Shittalpati
समस्यान्मूख सामुदायिक विद्यालय सुधारका कदम

शिक्षालाई सहज र सर्वसुलभ बनाउने सामुदायिक विद्यालयलाई परिर्वतित समयले भावनात्मकरुपमा  दुई भागमा विभाजन गरे जस्तै भएको छ आजभोली ।  केहि विद्यालय सुविधा सम्पन्न र विद्यार्थी अभिभावकको आकर्षणको केन्द्रका रुपमा रुपान्तरण हुँदै गएका छन् भने केहि विद्यालय यसको विपरित दयनिय र ह्रासउन्मूख अवस्थामा रहेका देखिन्छन् । असमानुपातिक विकास, बसाइँसराई,प्रर्दशन प्रभाव, प्रविधिमैत्री शिक्षा, भौगोलिक बनोट, अभिभावको सक्रियता जस्ता पक्षहरुले सहयोग पुर्‍याएको छ ।  उल्लेखित पक्षहरु स्थायी र विद्यालय सुधारका बाधक भने पक्कै होईनन् यी सबै  परिवर्तनशिल छन् । गाँउ रहे समाज रहन्छ, समाज रहे विद्यालय भन्ने भावना विकास गराउँदै बसाईसराई नियन्त्रण र गाँउमै अवसर सिर्जना गर्न सके केहि सामुदायिक विद्यालयमा देखिएको समस्या समाधान गर्न सकिने प्रसस्त सम्भावनाहरु भने नभएका  होइनन् । यसका लागि सरकार, अभिभावक, व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक लगायतका सरोकारवाला निकायहरुको सहकार्य र एकता  अनिवार्य देखिन्छ ।

पछिल्लो समय अभ्यास भएको राज्यको संरचनाले देशका ग्रामिण क्षेत्रहरुमा राज्यको उपस्थिती बढाउदै लगेको छ । विकासका गतिबिधि पनि सञ्चालन भैरहेका छन् तर यसको विपरित एकातिर गाउँका घरहरु सुनसान हुँदै गएका छन् । यसको कारण बनेको छ विकास हुँदै गएको तिब्र  बसाईसराईको प्रवृत्ति । यसको ठूलो असर परेको छ ग्रामिण क्षेत्रका विद्यालयहरुलाई । आजभोली विद्यालयहरुमा पूर्वाधारहरु राम्रा बन्दै गएका छन् तर विद्यार्थी संख्या कम भएको कारण बन्द हुने अवस्था पुगेका छन् । केहि दिन अगाडि देशभरका २९३ बढी सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या ५ भन्दा कम र ८ हजार बढी विद्यालयमा ५० भन्दा कम विद्यार्थी भएको समाचार आएको थियो । तथ्याङ विश्लेषण गर्दा यस्ता धेरै विद्यालय देशका ग्रामीण क्षेत्रमा रहेको देखिन्छ । यो सामुदायिक विद्यालय समस्याउन्मूख अवस्था जाँदै छन् भन्ने एक उदाहरण हो ।

अर्कोतिर भौतिक र जनशक्ति सम्पन्न सामुदायिक विद्यालय नजिकका संस्थागत विद्यालयमा विद्यार्थी संख्या सन्तोषजनक देखिन्छ । यो अंग्रेजी शिक्षाप्रतिको अभिभावकको आकर्षणको कारण हो । अभिभावकको मनोवृत्ति बुझी  सामुदायिक विद्यालयमा जर्बजस्त सञ्चालन गरिएको अंग्रेजी शिक्षालाई प्रभावकारी बनाउन र अभिभावकलाई सन्तुष्टि दिन सकिएको छैन की आभाष भएको छ । धेरै सामुदायिक विद्यालयमा सञ्चालन गरिएको अंग्रेजी शिक्षा विद्यालय सुधारको उपयुक्त विधि बन्न सकेको देखिदैन् । यसका साथै पहुँच अभावका कारण विद्यालयहरुलाई समय अनुकुलको प्रविधिमैत्री बनाउन सकिएको देखिदैन् । धेरै विद्यालयमा अहिले पनि विषय शिक्षक तथा शिक्षक दरबन्दीको अभाव छ ।  गाउँ घरमै सिंहदरबार मानिएको स्थानीय तहको सामुदायिक विद्यालय सुधारमा प्रभावकारी उपस्थिती देखिएको छैन् । केहि स्थानीय तह बाहेक अधिकांश भने सरकारबाट प्राप्त राज्यको स्रोत साधन बाडँफाँड र केहि शिक्षक प्रशिक्षणका कार्यक्रममै सिमित भएको देखिन्छ ।

