Shittalpati
पहिले आफ्नो इतिहास चिनौँ, अनि संसारलाई तानसेन चिनाऔँ

नवराज बस्याल (बादल)

कुनै दिन एउटा बालक आफ्नै शहरको पुरानो गल्ली हुँदै विद्यालय जान्छ बाटोमा एउटा पुरानो घर देख्छ काठका कलात्मक झ्याल छन ढुंगाका पर्खाल छन् पुरानो ढोका छ ऊ त्यही घरको छेउबाट वर्षौ हिड्छ तर उसलाई थाहा हुँदैन उसले देखिरहेको त्यो घरभित्र कति पुस्ताको कथा लुकेको छ । ऊ अर्को दिन एउटा मन्दिरको अगाडिबाट जान्छ घण्टी बजिरहेको हुन्छ जात्रा पनि देख्छ तर त्यो जात्रा किन सुरु भयो त्यसको इतिहास के हो त्यसमा आफ्नो समाजको कुन पुस्ताको योगदान छ भन्ने कुरा उसले कहिल्यै पढेको हुँदैन । ऊ श्रीनगरको डाँडामा पुग्छ तल सुन्दर तानसेन देख्छ मोबाइल निकालेर फोटो खिच्छ तर उसलाई कसैले बताएको हुँदैन उसले उभिएको यो भूगोलले कति पुस्ताको समय देख्यो होला ।

हामी आफ्नै ठाउँमा बसिरहेका छौं तर के हामी आफ्नै ठाउँलाई चिनेका छौं । हामीले संसारका ठूला इतिहास पढ्यौं राजाहरूको इतिहास पढ्यौं युद्धका इतिहास पढ्यौ विभिन्न देश र सभ्यताका कथा पढ्यौं तर आफ्नै टोलको नाम किन त्यसरी रह्यो आफ्नै शहरको पुरानो घर कसले बनायो ? आफ्नो मन्दिरको परम्परा कहाँबाट सुरु भयो ? आफ्नै बजारको विकास कसरी भयो ? आफ्नै पुर्खाले कुन सीप पुस्तौसम्म जोगाएर ल्याए भन्ने कुरा कति विद्यार्थीले व्यवस्थित रूपमा पढन् पाए ? पाल्पा केवल एउटा जिल्ला होइन् यो इतिहासको लामो यात्रा हो यस भूमिमा सेनकालीन इतिहासका पदचिह्न छन् श्रीनगरको ऐतिहासिक स्मृति छ तानसेनको पुरानो बजार छ पाल्पा दरबार छ रानीमहल छ धार्मिक तथा सांस्कृतिक सम्पदाहरू छन् । पुराना घर छन् । ढुंगेधारा छन् । पार्टी पौवा छन् । जात्रा छन् । बाजागाजा छन् । ढाका छ, करुवा छ, हस्तकला छ, स्थानीय परम्परा छन् । पुस्तौदेखि एउटै सीप बोकेर हिडेका मानिस छन् तर यी सबैको सबैभन्दा ठूलो मूल्य तब हुन्छ जब हामी आफैले यसको अर्थ बुझ्छौ इतिहास केवल पुरानो कुरा होइन इतिहास आजको हाम्रो पहिचान हो  । आज तानसेनमा उभिएको एउटा पुरानो घर केवल विगतको अवशेष होइन् त्यो घर बनाउने मानिसको सीप त्यसमा बस्ने परिवारको जीवन त्यो समयको सामाजिक अवस्था, व्यापार, संस्कृति र वास्तुकलाको प्रमाण हो । पुरानो चोक केवल चारवटा बाटो जोडिएको ठाउँ होइन त्यहाँ कहिल्यै मानिसहरू भेटिए होलान् व्यापारका कुरा भए होलान् । दुःखसुख साटिए होलान् । जात्रा निस्किए होलान् । पुस्ताहरू त्यहीँबाट गुज्रिए होलान् । पुरानो धारा केवल पानी आउने ठाउँ होइन त्यो समयको सामाजिक जीवनको एउटा महत्वपूर्ण हिस्सा हुन सक्छ । पुरानो मन्दिर केवल पूजा गर्ने भवन होइन त्यसमा आस्था मात्र होइन कला वास्तुकला, जात्रा, संगीत, परम्परा र समुदायको इतिहास जोडिएको हुन्छ  । त्यसैले हामीले आफ्ना सम्पदालाई हेर्ने दृष्टिकोण नै बदल्नुपर्छ ।

