक्षिक गुणस्तर सुधारका लागि योजना नै बनाएर गाउँपालिका र शिक्षा शाखा निरन्तर अनुगमन मूल्याकंन र पृष्ठपोष्णका कार्यमा लागेको कारण यस गाउँपालिकाको अधिकाश विद्यलायको कक्षा –८, कक्षा –१० SEE र कक्षा – १२ को बोर्ड परीक्षाको नतिजा जिल्लामै अब्बल रहेको देखिन्छ । SEE परीक्षामा ७८ % र कक्षा – १२ को बोर्ड परीक्षामा ७३ % विद्यार्थी ग्रेडिङ भएको तथ्याकंले उल्लेखित पक्षलाई प्रमाणित गर्न खोजेको देखिन्छ ।
विद्यार्थी संख्या तथा शैक्षिक गुणस्तर सुधार योजना :
शिक्षा शाखा प्रमुख निशा पाण्डे गाउँपालिकाले समस्यान्मूख सामुदायिक विद्यालयलाई सुधार गर्नका लागि निम्न कार्यक्रमको थालनी गर्ने बताउनुहुन्छ :
–विद्यालय समायोजन तथा दरबन्दी मिलान गरी एकीकृत विद्यालयको अवधारणा प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रणाली लागू गर्ने ।
–विषयगत नतिजाको लागि विषयगत शिक्षकलाई नै जिम्मेवार गराई विषयगत दक्षताको लागि क्षमता विकास तालिम सञ्चालन गर्ने ।
–स्मार्ट कक्षाकोठाको व्यवस्थापन गरी समय सुहाउँदो शिक्षा लागू गर्ने ।
–नैतिक र व्यवहारिक शिक्षामा जोड दिने ।
–आवश्यकता अनुसार विद्यालयहरुलाई विद्यालय बस तथा होस्टेलको व्यवस्थापन कार्य गर्ने ।
सम्भावना :
पालिकाको समग्र शिक्षा क्षेत्रमा सुधार र विस्तार गर्ने प्रसस्त सम्भावनाहरु नरहेका होईनन् यसका लागि सरोकारवाला र विज्ञ समूहको अध्ययन अनुसन्धानको खाँचो बढ्दै गएको देखिन्छ । यसका लागि शिक्षालाई कामसँग जोड्ने गरि प्राविधिक र प्रवृत्तीमैत्री शिक्षामा रुपान्तरण गर्ने स्थानीय आवश्यकताको आधारमा स्थानीय पाठ्यक्रम निमार्ण गर्ने, विद्यालयहरुलाई एकिकृत गरेर आवासीय विद्यालय बनाउने, शिक्षक व्यवस्थापन र क्षमता अभिवृद्धिमा विशेष योजना बनाउने, निरन्तर अनुगमन, नियमन र पृष्ठपोषण गर्ने,अग्रेजी शिक्षालाई प्रभावकारी रुपमा लागु गर्ने, आफ्नै स्थानीय तह भित्रका विद्यालयमा अध्ययन गरेमा विशेष आर्थिक सुविधाको व्यवस्था गर्ने, सदरमुकाममा सञ्चालित विद्यालय बसलाई निश्चित दुरीमा मात्रै गुडाउने व्यवस्था गर्ने,गाउँमै बस्नेलाई अवसरको सिर्जना गर्ने, स्थायी ठेगाना पालिका भित्रको राख्ने सुविधा पालिकाको लिने तर स्थायी बसाई पालिका बाहिर गर्नेलाई पालिकाले दिने सुविधाबाट बञ्चित गर्ने र गाउँमै बसौ गाउँमै रमाउ भन्ने भावना अभिवृद्धि गर्न सके विद्यार्थी अभावमा रहेका विद्यालयमा विद्यार्थी बढाउन र शैक्षिक गुणस्तर सुधार गर्न सकिने सम्भावना भने रहेको देखिन्छ ।
निष्कर्ष : सदरमुकाम र सडक सञ्जालले घेरिएको सुगम र पूर्वाधारयुक्त गाउँपालिका भएर पनि यहाँका विद्यालयहरुमा विद्यार्थी अभाव मूख्य समस्याको रुपमा रहेको देखिन्छ । बढ्दो बसाईसराईले गाउँघर रित्तिदै जाने अवस्था विद्यार्थी अभावको मुख्य कारण र सदरमुकाम तानसेनका विद्यालयले टाढा गाउँ सम्मै पुगेर विद्यार्थी ल्याउने, जन्मदरमा नियन्त्रण सहायक कारणको रुपमा रहेको देखिन्छ । यसका लागि गाउँ रहे समाज, समाज रहे सामुदायिक विद्यालय भन्ने भावना अभिवृद्धि गर्दै यसका लागि गाउँमै रोजगारी र अवसर वृद्धि गर्ने तर्फ पालिकाको ध्यान जानु पर्ने देखिन्छ । योजना निमार्णमा यस पालिका भित्रका अनुभव र विज्ञ टोलीको सहभागिता बढाउने कुरा बहस जरुरी देखिन्छ । यसो भएमा बगनासकाली गाउँपालिका भित्र सञ्चालित विद्यालयमा देखिएको समस्या समाधान गर्दै शैक्षिक गुणस्तरलाई थप अभिवृद्धि गर्न सकिने थियो की ? (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)
