पाल्पा ,तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै तानसेन नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । १९ औं नगरसभा तथा अधिवेशनमा नगरसभा अध्यक्ष एवं नगर प्रमुख श्रेष्ठले समृद्ध सांस्कृतिक नगर तानसेनको परिकल्पनालाई साकार पार्न कृषि, पर्यटन, सम्पदा संरक्षण, स्थानीय आर्थिक विकास, सामाजिक समावेशीकरण र भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर सभा अध्यक्ष एवं नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा तानसेनलाई मासु, दूध, अण्डा र तरकारीमा आत्मनिर्भर भएको घोषणा गर्ने, दूध उत्पादक कृषकहरूलाई प्रोत्साहन गर्न प्रतिलिटर ३ रुपैयाँ अनुदान उपलब्ध गराइने र बाँझो जमिनलाई उत्पादनमूलक खेतीमा उपयोग गर्न प्रतिरोपनी ५ हजार रुपैयाँ अनुदान दिने नीतिलाई निरन्तरता दिने, वडा नं. ७ मा शीतभण्डार सञ्चालनमा ल्याइने तथा वडा नं. ५ को गोदाम घरमा अदुवा विउ भण्डारण गरेमा कृषकलाई प्रति केजी ५० रुपैयाँ अनुदान दिइने व्यवस्था गरिएको छ । हेफर प्रोजेक्ट नेपालसँगको साझेदारीमा “तानसेन आर्थिक विकास परियोजना“ लाई प्रभावकारी रूपमा अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको प्रमुख श्रेष्ठले बताए । तानसेनको ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदाहरू जस्तै श्रीनगर, गुफाचौर, पाल्पा दरबार क्षेत्र, रानीमहल, ऋषिकेश रुरु क्षेत्र तथा रणउजिरेश्वरी भगवती मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल र समन्वय गरिने, पाल्पाको परम्परागत ऐतिहासिक जात्राहरू (बाघ जात्रा, भैरव जात्रा, गाईजात्रा, भीमसेन जात्रा आदि) को संरक्षण गर्दै नगरको मौलिक संस्कृति जोगाउन पुराना र मौलिक शैलीमा निर्माण हुने घरहरूलाई विशेष प्रोत्साहन दिइने नीति लिइएको छ ।
साथै, रुरु क्षेत्रमा अवस्थित प्रसिद्ध तीनमुखे पुलमा लाइटिङ र अन्य सौन्दर्यकरणका लागि बजेट सुनिश्चित गरिएको नगर प्रमुख श्रेष्ठले नगरसभामा जानकारी गराए । यस्तै प्रभास कमलपोखरी, सूर्यकुण्ड, अर्गली कुडापानी क्षेत्रत्रलाई ऐतिहासिक महत्व सँग जोडेर विशेष पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने, युवाहरूलाई उद्यमशीलता र दिगो रोजगारमा जोड्न इन्स्योर परियोजनासँगको सहकार्यमा कुक, प्लम्बिङ, इलेक्ट्रिसियन र कम्प्युटर हार्डवेयर÷नेटवर्किङ जस्ता सीपमूलक तालिमहरू प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यालयस्तरमा प्राविधिक शिक्षा र “पढ्दै कमाउँदै“ कार्यक्रमलाई निरन्तरता दिइनेछ । स्वास्थ्य क्षेत्रतर्फ “म स्वस्थ, मेरो समुदाय स्वस्थ” अभियान अन्तर्गत टोलस्तरमा स्वास्थ्य प्रवद्र्धन र नसर्ने रोगसम्बन्धी स्क्रिनिङ कार्यक्रम गरिनेछ । पूर्ण खोपयुक्त र कुपोषणमुक्त पालिका बनाउनुका साथै एचआईभी सङ्क्रमितहरूलाई मासिक ५०० रुपैयाँ औषधि उपचार सहायता दिइनेछ । प्रत्येक वडामा हरित पार्क र खुला व्यायामशाला निर्माण गरी “स्वस्थ नागरिक, स्वस्थ नगर” नीति अवलम्बन गरिने नगर प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन ।
प्रस्तुत नीति तथा कार्यक्रममा भौतिक पूर्वाधारतर्फ आगामी आर्थिक वर्षभित्र वनदेवी बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ । घर नक्सा पास प्रणालीलाई आधुनिक र वैज्ञानिक बनाउन ’इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम’ लागू गरिनेछ । “जहाँ मार्किङ, त्यहाँ पार्किङ“ अवधारणा लागू गर्दै बजार सौन्दर्यकरण गरिनेछ । ’एक घर एक धारा’ कार्यक्रम मार्फत स्वच्छ खानेपानी पु¥याइनेछ भने फोहरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट र डम्पिङ साइटको सुधार गरिनेछ । करदाता शिक्षा र विद्युतीय राजस्व सङ्कलन प्रणालीलाई अनिवार्य गर्दै डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिनेछ ।
सुशासनतर्फ “जनताको घरदैलोमा मेयर“ सञ्चार कार्यक्रम र बेरुजु फछ्र्यौट प्रणालीलाई प्रभावकारी बनाइने नगर प्रमुख श्रेष्ठले बताए । नगर प्रमुख श्रेष्ठले यो नीति तथा कार्यक्रम सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, आन्तरिक स्रोत तथा एसिया फाउन्डेसन, युनिसेफ, यूएनडीपी जस्ता दातृ निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गरिने बताए । सभाका सदस्यहरु दिल बहादुर थापा, कमल दर्लामी, राधिका थापा, यम बहादुर कार्की, करण बहादुर रेश्मी, माधव बस्याल र सिता बस्नेतले प्रस्तुत नीति तथा कार्यक्रममा आ–आफ्नो क्षेत्रका नसमेटिका विषयबस्तृहरुको उठान गरेका थिए । नगरसभाका अध्यक्ष समेत रहेका श्रेष्ठले नगरसभा सदस्यहरुले उठाएका विषयबस्तुहरु कार्यपालिकामा छलफल गरी समावेश गर्ने प्रतिवद्धता जनाए ।