 पुरानो देखियो भन्दै भत्काउने होइन्  पुरानो छ भन्दै त्यसको कथा खोज्ने इतिहास जान्न पहिले हामी आफै जानकार बन्नुपर्छ । हामी पर्यटकलाई तानसेन घुमाउन चाहन्छौ । रानीमहल देखाउन चाहन्छौ । श्रीनगरको दृश्य देखाउन चाहन्छौ । पाल्पा दरबार देखाउन चाहन्छौ । पुरानो बजार देखाउन चाहन्छौ । हामी आफैलाई ती ठाउँको इतिहास कति थाहा छ ? यदि कुनै विद्यार्थीले आफ्नै शहरको इतिहास जान्दैन भने उसले बाहिरबाट आएको पर्यटकलाई के कथा सुनाउने ?यदि हामीलाई आफ्नै पुरानो घरको महत्व थाहा छैन भने त्यसलाई जोगाउने भावना कसरी पैदा हुन्छ । यदि आफ्नै जात्राको इतिहास थाहा छैन् । भने नयाँ पुस्ताले त्यसलाई किन निरन्तरता दिने । यदि आफ्नै कालिगढको सीपको मूल्य थाहा छैन् भने त्यो सीप अर्को पुस्तासम्म कसरी पुग्छ त्यसैले पर्यटन विकासको पहिलो पाइला सडक वा प्रचारबाट मात्र सुरु हुँदैन । पहिलो पाइला ज्ञानबाट सुरु हुन्छ । पहिले हामी जानकार बन्नुपर्छ त्यसपछि हाम्रो शहरको कथा अरूलाई सुनाउनुपर्छ । पाल्पाको इतिहास विद्यालयमै पुग्नुपर्छ

 अब पाल्पाका स्थानीय तहहरूले एउटा दीर्घकालीन र महत्वपूर्ण काम गर्न आवश्यक छ स्थानीय इतिहासलाई विद्यालयको स्थानीय पाठ्यक्रममा अनिवार्य र व्यवस्थित रूपमा समावेश गर्ने । पाल्पामा जन्मिएको विद्यार्थीले पाल्पाको इतिहास नजान्ने अवस्था रहनु हुँदैन । उसले आफ्नो जिल्लाको इतिहास पढनुपर्छ तर किताबमा पढेर मात्र पुग्दैन इतिहास पढनुपर्छ । इतिहास हेर्नुपर्छ र इतिहास महसुस गर्नुपर्छ हरेक कक्षाका विद्यार्थीलाई उनीहरूको उमेर र तहअनुसार ऐतिहासिक तथा सांस्कृतिक स्थलको अवलोकन गराउने व्यवस्था गर्न सकिन्छ । सानो कक्षाका विद्यार्थीलाई आफ्नो टोल र वरपरका सम्पदा चिनाउने माथिल्ला कक्षाका विद्यार्थीलाई तानसेनको पुरानो बजार , श्रीनगर , पाल्पा दरबार , विभिन्न धार्मिक तथा सांस्कृतिक स्थल, रानीमहल, पुराना बस्ती र स्थानीय हस्तकलासँग परिचित गराउने विद्यार्थीलाई एउटा प्रश्न दिएर फिल्डमा पठाउन सकिन्छ । मेरो टोलको इतिहास के हो उनीहरूले हजुरबा हजुरआमासँग कुरा गरून पुराना मानिसको सम्झना रेकर्ड गरून । पुरानो घरको फोटो खिचून पुरानो दस्तावेज खोजून टोलको नाम कसरी रह्यो भनेर बुझ्न पुरानो जात्रा किन मनाइन्छ भनेर खोजून स्थानीय कालिगढसँग भेटून ढाका कसरी बुनिन्छ हेर्नू करुवा कसरी बनाइन्छ बुझ्नू त्यसपछि विद्यार्थीले इतिहास केवल परीक्षामा लेख्ने विषय होइन आफ्नै वरिपरि जीवित रहेको कुरा हो भन्ने