Shittalpati
रानीमहलमा ओलीको सेल्फी

पाल्पा, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेमको प्रतिक रानीमहल पुुगेर पत्नी राधिका शाक्यसँग सेल्फी खिचेका छन् । एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि पाल्पा आएका ओली बुधबार तानसेनस्थित रानीमहलमा रहेको नेपालको ताजमहलका रुपमा परिचित रानीमहल पुुगेर पत्नी राधिकासँग सेल्फी लिएका हुन् ।

ओली दम्पतीले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालनमा व्यापक भएको छ । पाल्पाली ढाकाको कोट र टोपीमा चिटिक्क सजिएका ओलीले रानीमहल दबारलाई ब्यागराउण्डमा राखेर पत्नीसँगै सेल्फी लिएका छन् ।

त्यहाँ पुगेका ओलीले निकै आनन्द महसुुस भएको बताए । १ सय २५ बर्ष अघि पाल्पा गौडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमसेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको किनारमा निर्माण गरेको दरबार हेर्न लायक रहेको अध्यक्ष ओलीले बताए । ‘रानीमहल आउँदा निकै आनन्द आएको छ, पहिले हेलिकोप्टरबाट हेरेको थिए, अहिले प्रत्यक्ष रुपमा हेर्न पाउदा खुसी लागेको छ ,यहाँ आएपछि सबै किसिमको पिर चिन्ता हराउने प्राकृतिक सुन्दरताले भरिएको पाए ’ओलीले भने । प्रेम गर्ने व्यक्तिहरुको लागि त रानीमहल तिर्थस्थल नै रहेको उनको भनाई छ । ओली दम्पत्तीले रानीमहल दरवार र पाल्पा दरवार संग्रहालयमा आफैले टिकट काटेर अवलोकन गरेका थिए ।

ओली मंगलबार नेकपा एमाले पाल्पाले तानसेनको दमकडामा आयोजना गरेको मिसन ग्रासरुट अन्तर्गतको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्न पाल्पा आएका थिए । सोही क्रममा उनले यहाँका ऐतिहासिक, साँस्कृतिक, धार्मिक स्थलहरुको प्रत्यक्ष अवलोकन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update