Shittalpati
विश्व हुलाक दिवसको सन्दर्भ

आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा यो दिवस मनाउने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरुभएको हो । मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनीहरुसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । तर अहिले डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना आदान–प्रदानका माध्यमहरूमा पनि आमूल परिवर्तन आएको छ ।

तथापी हुलाक सेवाको आवश्यकता र महत्व पूर्ण रूपमा समाप्त भएको छैन । बरु बदलिँदो समयअनुसार हुलाकलाई नयाँ स्वरूपमा विकास गर्नुपर्ने आवश्यकता अझ बढेको छ । एक समय थियो, घरपरिवारको खबरदेखि राज्यका महत्वपूर्ण सूचना र व्यावसायिक कारोबारसम्म हुलाककै माध्यमबाट हुने गथ्र्यो । चिठी, तार, मनीअर्डर र पार्सलमार्फत हुलाकले मानिसको दूरी घटाएको थियो । गाउँ–गाउँसम्म राज्यको उपस्थिति पु¥याउने र नागरिकलाई आपसमा जोड्ने काममा हुलाक सेवाको भूमिका अतुलनीय रह्यो । तर पछिल्ला वर्षहरूमा मोबाइल फोन, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको विस्तारसँगै परम्परागत हुलाक सेवाको प्रयोग उल्लेख्य रूपमा घटेको छ ।

यसलाई हुलाक सेवाको अन्त्यका रूपमा बुझ्नु भने हुँदैन । बरु यो हुलाकलाई समयअनुकूल पुनर्संरचना गर्ने अवसर हो । अहिले हुलाकले चिठी बोक्ने परम्परागत भूमिकाबाट अघि बढेर पार्सल तथा कुरियर सेवा, ई–कमर्सको डेलिभरी, वित्तीय सेवा, सरकारी सेवा प्रवाह र डिजिटल सेवासँगको समन्वयमा आफूलाई स्थापित गर्ने प्रयास गरेको छ । यसलाई सकारात्मक मान्नुपर्छ । विशेषगरी नेपालजस्तो भौगोलिक रूपमा विविध र दुर्गम बस्तीहरू भएको मुलुकमा भरपर्दो सार्वजनिक हुलाक सञ्जाल अझै महत्वपूर्ण छ । नेपालको हुलाक सेवासामु भने अनेक चुनौती छन् । पुरानो पूर्वाधार, प्रविधिको सीमित प्रयोग, कमजोर व्यवस्थापन, जनशक्तिको बदलिँदो आवश्यकताअनुसार क्षमता विकासको अभाव र सेवाप्रति घट्दो आकर्षण प्रमुख समस्या हुन् । अर्कोतर्फ निजी क्षेत्रका कुरियर तथा डिजिटल सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्न सरकारी हुलाक सेवाले सेवा छिटो, सरल, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । अब हुलाक कार्यालयलाई केवल चिठी तथा पार्सल बुझ्ने–बुझाउने स्थानका रूपमा सीमित राखेर हुँदैन । स्थानीय तहसम्म फैलिएको यसको सञ्जाललाई डिजिटल सेवा केन्द्रका रूपमा विकास गर्न सक्नुपर्छ । यसो गर्न सकियो भने मात्र हरेक वर्ष मनाइने हुलाक दिवसको सार्थकता रहन्छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update