बुझ्ने छन् । पुरानो घर भत्किएपछि इतिहास फर्किदैन । आज विकासको नाममा नयाँ भवन बन्नु आवश्यक छ । आधुनिक सुविधा आवश्यक छ सुरक्षित सडक आवश्यक छ व्यवस्थित शहर आवश्यक छ तर विकास गर्दा एउटा कुरा बिर्सनु हुँदैन हामीले नयाँ बनाउन पुरानो सबै नष्ट गर्नुपर्ने छैन् । तानसेनको मौलिकता नै यसको शक्ति हो । पुराना काठका झ्यालहरू, ढोका, इँटाका पर्खाल, परम्परागत घर,चोक र साँघुरा गल्लीहरूलाई संरक्षण गर्नुपर्छ जीर्ण भएका संरचनालाई आवश्यक मर्मत र पुनर्निर्माण गर्दा सम्भव भएसम्म मौलिक स्वरूप, सामग्री, शैली र वास्तुकला जोगाउनुपर्छ किनकि पुरानो घर भत्किएपछि नयाँ घर बनाउन सकिन्छ तर त्यो घरसँग जोडिएको इतिहास फेरि बनाउन सकिँदैन । एउटा पुरानो झ्याल बनाउने कालिगढको सीप हरायो भने त्यसलाई किताबबाट फर्काउन सकिँदैन । एउटा पुरानो वास्तुशैली हरायो भने केही वर्षपछि तस्वीर हेरेर मात्र त्यसको अनुभूति गर्न सकिन्छ । त्यसैले तानसेनको विकास पहिचान मेटाएर होइन पहिचान जोगाएर हुनुपर्छ तानसेनलाई अरू शहरजस्तो होइन तानसेनजस्तै बनाऔं । हामीले तानसेनलाई आधुनिक बनाउनुपर्छ तर आधुनिकताको अर्थ अरू शहरको नक्कल गर्नु होइन तानसेनमा राम्रो सडक होस् सफा बजार होस् व्यवस्थित पार्किङ होस् । पैदलमार्ग होस् । सार्वजनिक शौचालय होस् । फोहोर व्यवस्थापन राम्रो होस् । तारहरू व्यवस्थित होऊन पर्यटकका लागि सूचना केन्द्र होस् डिजिटल नक्सा होस् तर यी सुविधा थपिँदा तानसेनको मौलिक अनुहार हराउनु हुँदैन । हामीलाई आधुनिक तानसेन चाहिन्छ तर आफ्नै इतिहास बोकेको तानसेन हामीले अरू शहरसँग प्रतिस्पर्धा गरेर उनीहरूजस्तै बन्ने होइन हामीले आफ्नो मौलिकता देखाएर संसारमा आफ्नो छुट्टै परिचय बनाउनुपर्छ । इतिहासलाई डिजिटल पुस्तासँग जोडौ आजको पुस्ता मोबाइलमा छ त्यसैले इतिहास पनि मोबाइलसम्म पुग्नुपर्छ पुराना घरमा QR कोड राख्न सकिन्छ कुनै पर्यटक वा विद्यार्थीले मोबाइलबाट स्क्यान गर्दा त्यस घरको इतिहास खुल्न सक्छ । कुनै मन्दिरमा स्क्यान गर्दा त्यसको स्थापना, परम्परा, जात्रा र सांस्कृतिक महत्व देखिन सक्छ । कुनै पुरानो चोकमा पुग्दा त्यस ठाउँको पुरानो फोटो र अहिलेको अवस्थालाई तुलना गर्न सकिन्छ । कुनै टोलको नाममा क्लिक गर्दा त्यसको नामकरण र इतिहास पढ्न सकिन्छ । तानसेनको एउटा यस्तो डिजिटल नक्सा बनाउन सकिन्छ जहाँ सडक मात्र होइन कथा पनि देखियोस् कुनै घरमा एउटा कथा कुनै चोकमा अर्को कथा  कुनै मन्दिरमा अर्को इतिहास कुनै कालिगढसँग एउटा जीवनकथा कुनै वृद्धसँग एउटा सम्झना यसरी तानसेन एउटा जीवित डिजिटल संग्रहालय बन्न सक्छ । इतिहास दरबारको मात्र होइन इतिहास लेख्दा हामी