समस्याको मुख्य कारण :
परिवर्तीत समय अनुसार विकास हुँदै गएका घटनाक्रम ,चाहना र विश्व व्यापपिकरणको प्रभावले  शिक्षा क्षेत्रलाई पनि अछुतो राख्न सकेन् । यसको परिणाम बन्यो नेपालका शहरी क्षेत्रका सामुदायिक विद्यालयहरु र संस्थागत विद्यालयहरुमा  थेगीनसक्नु विद्यार्थी संख्याको चाप । दुर्गम ग्रामीण

क्षेत्रका सामुदायिक विद्यालयहरु खाली हुँदै जाने अवस्था । यसका केहि मुख्य कारणहरु:
–निराशाजनक नतिजा ।
–अंग्रेजी शिक्षा प्रतिको आर्कषण  ।
–प्राविधिक र प्रविधिमैत्री शिक्षाको चाहना ।
–जन्मदरमा क्रमश कमी हुदैँ जानु ।
–तिव्र बसाइँसराई दर ।
–प्रर्दशन प्रभाव ।
–असमानुपातिक विकास ।
–रोजगारी तथा अबसरको अभाव ।
–राजनीतिकरण र राजनीतिक हस्तक्षेप ।

समस्या समाधानको उपाय: 
कुनै एक पक्षको संक्रियताले मात्रै समस्या ग्रहस्थ अवस्थामा रुमलिएका सामुदायिक विद्यालयलाई सुधारको बाटोमा लाने प्रयास मूर्खता मात्र हुने कुरामा दुईमत नरहला । यसका लागि गहिरो अध्ययन अनुसन्धान मार्फत दिर्घकालिन खाकाको आबश्यकता बढ्दै गएको  देखिन्छ । यसका अलावा केहि निम्न पक्षमा सुधार गर्न सकेमा बन्द वा मर्जरमा जान लागेका विद्यालयमा फेरि हरियाली ल्याउन सकिने देखिन्छ ।

क) नीतिगत सुधार:
केन्द्र सरकारले बनाएका नीतिगत व्यवस्था,नीतिगत अस्पष्टता र नीतिगत अभावले सार्वजनिक शिक्षालाई केहि अंशमा प्रभाव पार्ने रहेछ । यही अवस्थामा करीब दुई दशक रुमालि रहेको छ देश अनि देशको शिक्षा नीति । अनि विद्यामान ऐन नियमले देशभरको भूगोललाई समानुपातिक सम्बोधन गर्न पनि सक्दो रहेन् छ । तराई र शहरलाई मिल्ने नीतिगत व्यवस्थाले दुर्गम ग्रामीण क्षेत्रमा भने असहजता सिर्जना गर्ने कुरामा दुईमत नरहला । यसले प्रबिधिमैत्री विद्यालय बनाउने कुरामा, विद्यालय भवन निमार्णको मापदण्डमा, राज्यले बाड्ने स्रोत साधनमा तथा विद्यालयमा आबश्यक पर्ने जनशक्ति व्यबस्थापनमा  प्रभाव पार्ने रहेछ । यसले समस्या थपिदो रहेछ समस्याउन्मूख विद्यालयहरुको सुधारमा । विद्यमान ऐन नियम र अब बन्ने नीतिमा सबै भूगोल र सामुदायिक विद्यालय अनुकुल बनाउन सकेमा समस्यामा रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न सकिने देखिन्छ ।  

ख) सरकारको भूमिका:
घर आगनमै सरकार र राज्यका अंग हुँदा हुँदै पनि जुन परिकल्पनाले यसको अभ्यास गरियो त्यही अनुसारको अपेक्षित उपलब्धी प्राप्त हुन् सकेको देखिदैन् यसको प्रभाव शिक्षा क्षेत्र र सामुदायिक विद्यालयहरुमा पनि परेको देखिन्छ । केहि स्थानीय तहहरु बाहेक धेरै स्थानीय तहहरु,राज्यका संयन्त्र कुहिरोमा रुमलिएको काग जस्तै के गर्ने ? कसो गर्ने ? अवस्थामा देखिन्छन् । यहि कारण सामुदायिक विद्यालय सुधारमा पछिल्लो समय उल्लेख्य कार्य भएको देखिदैन् । तीनै तहका सरकारको कार्य स्पष्टता सहित अघि बढ्न सकेमा समस्याउन्मूख सामुदायिक विद्यालयलाई सुधार उन्मूख दिशामा अगाडि बढाउन सकिने देखिन्छ ।


