Shittalpati
गणेश सहकारीले गर्यो नवौं साधारण सभा तथा अधिवेशन

पाल्पा, तानसेनमा रहेको गणेश बचत तथा ऋण सहकारी संस्थाले नवौं साधारण सभा तथा अधिवेशन गरेको छ । सहकारीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी साधरण सभा तथा अधिवेशन गरेको हो । सभाको प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले उद्घाटन गरेका हुन् ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले सहकारीहरुको समस्या समाधानमा नगर सरकार सधैं लागि परेको बताए । सहकारीको विकास र विस्तारका क्रममा सहकारीमा देखापर्ने समस्या समाधानमा सधंै नगर सरकार सहजीकरणको माध्यम बनेको प्रमुख थापाले बताए । उनले भने ‘हामी सहकारीलाई दीगो र सहकारी मैत्री बनाउन विभिन्न ऐन, कानुनहरु निर्माण गरेका छौं, सोही अनुसार सहकारी अगाडि बढ्नुपर्छ । सहकारीलाई समस्या परेको खण्डामा नगर सरकारले ऐन संशोधन गरेर भएपनि सहजीकरण गर्नेछ ।’ प्रमुख थापाले सरकारले लिएको नीति सही रुपमा कार्यान्वयन गर्ने हो भने नेपालको समृद्धि छिटो र सहज रुपमा हुने दावी गर्दै सहकारीहरुलाई सहकारी नीति सही रुपमा कार्यन्वयन गर्न आग्रह गरे । उनले शेयर सदस्यहरु सहकारीका मालिक भएकाले सहकारीलाई कस्तो बनाउने भन्ने कुरा उनीहरुमै निर्भर रहने भएकाले सहकारी प्रति जागरुक र क्रियाशिल बन्न शेयर सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका लेखापरीक्षक राधेश्याम ज्ञवालीले सहकारीको कार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि सोही अनुरुप अगाडि बढ्न संस्थालाई आग्रह गरे । उनले सहकारीमा पछिल्लो समय केही छिद्र देखिएकाले त्यसको समधानमा सहकारीले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने ‘सहकारीले बचत संकलनलाई प्रोत्साहन गर्दै बचतलाई सहित ठाउँमा परिचालन गर्नुपर्छ ।’ सहकारीका कानुनी सल्लाहकार शिवप्रसाद देवकोटाले सहकारीहरु कानुन अनुसार चल्नुपर्ने भन्दै आवश्यक कानुनी सल्लाहका लागि आफु सधैं तयार रहेको बताए । नेपाल प्रेस युनियन पाल्पाका सचिव रामचन्द्र रायमाझीले घर जग्गा र शेयरमा लगानी गर्दा सहकारीहरु डुब्दै गएकाले त्यसतर्फ सचेत हुन सहकारीलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष रुकबहादुर थापाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताए । उनले आगामी दिनमा सहकारीको शेयर पुँजी वृद्धि गर्दै जाने पनि बताए । सहकारीका लेखा समितिका संयोजक विष्णु गाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले स्थापनाकालदेखि नै शेयर सदस्यहरु बिच बैंकि· कारोबार, नियमित बचत, बालबचत, आवधिक बचत, दैनिकी बचत गर्ने जस्ता काम गर्दै आएको बताए । संयोजक गाहाले यस वर्ष सहकारीले १ करोड ३४ लाख २१ हजार ७० आम्दानी गर्न सफल भएको जानकारी दिए । कार्यक्रममा कोषाध्यक्ष मनिषा रेस्मीले संस्थाको आर्थिक वर्ष २०७८/०७९ आयव्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा सहकारीले लामो समय समितिमा रहेर काम गरेका सहकारीका पदाधिकारी, उत्कृष्ट शेयर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता, कर्मचारीहरुलाई समेत सम्मान गरेको छ । संस्थाका अध्यक्ष रुकबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धनबहादुर गाहाको स्वागत, सचिव दिलबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update