Shittalpati
पाल्पाका क्रियाशिल पत्रकारलाई सुरक्षा सामग्री

पाल्पा । जिल्लामा क्रियाशिल पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाको आर्थिक सहयोगमा बगनासकाली पत्रकार समूहले सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिएका पत्रकारका लागि आवश्यक सुरक्षा सामग्री प्रदान गरेको हो । समूहले विश्वभर फैलिएको कोराना भाईरसको जोखिमलाई मोलेर रिपोटिङ्गमा खटिएका पत्रकारहरुको सुरक्षाका लागि मास्क, सेनिटाइजर र ग्लोब्स प्रदान गरेको छ । उक्त सुरक्षा सामग्री गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र बगनासकाली पत्रकार समूहका अध्यक्ष दिपक ढुुङ्गानाले पत्रकारलाई हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थका लागि स्वास्थ्य सामग्रीले केही भए पनि राहत पुग्नेमा आफु विश्वस्त रहेको बताए । उनले भने‘ दिनरात नभनि अहोरात्र खटिने पत्रकार नै सुरक्षित रहेनन् भने जनताले सही सूचना पाउन नसक्ने भन्दै पत्रकारको सुरक्षार्थका लागि स्थानीय सरकारले आवश्यक परेमा थप सहयोग गर्ने छ ।’ स्थानीय तहका हरेक गतिविधिहरुको विषयमा विगतमा जिल्लाका पत्रकारहरुले सशक्त भूमिका खेल्दै आएको भन्दै अध्यक्ष बस्यालले आगामी वर्षका लागि गाउँपालिकाले तर्जुमा गर्न लागेको कार्यक्रम तथा योजनाका लागि आवश्यक सुझाव दिन पत्रकारलाई आग्रह समेत गरेका छन् । बगनासकाली पत्रकार समूहका अध्यक्ष ढुुङ्गानाले समूहको वार्षिक कार्यक्रम अनुरुप फिल्डमा खटिने सबै क्रियाशील पत्रकारलाई सुरक्षा सामग्री उपलब्ध गराइने बताए । समूहले चरणवद्ध रुपमा क्रियाशिल पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गर्दै आएको पत्रकार समूह परामर्श समितिका सदस्य यज्ञमूर्ती तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update