प्रायः राजा, दरबार र शासनको कथा खोज्छौ तर शहर राजा र शासकले मात्र बनाउँदैन शहर बनाउने मिस्त्री पनि इतिहासको पात्र हो । ढुङ्गा काट्ने मानिस पनि इतिहासको पात्र हो काठ कुँदने कालिगढ पनि इतिहासको पात्र हो । ढाका बुन्ने महिला र पुरुष पनि इतिहासका पात्र हुन । करुवा बनाउने कालिगढ पनि इतिहासको पात्र हो व्यापारी, किसान, मजदुर, शिक्षक, कलाकार, गृहिणी, श्रमिक सबैको पसिना मिलेर शहर बनेको हुन्छ । त्यसैले तानसेनको इतिहास दरबारबाट मात्र होइन जनताको घरबाट पनि लेखिनुपर्छ । हजुरआमाले सुनाएको कथा पनि इतिहास हो हजुरबाले सम्झिएको पुरानो बजार पनि इतिहास हो पुरानो व्यापारीले सुनाएको व्यापारको कथा पनि इतिहास हो । एउटा कालिगढले पुस्तौँदेखि सिक्दै आएको सीप पनि इतिहास हो ।

यी कथाहरू आज सुरक्षित गरिएनन भने भोलि खोज्दा धेरै कुरा हराइसकेका हुन् सक्छन् । अब एउटा अभियान सुरु गर्न सकिन्छ  हरेक टोलको इतिहास खोजौ हरेक पुरानो घरको अभिलेख बनाऔ । पुराना तस्वीर सुरक्षित गरौं पुराना दस्तावेज संकलन गरौं जात्रा , बाजा , गीत र परम्पराको भिडियो अभिलेख राखौं स्थानीय शब्द , उखान र लोककथा संकलन गरौं पुराना व्यवसायको इतिहास लेखौं कालिगढको जीवनकथा सुरक्षित गरौं । विद्यालयका विद्यार्थीलाई आफ्नो टोलको इतिहास खोज्न लगाऔं युवालाई डिजिटल अभिलेख निर्माणमा जोडौं । स्थानीय इतिहासकार, शिक्षक, संस्कृतिकर्मी, ज्येष्ठ नागरिक र विद्यार्थीलाई एउटै अभियानमा जोडौं यसरी प्रत्येक टोलको कथा संकलन गर्दै जाँदा एक दिन सम्पूर्ण पाल्पाको ठूलो स्थानीय इतिहास अभिलेख तयार हुन सक्छ त्यो अभिलेख केवल सरकारी कार्यालयको दराजमा होइन, विद्यालयमा पनि पुग्नुपर्छ । डिजिटल माध्यममा पनि पुग्नुपर्छ नयाँ पुस्ताको हातमा पनि पुग्नुपर्छ पर्यटनको सुरुवात ज्ञानबाट हामी तानसेनमा धेरै पर्यटक चाहन्छौ तर पर्यटक संख्या मात्र बढाउनु पर्याप्त हुँदैन।  पर्यटकले यहाँ आएर केही बुझोस् केही महसुस गरोस् स्थानीय उत्पादन किनोस् स्थानीय खाना खाओस् स्थानीय मानिससँग कुरा गरोस् केही दिन बसोस् र फर्किएपछि आफ्नो ठाउँमा पुगेर तानसेनको कथा सुनाओस् त्यो दिन पर्यटनले वास्तविक अर्थ पाउँछ एउटा पर्यटक पुरानो बजारको गल्लीमा हिँडदा उसलाई त्यो गल्लीको इतिहास सुनाउन सकियोस् । ढाका किन्दा उसलाई त्यसमा पुस्तौँको सीप जोडिएको कुरा थाहा होस् । करुवा किन्दा त्यसको पछाडी एउटा कालिगढको श्रम छ भन्ने बुझोस् । पुरानो घर देख्दा त्यसको वास्तुकलाको अर्थ थाहा पाओस् । श्रीनगरको डाँडामा पुग्दा उसले केवल दृश्य होइन इतिहास पनि देखोस् । रानीमहल पुग्दा भवन मात्र होइन त्यससँग जोडिएका मानवीय कथा पनि