ग) विद्यार्थी आकर्षण कार्यक्रम तय गर्ने:
परम्पराबाट माथि उठ्न नसक्दा, परिवर्तन र विकसित प्रविधिलाई आत्मसाथ गर्न नसक्दा सामुदायिक विद्यालय विद्यार्थीको आकर्षणको क्षेत्र बन्न नसकेको कुरामा दुईमत नरहला । हामी अझै पनि पुरानै र सैद्धान्तिक पाठ्यक्रम, शिक्षक केन्द्रीत विधिमै रमाई रहनु केहि सामुदायिक विद्यालय विद्यार्थी र अभिभावकको आकर्षण बन्न नसक्नुको कारण बनेको देखिन्छ । यसका लागि उपयुक्त र प्रविधिमैत्री कक्षा कोठा ,आवासीय विद्यालय, एकिकृत विद्यालय,छात्रा बासको व्यवस्था, समय अनुकुलको पाठ्यक्रम र शिक्षण विधि अवलम्वन गर्न सकेमा ति केहि विद्यालयमा विद्यार्थी आकर्षण गर्न सकिने देखिन्छ ।

घ) समुदाय/विद्यालय व्यवस्थापन समितिको सक्रियता:
उदाहरणहरु हेर्दा निष्कर्षमा पुग्न सकिन्छ की जहाँ समुदाय सक्रिय छ, जागरुक छ, सोहि अनुसार विद्यालय व्यवस्थापन समिति बनेको छ त्यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर देशमै अब्बल छ । जहाँ समुदाय निष्क्रिय छ, विद्यालय प्रति वेखवर छ, कर्मकाण्डी विद्यालय व्यवस्थापन समिति छ ति विद्यालयहरुको शैक्षिक गुणस्तर दयनिय छ, अभिभावक र विद्यार्थीको आकर्षण बन्न सकेको देखिदैन् । सामुदायिक विद्यालयमा समस्या यहि विन्दुबाट सुरु हुन्छ । समस्यामा रहेका सामुदायिक विद्यालय सुधार गर्नु छ,विद्यार्थी र अभिभावकको विश्वासको केन्द्र बनाउनु छ भने समुदायको चासो र विद्यालय व्यवस्थापन समितिको सक्रियता अनिवार्य शर्त हुनु पर्ने देखिन्छ ।

ङ) शैक्षिक गुणस्तरमा सुधार:
राम्रा विद्यालय भवन,दक्ष शिक्षक, सक्रिय प्रधानाध्यापक र व्यवस्थापन समिति, राम्रो विद्यालय वातावरण यी सबैं ओझेल पर्दा रहेछन् जबसम्म विद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न सकिदैन् नतिजालाई समय अनुकुल सुधार गर्दै लैजान सकिदैन् । प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभाव र विद्यार्थीको सक्रियताबाट मात्रै शैक्षिक गुणस्तर सुधारका कदम चाल्न सकिने भएकाले यी पक्षबिच सहकार्य र समन्वय आवश्यक देखिन्छ ।

च) प्रधानाध्यापकको नेतृत्वदायी भूमिका:
कुनै पनि संस्थाको सफलता असफलतालाई संस्था प्रमुखको नेतृत्वदायी क्षमताले निर्धारण गर्दछ भन्दा दुईमत नरहला । अहिले शैक्षिक गुणस्तर सुधार गरेर आफुलाई नमुनाको रुपमा स्थापित गरेका नेपालका सामुदायिक विद्यालयहरु प्रधानाध्यापककै सक्रियता, त्याग र प्रशासनिक क्षमताकै कारणले प्राप्त भएकाले । त्यस्ता समस्याउन्मूख सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षण र निरन्तर पृष्ठपोषण गर्न सके सुधारको मार्गमा लान सकिने देखिन्छ ।
अभिभावक र समुदायलाई विद्यालय प्रति आकर्षण कसरी गर्ने त ?