बुझोस् । त्यसपछि पर्यटक तानसेनबाट एउटा तस्वीर मात्र लिएर फर्किदैन एउटा कथा लिएर फर्किन्छ । अब प्रश्न इतिहास के थियो भन्ने मात्र होइन आज हामीसँग एउटा जिम्मेवारी छ  । हामीले पाएको तानसेनलाई हामीले कस्तो बनाउने भोलिका पुस्ताले हामीलाई सोध्नेछन् । तपाईहरूले पाएको शहर कस्तो थियो त्यसपछि अर्को प्रश्न पनि आउनेछ हामीलाई तपाईंहरूले कस्तो शहर दिएर जानुभयो ? , त्यसको उत्तर दिन हामी आजै तयार हुनुपर्छ । हामीले केवल सडक दिएर पुग्दैन कथा पनि दिनुपर्छ केवल भवन दिएर पुग्दैन पहिचान पनि दिनुपर्छ । केवल बजार दिएर पुग्दैन संस्कृति पनि दिनुपर्छ केवल पर्यटकीय गन्तव्य बनाएर पुग्दैन त्यसलाई अनुभव गर्ने शहर पनि बनाउनुपर्छ । केवल पुराना घरको तस्वीर बचाएर पुग्दैन सम्भव भएसम्म ती घरको मौलिकता पनि बचाउनुपर्छ केवल इतिहासमा गर्व गरेर पुग्दैन इतिहास संरक्षण गर्ने संस्कार पनि विकास गर्नुपर्छ । त्यसैले आजैदेखि एउटा सानो संकल्प गरौं आफ्नो टोल चिनौं, आफ्नो शहर चिनौँ आफ्नो इतिहास पढौँ आफ्ना वृद्ध पुस्ताका कुरा सुनाऔँ, पुराना घरको महत्व बुझौ, सम्पदा जोगाऔ, स्थानीय सीपको सम्मान गरौ, विद्यालयमा स्थानीय इतिहास पुर्‍याऔ, हरेक विद्यार्थीलाई आफ्नो इतिहाससँग जोडौ र संसारलाई तानसेन चिनाउनुअघि पहिले तानसेनलाई आफै चिनौ किनकि जुन शहरलाई आफ्नै नागरिकले चिन्दैन त्यसको कथा बाहिरको संसारले कसरी बुझ्ने तानसेन कुनै एउटा पुस्ताको सम्पत्ति होइन हामीभन्दा अघिका पुस्ताले यसलाई बनाएका हुन । हामीले यसलाई जोगाउनुपर्नेछ र हामीपछि आउने पुस्तालाई अझ राम्रो अवस्थामा हस्तान्तरण गर्नुपर्ने छ ।

श्रीनगरदेखि आजको तानसेनसम्म आइपुगेको यो यात्रा अझै जारी छ  ।कथा सकिएको छैनर ।  अब आउने अध्याय हामीले लेख्ने हो हामीले लेख्ने इतिहासमा केवल नयाँ भवनहरू नहुन पुराना घर पनि बाँचेका होऊन, केवल फराकिला सडक नहुन, पुराना गल्लीको आत्मा पनि बाँचेको होस् , केवल पर्यटकको भीड नहोस् पर्यटकलाई सुनाउने आफ्नै कथा पनि होस् , केवल आधुनिक शहर नहोस् । इतिहास र आधुनिकता सँगसगै हिडेको तानसेन होस्  र एक दिन आउने पुस्ताले पछाडी फर्केर हेर्दा भन्न सकोस् हाम्रा पुर्खाले हामीलाई एउटा इतिहास दिए । हाम्रा अभिभावकले त्यो इतिहास जोगाए र हामीलाई अझ समृद्ध तानसेन हस्तान्तरण गरे त्यही दिन हाम्रो पुस्ताले आफ्नो जिम्मेवारी पूरा गरेको हुने छ  । हाम्रो इतिहास हाम्रो पहिचान हो । हाम्रो पहिचान हाम्रो सम्पदा हो र हाम्रो सम्पदा आउने पुस्ताप्रतिको हाम्रो जिम्मेवारी हो पहिले आफ्नो इतिहास चिनौ अनि संसारलाई तानसेन चिनाऔं ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update