 सञ्चालन गर्नु पर्ने कार्यक्रमहरु:
–अभिभावक साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
–दैनिक, साप्ताहिक र मासिक अभिभावक अनुगमन समिति बनाउने ।
–अभिभावकमा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
–कक्षागत÷तहगत अभिभावक भेला गर्ने ।
–समुदाय, अभिभावकको संलग्नतामा मात्रै महत्वपूर्ण निर्णय÷योजना तय गर्ने ।
–घर दैलो कार्यक्रम सञ्चालन गर्ने ।
–टोल सम्पर्क समिति/व्यक्ति तोक्ने ।

रणनीतिक कार्यक्रम:
विद्यालयमा अभिभावक तथा समाजलाई आकर्षित गर्नका लागि दैनिक,साप्ताहिक र मासिक समयलाई आधार बनाई योजना निमार्ण गर्न सकेमा समस्याउन्मूख सामुदायिक विद्यालय सुधार रणनीतिक योजना कार्यान्वयन गर्न सकिने देखिन्छ । यसका लागि निम्न रणनीति अबलम्वन गर्नु पर्ने देखिन्छ ।
–विद्यालयको भौतिक र बातावरणीय पक्षमा सुधार सम्बन्धी ।
–अभिभावक÷समुदाय र विद्यालयबिच सम्बन्ध विस्तार सम्बन्धी ।
–विद्यालयको नतिजा सुधार सम्बन्धी ।
–विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन सम्बन्धी ।

नमुना रणनीतिक योजना तालिका:
यहाँ केहि पक्षलाई लिएर एउटा कार्यान्वयन योग्य अल्पकालिन नमुना रणनीतिक योजना तालिका प्रस्तुत गर्न खोजिएको छ ।

विद्यालयको शैक्षिक र भौतिक गुणस्तर नमुना कार्य योजनाः
समस्यामा रहेका विद्यालयको नतिजा र भौतिक वातावरण सुधार ल्याउनका लागि देहायका क्रियाकलाप समेट्ने गरि सुधार कार्य योजना निमार्ण गर्न सकिने देखिन्छ ।
क) विद्यालयको नतिजा सुधार योजना:

ख)विद्यालयको भौतिक पक्ष सुधार योजना :

निरन्तर अनुगमन, मूल्याकंन र पृष्ठपोषण:

समस्यायुक्त क्षेत्रहरुमा सुधार एक पक्ष वा एक पटकको प्रयासले सम्भव हुने कुरा होईन । यो निरन्तर र सामुहिक प्रयासबाट मात्रै सम्भव देखिन्छ । बन्द र मर्जर नजिक पुगेका तर वर्तमान समयमा अभिभावक र विद्यार्थीको आकषर्ण बनेका केहि विद्यालयहरु हामी सामु उदाहरणको रुपमा रहेका छन् । यसका लागि जिम्मेवार निकायको निर्देशन र सल्लाह सुझाव मात्रै होइन् निरन्तर अनुगमन जरुरी छ । अनुगमन मात्रै होईन सुधारउन्मूख अवस्था भए नभएको पत्ता लगाउन समय–समयमा मूल्याकन गरि आवश्यक पृष्ठपोषण दिन सके समस्या भएका सार्वजनिक विद्यालयलाई अभिभावक, समाज र विद्यार्थीको आकर्षणमा अभिवृद्धि गर्न सकिने देखिन्छ ।  

निष्कर्ष:स्वतस्फूर्त विद्यालयसँग सम्बन्धित पक्षहरु अभिभावक, समाज र व्यवस्थापन समितिको सक्रियता विना र प्रधानाध्यापक – शिक्षकको लगनशिलता,इमान्दारिता र नैतिकता विना समस्यामा रहेका विद्यालय सुधारका कुरा कल्पनाका विषयबस्तु मात्रै बन्न पुग्दछन् । शिक्षा नीति, राज्यका निर्देशन र सार्वजनिक शिक्षा सुधारका कुरा एकादेशको कथा जस्तै बन्दै जान्छन् । अब स्रोत साधनको अभाव, भौगोलिक अवस्था आदिलाई कारण बनाउँदै सामुदायिक विद्यालय सुधारको लक्ष्यबाट  भाग्ने छुट कसलाई छैन् । देश विकासको आधार  ग्रामिण क्षेत्रको विकास हो भने यी दुवैका लािग शिक्षा क्षेत्रको विकास  । सर्वशुलभ शिक्षा, निःशुल्क शिक्षा, सवैको लागि  शिक्षाको एक मात्र स्थायी आधार सामुदायिक विद्यालय भएकोले यसको सुधारका लागि शिक्षा सम्वन्धि सरोकारवाला पक्षहरु आजै देखि अहिलै देखि आ–आफ्नो स्थानबाट लाग्नु पर्ने देखिन्छ ।(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update